अहिले समाजिक सञ्जालमा कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडा गाईलाई खाल्डोमा जिउँदै पुरिएको भन्ने चर्चा छ।
गाईलाई गाडिएका केही तस्वीर, भिडिओ सामाजिक सञ्जालमा आएका छन्।
छाडा गाईलाई जिउँदै गाडेर मारिएको भन्ने आरोप लागेपछि वेदकोट नगरपालिकाले भने यो विषयमा भ्रम फैलाइएको दाबी गरेको छ।
वेदकोट नगरपालिकाका मेयर भोजराज बोहराले बाहिर सुनिए जसरी जिउँदै गाईलाई मारिएको भन्ने खबर झूटो भएको बताए।
बुधबार सो आरोप गलत भएको भन्दै नगरपालिकाले पत्रकार सम्मेलन गरी खण्डन गरेको छ।
नगरपालिकाका अनुसार मंसिर १८ गते शनिबारका दिन पशु व्यवस्थापनका क्रममा नगरपालिकामा भिड देखिएको थियो। त्यस दिन स्थानीयले २ सय बढी चौपाया ल्याएर नगरपालिकाको क्षेत्रमा हुलेर गएका थिए।
नगरपालिका क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको नौ किलोमिटर सडकमा गन्दा २५० को संख्यामा चौपाया रहेको नगरपालिकाले जनाएको छ। यिनैले किसानको धानको नोक्सानी गरेको र अहिले फेरि गहुँ उम्रेको अवस्थामा त्यसले थप नोक्सानी गर्ने भन्दै स्थानीय किसान पटक पटक नगरपालिका आउने गरेका छन्।
गत हप्तामात्रै पनि किसानहरूले यो समस्या लिएर व्यवस्थापन गर्नुपर्यो भन्दै मेयरकहाँ पुगेका थिए।
नगरपालिकामा ल्याई छोडिएका गाई गोरुलाई तत्कालका लागि मुसिकोटको व्यवस्थापन केन्द्रमा राख्ने कुरा भएको र त्यहाँ लगिएको उनले बताए।
हिँडाएर लगे बाटोमा समस्या हुन्छ भने पछि ठूला ट्रकमा लगिएको उनको भनाइ छ।
लैजाने क्रममा वडा नम्बर ७ स्थित पुतलीबजारमा एक समूहले ट्रक रोकेको र एक लाख दिए मात्र जान दिने भनेपछि समस्या आएको उनले बताए।
करिब १२/१४ घण्टासम्म खानापानी नखाएर गाई ट्रकमा रोकिएपछि केही मरेको र तिनैलाई खाल्डोमा पुरिएको मेयर बोहराले स्पष्ट पारे।
वेदकोट नगरपालिकाले अहिलेसम्म २ ठाउँमा छाडा पशुचौपाया व्यवस्थापन केन्द्र बनाएको मेयरले बताए।
‘त्यसमध्येको वडा नम्ब्र १ मा बनेको चौपाया व्यवस्थापन केन्द्र जंगली हातीले ध्वस्त गरेको छ, त्यहाँ गाई राख्न नसकिएको र त्यसमा गरिको लगानी समाप्त भएको छ,’ उनले भने।
उनका अनुसार वडा नम्बर ६ को मुसेपानीको धार्मिक वनमा छाडा गाईगोरु व्यवस्थापना केन्द्र चालु अवस्थामा छ। त्यहाँ पराल संकलन, पानी र चरनको अनुमति वनले दिएको छ।
मरेका चौपाया व्यवस्थापन गर्न नगरपालिकाको दायित्व हुने तर जिउँदा चौपायालाई सुरक्षित व्यवस्थापन केन्द्र लगिएको मेयर बोहराले बताए।
यो समस्या समाधान गर्न पशु शाखाका अधिकृतको अध्यक्षतामा छानबिन समिति गठन गर्ने मेयरले बताए।
‘नगरपालिकामा देखिएको यो समस्यालाई दीगो व्यवस्थापनका लागि सुझाव संकलन गर्ने, समिति नै बनाएर काम गर्नेछौं,’ उनले भने।
वेदकोट नगरपालिकाले अहिलेसम्म छाडा पशुचौपाय व्यवस्थापन गर्ने शीर्षकमा एक करोड २१ लाख बढी बजेट खर्च गरिसकेको छ।
आर्थिक वर्ष २०७४/७५ मा ४० लाख बजेट छुट्याएकोमा ३६ लाख २४ हजार ३३१ खर्च गरेको छ।
यस्तै, यो नगरपालिकाले २०७५/७६ मा २३, लाख १७ हजार ५०५ रुपैयाँ विनियोजन गरेर ७ लाख ४५ हजार ९९३ लाख खर्च गरेको थियो।
छाडा पशुचौपाया व्यवस्थापनकै नाममा आर्थिक वर्ष ७६/७७ मा ५० लाख विनियोजन गरेकोमा २३ लाख ५३ हजार ७६९ खर्च भएको नगरपालिकाले पत्रकार सम्मेलन गरी जनाएको छ।
यस्तै, आर्थिक वर्ष ७७/७८ मा ४० लाख विनियोन भएकोमा २१ लाख १९ हजार ३२५ खर्च भएको छ।
गत आर्थिक वर्षमा वेदकोट नगरपालिकाले ५० लाख ३० हजार बजेट विनियोजन गरेकोमा २६ लाख ८९ हजार १४६ खर्च गरेको छ।
यो वर्ष पनि पशुचौपाय व्यवस्थापनमा ४० लाख छुट्याएको छ भने अहिलेसम्म ५ लाख ६८ हजार ५ सय खर्च गरेको छ।
विगत ६ आर्थिक वर्षमा २ करोड ४३ लाख ४७ हजार ५०५ लाख बढी बजेट छुट्याएको छ भने १ करोड २१ लाख १ हजार ६४ रुपैयाँ बढी खर्च गरेको छ।
पहिलो कुरा त छुट्याएको सबै बजेट खर्च गर्न नसकेको वेदकोटले अहिले पशु चौपाया मारेर खाल्डोमा गाडेको आरोप लागेको छ।
छाडा पशु चौपाया व्यवस्थापन गर्ने भन्दै नगरपालिकाले प्रत्येक वर्ष बजेट छुट्याए त्यो अनुसार काम नगरेको स्थानीय धनदेव विष्टले बताए।
‘जति बजेट छुट्याए पनि छाडा गाईगोरुको समस्या जस्तोतस्तै देखिएको छ, हामीलाई धेरै समस्या छ, यसको व्यवस्थापन गर्ने निकायहरूले ध्यान दिएको छैन’, उनले भने।
सुदूरपश्चिमका तराई जिल्ला कैलाली र कञ्चनपुरका अधिकांश स्थानीय तहमा छाडा गाईगोरुको समस्या जटिल बनेको छ।