धनगढी- ३ का हरिनाथको एउटै चिन्ता छ। बढ्दो महंगीमा कसरी परिवार पाल्नु भन्ने पीरले उनलाई दिनमा चैन र रातमा निद्रा लाग्दैन।
‘विहान, दिउँसो काम गरेको कमाई साँझ सकिन्छ, उल्टो झन् ऋण लाग्छ बेचैन हुन्छु,’ उनले भने।
उनका अनुसार केही समयअघि सम्म एक सय रुपैँयाको तरकारी दुई छाकलाई पुग्थ्यो, तर मंहगीले पाँच सयको तरकारी किनेपनि दुई छाक भ्याउदैन।
‘मंहगीले हामीजस्तालाई धेरै गाह्रो छ, तेल दुई सयको किन्नुपर्छ, चामल त्यस्तै महंगो, सवथोक किनी नसक्नु छ, यसरीनै मंहगी बढे बाँच्न गाह्रो हुन्छ,’ उनले भने।
हरिको पुर्खाैली घर दार्चुलाको लेकम गाउँपालिका–९ मा हो। उनी जन्मिदा राम्रै थिए, उनी भन्दा अगाडीकी दिदिको प्यारालाइसीसकै कारण मृृत्यु भयो । उनको पनि डेढ वर्षकै उमेरमा प्यारालाइसीस हुँदा एउटा खुट्टा अपांग भएको थियो ।खुट्टाकै कारण उनलाई स्कुलसम्म पुग्न गाह्रो हुन्थ्यो । घरबाट डेढ घण्टा उनी लड्दैपड्दै हिडेर स्कुल पुग्थे।
‘पहाडको बाटो हिड्न गाह्रो हुन्थ्यो, साथीहरुको सहयोगमा स्कुल पुग्थे, झोला उनीहरुले नै बोकेर लगीदिन्थे,’ उनले सम्झिए।
परिवारले जेनतेन गर्दै उनलाई कक्षा १० सम्म पढाए। एसएलसी पास गरे। माथिल्लो तहमा पढाई गर्न पैसा थिएन।घरमा फलाएको अन्नले तीन महिना मात्रै खान पुग्थ्यो। उनको बुवा भारतमा नोकरी गरेर बाँकी महिनाको खानाखर्चको जोहो गर्थे। उमेर बढ्दै गएसँगै उनले पनि कमाउनु पर्ने भयो। उनी २० वर्षका भए, वैवाहिक बन्धनमा बाँधिए। श्रीमती र सन्तान परिवारमा थपिए। उनीमाथि जिम्मेवारी पनि थपियो।
परिवार पाल्न उनले कमाई गर्नुपर्ने भयो। खुट्टाकै कारण अरु जसरी उनले काम गरेर कमाई गर्ने आधार भएन, उनी कामको खोजीमा दार्चुला भरी गए। तर, कहिकतै पनि काम पाएनन्।
‘तपाईको खुट्टा यस्तो छ, के काम गर्नसक्नुहुन्छ र? तपाई सुहाउदो काम छैन भन्थे,’ उनले भने। उनका दाजु, बुवा भने भारतमा कमाई गर्न जान्थे। उनका गाउँका अरुहरु पनि कमाई गर्न उतै जान्थे।
उनका गाउँका मात्र नभई सुदूरपश्चिमका मान्छे कमाई गर्ने विकल्पका रुपमा भारतलाई मान्छन्। यहाँ पढाईबिचमै छोडेर कमाई गर्नुपर्ने जिम्मेवारी आएका बिपन्न परिवारका बृद्धदेखि किशोर अवस्थाका मानिसहरु कमाउन भारतकै भरमा पर्छन्। पुर्खाैँदेखी अहिलेसम्म भारतको भर कमाउन जाने चलनमा कमी आएको छैन। हरिले पनि कमाई गर्न भारत जाने सोच बनाए।
खुट्टा अशक्त भएपनि आफुअनुसार केही न केही काम पाइने आसमा उनी घरबाट हिडें। कमाउने सपना बोकेर भारत पसेका हरिले उल्टो दु:ख पाए। केही महिना होटलमा भाडा माझ्ने काम गरे, तर सोचे अनुसार काम भएन । उनी धनगढी फर्किए।
धनगढीमा एक जना साथिले आफ्नो पसल हेरीदिन भने। हरिले साथिले भनेअनुसार उनको पसल हेर्ने, सामान मिलाउने, बिक्री गर्ने काम गर्थे। यी काम गरेबापत् उनलाई खर्चपानी आउँथ्यो।
उनका कयौँ वर्ष यसरी नै चले। हरिले केहिवर्षपछि घरबाट श्रीमती र छोरीहरूलाई पनि धनगढी बोलाए।
केही समय उनीहरुलाई हरि कोठा भाडामा राखेर बसाए।
पछि साथिले दिएकै पाँच धुर ऐलानी जमिनमा टिनको छाना र इट्टाको पर्खालले धनगढी–३ मा सानो दुई कोठे घर बनाए। पसलबाट काम गरेको पैसाले जीवन जिउन सहजै भएको थियो।
उनका तीन सन्तान भए, परिवार बढ्दै गएपछि पसलमा कामगरेको पैसाले घरखर्च चलाउन गाह्रो भयो, आफ्नो कारणले साथिलाई पनि असहज हुन थालेको हरिले महसुस गरे। आफैले अरु केही काम गर्ने सोचे।
‘मैले आफूले केही न केही गर्नु पर्छ सोचेँ, तर के गर्ने सडकमै हिँड्न गाह्रो हुन्थ्यो, साइकल चलाउनै गाह्रो हुन्थ्यो,’ उनले भने।
उनले धनगढीका धेरै ठाउँमा काम खोजे तर, पाएनन्। कामको विकल्पको रुपमा अटो रिक्सा देखे। झण्डै ६ वर्ष अघि धनगढीमा विद्युत चार्जबाट चल्ने अटो रिक्साको चलन आएको थियो। उनले अटो रिक्सा चलाउने आँट गरे।
एक जना मामा नाता पर्नेले अटो रिक्सा खरिद गरेका थिए। उनले उनीसंग अटो मागे। केहि दिन चलाउन सिके। अटो चलाउन सक्ने भएपछि उनी अटो भाडामा माग्न कम्पनी र साहु कहाँ गए।
‘म अटो चलाउँछु, भाडामा दिनुहोस् भनेर माग्दा कसैले पत्याएनन्,’ उनले भने।
धेरै आग्रह गरेपछि उनले एक ठाउँबाट अटो भाडामा पाए।
पहिलो दिन अटो बजारमा लग्दा उनको मुटु ढुकढुक भएको थियो, दोस्रो दिन अलि कम भयो, तेस्रो दिन झनै कम भयो।
अहिले उनी बिहानै चार बजे उठेर नुहाईधुवाई गरि पाँच बजे अटो घरबाट निकाल्छन्। पाँच बजे सडक खाली हुन्छ हरिलाई अटो निकाल्न सजिलो हुन्छ।
‘इमान्दार भएर अटो चलाएँ, भाडा पनि समयमै दिएँ, त्यसपछि पत्याए, विश्वास माने, यसले त अटो राम्रै चलाउँछु भाडा पनि समयै दिन्छ सोचेर अरुले पनि भाडामा अटो दिन थाले,’ उनले सुनाए।
हरिले धनगढीमा ६ वर्षदेखि अटो चलाइरहेका छन्। खुट्टाका कारण उनलाई अटो चलाउन धेरै जोखिम छ। धनगढीमा बढ्दो अटोसंख्या, सडक निर्माणाधिन अवस्था रहेका कारण भिडभाड बढी हुन्छ। भिडभाडमा उनलाई अटो चलाउन कठीन हुन्छ। जोखिम भएपनि अहिलेसम्म घटना भने केही नभएको उनी सुनाउँछन्। खुट्टाकै कारण उनी बेलाबेला ट्राफिक प्रहरीको चेकजाँचमा पर्ने गर्छन्।
‘ट्राफिक प्रहरी तपाई अपांग हो, किन अटो चलाउँनुहुन्छ भन्छन्, तपाईलाई गाह्रो हुन्छ बरु सक्ने अरु काम गर्नुहोस् भन्नुहुन्छ, कहिले समात्छन् पनि, मैले मेरो बाँच्ने आधार यही छ मेरो केहि छैन भन्छु, त्यसपछि छोडिदिन्छन्,’ उनले भने।
उनकी श्रीमती कहिलेकाँही काम पाएको समयमा विभिन्न संरचना निर्माणका ठाउँमा इटा बोक्ने ज्यालादारीको काम गर्छिन्। अन्य समयमै छोराछोरीको हेरचाह र घरको काम गरेरै बस्नुपर्छ।
‘मैले ह्विलचियरमा बसे परिवार भोकै बस्छ, ह्विचियरमा बसेर गर्नसक्ने काम पनि छैन, त्यहि भएर जोखिम मोलेर अटो हाकीरहेको छुँ,’ उनले भने।
उनलाई अटो चलाउने अनुमति छैन। जोखीम र नियम विपरीत काम गरिरहेकोले उनलाई अर्काे काम गर्ने मन छ।
‘हामीलाई चारपांग्रे स्कुटर चलाउन अनुमति छ, त्यो स्कुटर किन्न सक्ने मेरो हैसियत छैन, यदि त्यस्तो स्कुटर किन्न पाएँ, त्यही स्कुटरको पछाडी फलफूलको क्यारेट बाँधेर बेच्न थाल्थेँ। केटाकेटी पाल्न सक्ने भए केही चाहिन्नथ्यो,’ उनले भने।
उनले उक्त स्कुटीलाई खरिद गर्न दुई लाख जति पैसा लाग्छ भन्ने सुनेका छन्। स्कुटी खरिद गर्न सहयोगका लागि उनी वडा कार्यालयमा गएका थिए।
‘वडाबाट सिफारिस मात्रै बनाइदिए, हामीसँग बजेट छैन, बरु कोही संघसंस्था, कसैलाई भन्छु सहयोग गर्नुहोस् भनेर भने,’ उनी भन्छन्।
केही समय अगाडी धनगढीमा अटो कम थिए। तर, अहिले बजारमा मात्रै १० हजार भन्दा बढी अटो छन्। पहिला दैनिक एक हजार कमाएर पाँच सय ज्याला पाउने उनी अहिले दुई सय मात्रै मुस्किलले बचाउँछन्।
‘अहिले दैनिक ६ जति कमाइन्छ, त्यसमा पाँच सय अटोको भाडा तिर्नुपर्छ, ब्याट्रीको चार्ज आफैले गरे चार समय मात्रै तिर्नुपर्छ, म चार्ज आफै गर्छु, चार सय तिर्छु, दुईसय बचत हुन्छ,’ उनले भने।
उनका अनुसार आफु मात्र नभई अन्य अपांगहरुलाई पनि धेरै समस्या भइरहेको छ।
‘म एक्लो भए त केहि समस्या थिएन म त कुनै मन्दीर धर्मशालामा गएर पनि जीवन विताउँथे, परिवार छन्, त्यसैले केही न केही त गरिरहनु पर्याे,’ उनले भने।
राज्यकोतर्फबाट अपांग भएकाहरुलाई लगानी लगाएर केहि काम गर्ने वातावरण मिलाए सहज हुने उनको भनाइ छ। उनी 'ख' वर्गको अपांगभित्र पर्दछन्। सरकारको तर्फबाट उनी मासिक १ हजार ६ सय भत्ता पाउँछन्।
‘भत्ताले छोराछोरीको कापी कलम, ड्रेस किन्छु, यो रकमले मलाई धेरै राहत मिलेको छ,’ उनले भने। अहिले उनले दुई छोरी, एक छोरा, श्रीमती र आफुगरी पाँच जनाको खर्च जुटाउनु पर्छ।
पहाडको घरमा ८० वर्षीय बुवा आमा छन्।
‘पहाड गएर खाउँ भने झन् गाह्रो छ, कसैको गाईगोरुको हेरालु बसे परिवारको खर्च चल्दैन,’ उनले भने।