कुरा ६ वर्षअघिको हो। धनगढीको एक सडकमा मानसिक रोगी एक गर्भवती महिला बेवारिसे भएर डुल्थिन्। शरीरमा झुत्रो हुन थालेको फोहर लुगा हुन्थ्यो।
धनगढीकै बासिन्दा कल्पना भट्ट तिहार मनाउन काठमाडौंबाट घर अएकी थिइन्। उनले ती महिलालाई देखिन्। उनको मन भावुक भयो।
कल्पनाले काठमाडौंका सडकमा पनि बेवारिसे महिलाहरू नदेखेकी होइनन् तर तिनमा गहिरो ध्यान गएको थिएन।
आफ्नै सहरको सडकमा मानसिक सन्तुलन गुमाएकी गर्भवती बेवारिसे देख्दा सहयोग गर्न पाए हुन्थ्यो जस्तो भयो तर कुनै उपाय सुझेन।
उनले उद्धार गर्न सक्ने संघसंस्था पनि सम्झन सकिनन्। आफूले गर्न पनि सकिनन्। मन भने खिन्न भइरह्यो।
यस्तो एउटा मार्मिक दृश्यको झझल्को लिएर तिहारपछि कल्पना काठमाडौं फर्किन्। त्यो दृश्यले उनलाई पछ्याइरह्यो।
उनले आफूले देखेका यस्तै मिल्दाजुल्दा केही दृश्यहरू सम्झिन्।
तिनले उनको मनमा धेरै कुरा खेले। कल्पना असहाय, बेवारिसे र मानसिक सन्तुलन गुमाएर सडकमा पुगेका महिलाहरूको सेवा आफैले गर्ने निष्कर्षमा पुगिन्। एउटा संस्था खोल्ने र काम सुरू गर्ने योजा बनाएर उनी काठमाडौंबाट धनगढी फर्किइन्।
उनले आफ्नै सहर धनगढीमा ११ जना महिलाको टिम बनाइन्। सबै प्रक्रिया पूरा गरेर पाँच वर्षअघि ‘दृष्टि फाउन्डेसन’ नामको संस्था दर्ता गराइन्।
‘खुला आकाशलाई छानो र फोहोरको थुप्रोलाई मानो बनाएका धेरै महिला देखेँ। यस्ता दृश्यले मलाई उनीहरूका लागि केही गर्नुपर्छ भन्ने सोच आयो,’ कल्पनाले भनिन्, ‘म चुप लागेर बस्न सकिनँ। यस्ता असहायहरूको सेवाका लागि काम गर्ने निर्णयमा पुगेँ।’
सुरुमा ११ जनाले जनही १० हजार रुपैयाँका दरले पैसा जम्मा गरेर काम सुरु गरे। संस्था दर्ता भएको पहिलो एक महिनामै सडकबाट आठ जना महिलाको उद्धार भयो।
संस्थाको काममा धनगढीकै बासिन्दा हरि श्रीपालीले सहियोग गरे। उनले उद्धार गरिएकाहरूलाई राख्न एउटा घर निःशुल्क उपलव्ध गराए।
‘उद्धार गरेर राख्ने ठाउँ थिएन। सबै व्यवस्थापन गर्न सकिएको थिएन। हरि श्रीपालीजीले घर दिनुभयो,’ कल्पनाले भनिन्, ‘उद्धार गरेका ल्याएकालाई त्यही घरमा राख्यौँ।’
सडकबाट महिलाको उद्धार गर्ने क्रम बढ्यो। समय निःशुल्क घर पाइए पनि हरिले दिएको घर साँघुरो हुन थाल्यो। अर्को घर पनि चाहिने भयो तर घर पाउन सजिलो भएन।
कल्पनाले घर खोज्दाको सकस सुनाइन्, ‘धेरै ठाउँमा खोज्यौँ तर पाइएन। घर खाली भए पनि बौलाहाहरूलाई राख्न नदिने भने।’
निकै दिनको प्रयासमा एउटा घर फेला पर्यो। राख्ने ठाउँ भएपछि थप उद्धार कार्य सजिलो भयो।
यसरी धनगढी उपमहानगरपालिका, कैलाली गाउँकी कल्पना भट्ट पाँच वर्षदेखि सडकमा बेसहारा महिलाको सहारा बनेकी छन्।
कल्पनाले समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरेकी छन्। उनी एक गैरसरकारी संस्थामा ११ वर्षदेखि जागिरे थिइन्। अझ राम्रो जागिर गर्ने सपना देखेकी थिइन्।
उनी त भएको जागिर पनि बेसहारा र मानसिक सन्तुलन गुमाएकाहरूको उद्धार र सेवामा पो लागिन्।
‘सरकारी अधिकृत बन्ने सपना थियो। सडकमा बेसहारा महिलाको पीडाभन्दा मेरो सपना ठूलो जस्तो लागेन,’ उनले भनिन्, ‘आफ्नो सपना ल्यागेर अचानक सेवाको काममा लागेँ।’
कल्पनाको पुर्ख्यौली घर डडेलधुरा हो। बुबाआमा धनगढीमा जमिन किनेर बसाइँ सरे। बुबा व्यापार गर्थे। आमाले भैँसी पालेकी थिइन्।
दुई भाइ र एक बहिनीकी दिदी कल्पना १४ वर्षकी हुँदा मिर्गौलाको रोगले बुबाको निधन भयो। यसपछि घरमा आर्थिक समस्या हुन थाल्यो। खेतीपातीबाट खान पुग्ने अन्न आउँथ्यो तर बैंकको ऋणका कारणले पैसाको अभाव भइरह्यो।
आमाले पालेका भैँसी घरखर्च र छोराछोरीको पढाइखर्चका मुख्य स्रोत थिए।
‘म स्कुल जाँदा तीनचार लिटर दूध बोकेर जान्थेँ। बाटोमा दूध बेचेर स्कुल पुग्थेँ,’ उनले भनिन्, ‘यही पैसाले हाम्रो पढाइ खर्च चल्थ्यो।’
एसएलसी परीक्षा दिएपछि कल्पना महिलाका लागि काम गर्ने एक गैरसरकारी संस्थामा जागिरे भइन्। संस्थाले काठमाडौंमा काम गर्दै पढ्ने अवसर दियो।
उनले काम गर्दै, पैसा कमाउँदै पढाइ अघि बढाइन्। उनले भनिन्, ‘घरबाट मलाई खर्च दिएर पढाउन सक्ने अवस्था थिएन। एसएलसीपछि काम गर्दै पढाइ पूरा गरेँ।’
कल्पनाले भाइबहिनीको पढाइ खर्चका लागि पनि मद्दत गरिन्।
दृष्टि फाउन्डेसनमा हाल १२ जना बालबालिका र ४० जना महिला आश्रित छन्। यी बालबालिका आमासँगै उद्धार गरिएका हुन्। यिनको हेरचार र पालनपोषणको व्यवस्थापनमै कल्पनाको दिन बित्ने गरेको छ।
संस्थाले बेसहाराका परिवार खोजेर पुनर्मिलन पनि गराउने गरेको छ। पाँच वर्षमा ११२ जनालाई तिनका परिवारमा पुनर्मिलन गराएको कल्पनाले बताइन्। उनका अनुसार संस्थाले सडकबाट उद्धार, उपचार र परामर्शपछि परिवारमा पुनर्मिलन गराउने गरेको छ। पुनर्मिलन गराइएकामा धेरै जसो मानसिक सन्तुलन गुमाएर उपचार भएकाहरू छन्।
ती मध्ये एक हुन दाङ घर भएकी गौधुली।
उनी दुई वर्षअघि मानसिक सुन्तुलन गुमाएपछि श्रीमान् र घरपरिवारले वास्ता नगर्दा सडकमा आइपुगेकी थिइन्। खासमा सडकमा उनलाई श्रीमान्ले नै पुर्याएका थिए। मानसिक रोग लागेपछि श्रीमानले नेपालगन्जमा उपचार गर्न लैजाने भन्दै उनलाई ट्रकमा बसालिदिएर छोडेका थिए।
गौधुली त्यहि ट्रकबाट धनगढी पुगीन्। धनगढीको चटकपुरको आर्मी ब्यारेक नजिकै उनी सडक छेउमा भौतारिँदै थिइन्। त्यही सडकबाट कल्पनाको टिमले उनलाई दृष्टिफाण्डेसन सम्म पुर्याए।
फाउण्डेसनमा करिव १ वर्षसम्म पालनपोषण, औषधी उपचार र परामर्शपछि उनी निको भइन्।
निको भएपछि उनको आफन्तको खोजी गरियो। घरका सम्पर्कमा आएनन्। गौधलीका माइतीहरू भने सम्पर्कमा आए। कल्पनाको टिमले उनकै माइतीमा लगेर गौधलीको पुरिवारसँग पुनर्मिलन गराएर आए। अहिले गौधली ठेलामा मकै विक्रि गर्ने काम गर्छिन्।
‘म नजिक भए मैले कमाएको पैसा फाउण्डेसनमा दिन्थेँ, मेरो लागि त कल्पना दिदि भगवान् हुन्, म बेसुर थिए, अहिले काम गर्ने समेत भएकी छु, उहाँले गर्दा मैले नयाँ जिन्दगी पाएँ’ उनले फोनमा सेतोपाटीसँग भनिन्।
कैलालीकै चौधरी थरकी एक महिला मानसिक सन्तुलन गुमाएर सडकमा पुगेकी थिइन्। दृष्टि फाउन्डेसनको सहारा र सहयोगमा उनी पनि निको भएर घर फर्किन्।
दृष्टि फाउन्डेनसले महिलाको मात्र उद्धार र संरक्षण गर्छ। सडकमा बेसहारा महिला देख्नेले संस्थामा फोन गरेर जानकारी गराउने गरेका छन्।
कल्पनाका अनुसार संस्थाले उद्धार कार्यमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गर्ने गरेको छ।
उद्धारपछि नुवाइधुवाइ गरिदिएर सफा लुगा लगाइदिने गरिएको छ। यसपछि चिकित्सकसँग परामर्श गरेर आवश्यक उपचारको काम हुन्छ।
मानसिक तनाव, समाजको तिरस्कार, पारिवारिक कलह, घरेलु हिंसा, बलात्कार जस्ता कारणले महिलाहरू मानसिक सन्तुलन गुमाएर सडकमा पुग्ने गरेको कल्पनाको भनाइ छ।
भन्छिन्, ‘कतिपय महिलाहरू सडकमै गर्भवती हुन्छन्, अलपत्र भएर सडकमा बस्दा त्यही बलात्कृत हुन्छन्।’
हाल दृष्टि फान्डेसनको आफ्नै भवन बनेको छ। कल्पनाका अनुसार धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेशसभाका तत्कालीन सदस्य डिल्लीराज पन्तको सहयोगमा भवन बनेको हो।
संस्थामा आश्रितहरूको हेरचाहका लागि छ जना स्वस्यमसेवक छन्। ती सबै कलेज पढ्ने छात्रा हुन्। स्वयंसेवकले खानेबस्ने सुविधा र पढाइखर्च पाउँछन्।
मानसिक रोगी र बेसहारा भएर सडकमा आएकाहरूलाई हेर्ने नजर राम्रो नरहेको कल्पनाको अनुभव छ। सेवा गर्नेप्रति पनि सकारात्मक दृष्टि छैन।
‘हामी सेवा गर्नेलाई पनि हेर्ने नजर गलत छ। संस्थालाई आर्थिक समस्यामात्रै होइन, सामाजिक चुनौती पनि छ,’ कल्पना भन्छिन्, ‘हामीले आफ्नै भवन बनायौँ तर यहाँ बौलाहा राख्नु भएन, ठाउँ सार्नुपर्यो भन्नेहरू पनि छन्।’
आश्रितहरूका लागि खाद्य सामग्री स्थानीय सहयोगीहरूको मुठी दान र विभिन्न दाताहरूको सहयोगले जुट्ने गरेको छ। संस्थामा आश्रित रहेकै अवस्थामा मृत्यु भएकालाई आफैँले दागबत्ती दिएको कल्पनाले बताइन्।
‘म सानै छँदा बुबाको निधन भयो, आठ कक्षामा पढ्थेँ। बुबाको लास छुन पाइनँ। परैबाट फूल चढाएँ। छोरीले लास छुनु हुँदैन भन्थे,’ उनले भनिन्, ‘संस्थाको काममा लागेपछि आफ्नै हातले १५ जनाको चितामा दागबत्ती दिएकी छु।’
आश्रित रहेकै अवस्थामा मृत्यु भए संस्थाले नै दाहसंस्कार गर्छ। कतिपयले यस कामको आलोचना पनि गर्ने गरेका छन्। कल्पना भन्छिन्, ‘मैले दागबत्ती दिँदा संस्कार मिचेको भनेर आलोचना गर्नेहरू पनि छन्।’
कल्पना दृढ अठोटका साथ अघि बढेकी छन्। उनका लागि ती बेसहाराको पीडाको तुलनामा आलोचना त केही पनि होइन। भन्छिन्, ‘मेरो पीडाभन्दा हजार गुणा पीडा ती असहाय चेलीहरूको छ। म त्यो पीडा कम गर्ने बाटोमा छु।’
धनगढी उपमहानगरपालिका वडा १३ का वडाध्यक्ष विजयराज जोशी मानसिक सन्तुलन गुमाएर, बेसहारा भएर सडकमा आएकाहरूलाई सहारा दिने काम सराहनीय रहेको बताउँछन्।
‘राज्यले गर्ने काम एउटा संस्थाले गरेको छ। धेरै बेसहारा महिलाले नयाँ जीवन पाउनु सराहनीय काम हो,’ उनले भने।
कल्पनाका भाइ दीपेन्द्र दिदीको पहलमा भएको कामबाट खुसी छन्। भन्छन्, ‘दिदीले आफूलाई बिर्सेर अरूका लागि काम गर्नुभएको छ। आफ्नी दिदीप्रति मलाई गौरव छ।’
दृष्टि फाउन्डेसनको काम मन पराएर सहयोग गर्नेहरूको संख्या पनि बढ्दै छ। दाताहरूले खाद्यन्न, लत्ताकपडा, नगद दिने गर्छन्।
धनगढीका अर्जुन खनालले दृष्टि फाउन्डेसनलाई आफूले पनि सक्दो सहयोग गरेको बताए।