कैलालीको धनगढी उपमहानगर निवासी पूजा कुँवर चौधरी बिहानको घरायसी काम सकेर सामुदायिक भवन पुग्छिन्। उनीमात्र होइन वल्लोपल्लो घरका अरू महिलाहरू पनि पुग्छन्। दिनभरि गर्ने कामको बाँडफाँड गर्छन्।
पात सुकाउने, पात गाँस्ने, सफा गर्ने, सिन्का बनाउने, मेसिन चलाउने लगायतका कामको बाँडफाँड हुन्छ। समूहका केही सदस्य जंगलमा रूखबाट झरेका सालका पात जम्मा गर्न जान्छन्। कोहीकोही रूखमा चढेर पनि पात टिप्छन्।
यसरी जम्मा गरेको पात बोरामा कसेर सामुदायिक भवनमा पुर्याउँछन्।
सफा गरेका हरिया पात सिन्काले गाँसेर लाफा बनाउँछन्। सानाठूला लाफा घाममा सुकाउँछन्। सुकेका लाफा मेसिननमा हालेर सानाठूला साइज (आकार) का दुना र टपरी बनाउँछन्।
धनगढी उपमहानगरपालिका–१३, हिमाली टोलका ‘हिमाली महिला समूह’ को यो टिम यति बेला व्यावसायिक रूपमा दुनाटपरी बनाउने काम गरिरहेको छ।
यो समूहले दैनिक सरदर नौ सय जति दुनाटपरी बनाउँछ। यसरी समूहमा काम गर्न थालेपछि महिलाहरूको जीवनमा केही परिवर्तन आएको छ।
यो समूहका महिलाहरूको बस्ती सामुदायिक वनको छेउमै छ।
पूजाले झरेर खेर जाने सालका पातबाट पनि आम्दानी गर्न सकिन्छ भन्ने त सोचेकै थिइनन्।
सानैदेखि पूजापाठ, विवाह, ब्रतबन्धमा लगायतका सांस्कृतिक काममा दुनाटपरी बनाउने गरेको उनले देखेकी थिइन् तर आफैँले बनाउन सिकेकी थिइनन्।
एक महिनाअघि धनगढी उपमहानरले सालको पातको दुनाटपरी बनाउने तालिम दिएको थियो। त्यही तालिमपछि पूजा र उनीजस्ता अन्य महिलाहरू व्यावसायिकरूपमा दुनाटपरी बनाउने काममा लागेका हुन्।
उनले भनिन्, ‘तालिमपछि एउटै पातबाट पनि १० रुपैयाँसम्म कमाइ हुन्छ भन्ने थाहा पायौँ। समूहमार्फत हामी महिलाहरू मिलेर काम गरिरहेका छौँ।’
दिदीबहिनी मिलेर यो काम गर्न थालेपछि बच्चाले ‘ममी पाँच रुपैँया दिनुहोस् न’ भन्दा ‘बाबासँग माग’ भन्ने दिन गएको उनले बताइन्।
पूजाकै समूहमा छिन् शर्मिला कुँवर। उनी पैसा कमाउन विदेश जाने सोच बनाउँदै थिइन्। अहिले उनको सोच बदलिएको छ।
‘घरमा समस्या छ, आफूले पनि कमाउँनु पर्छ भनेर विदेश जाने सोचेकी थिएँ। यो (दुनाटपरी बनाउने) काममा लागेपछि अहिले बाहिर (विदेश) जाने विचार छाडिदिएँ,’ उनले भनिन्।
दिउँसो फुर्सदको समय यसै बित्थ्यो। अहिले घरको काम र दुनाटपरी बनाउने दुबै काम सजिलै गर्न सकेको उनले बताइन्। गत महिना दुनाटपरी बेचेर समूहका प्रत्येकलाई १८ हजार रुपैयाँका दरले वितरण गरेको समूहकी एक सदस्य रोजनी थापाले बताइन्।
समूहकी अर्की सदस्य ममता विष्ट बानिँयाका अनुसार यो समूहबाट ४० जनाले दुनाटपरी बनाउने तालिम लिएका थिए। ती मध्ये ३० जना समूहमा सक्रिय छन्।
उनका अनुसार यसअघि दिदीबहिनी एक ठाउँमा जम्मा भएर काम गर्दा आपसरी आत्मीयता पनि बढेको छ। पैसा आउने काम पनि भएको छ।
‘हामी एउटै परिवारभित्रका दिदीबहिनी जस्तै भएका छौँ। हाँसोठट्टा हुन्छ। रमाउने, एउटाको दुःख अर्कोलाई पोख्ने अवसर पनि मिलेको छ,’ ममताले भनिन्।
उनीहरू मध्याह्न १२ बजे जम्मा हुन्छन्। अपराह्न तीन बजेसम्म काम गर्छन् र घर फर्किन्छन्। कहिलेकाहीँ घरको काम सकेर राति ८ बजेखि १० बजेसम्म पनि समूहमा काम गर्छन्।
उनीहरू धेरै जसो दुनाटपरी मेसिनबाट बनाउँछन्। हातले पनि बनाउँछन्। दुनाटपरीको साइज बजारको माग अनुसार निर्धारण गर्छन्।
वडा नम्बर ७ की दिलकुमारी चौधरी पनि घरकै काममा हुन्थिन्। फुर्सदको समय यतिकै बित्थ्यो। नियमित आम्दानीको रोजगारी थिएन।
छिमेकका धेरै जसो महिला उनीजस्तै थिए।
वडा कार्यालयले दुनाटपरी बनाउने तालिम दिने भनेर बोलायो। तालिम लिन चाहनेले पहिले नाम लेखाउनु पर्थ्यो। दिलकुमारीको वडाका ३४ जना महिलाले ‘जोखरबाबा महिला विकास समूह’ नाम राखेर एउटा समूह बनाए।
उपमहानगर कार्यालयले पहिलो सात दिन उद्यमशीलता विकास, व्यावसायिक उत्पादन र बजार लगायतका विषयमा शिक्षा दियो।त्यसपछि उनीहरूले मेसिनबाट दुनाटपरी बनाउन सिके।
उपमहानगरले हरेक समूहलाई एकएक एक मेसिन दिएको छ।
‘जोखरबाबा महिला विकास समूह’ समूहले दुनाटपरी बनाउन थालेको एक महिना भयो।
समूहका सदस्यहरू दिउँसो सामुदायिक भवनमा भेला हुन्छन्। कोही पात टिप्न जान्छन्, कोही पात मिलाउने, कोही पात गाँस्ने र कोही मेसिन चलाउने काम गर्छन्।
यो समूहले हाल दैनिक सरदर तीन सय टपरी, दुना र प्लेट बनाउने गरेको छ। बिक्री पनि भइरहेको छ।
धनगढी नगरक्षेत्रबाट मात्र होइन, पहाडी क्षेत्रबाट पनि माग (अर्डर) आउन थालेको छ। यो समूहले पनि अर्डर लिएर काम गर्न थालेको छ।
यो समूहले होलसेल र खुद्रा दुवै किसिमले बेच्ने गरेको छ। साइज हेरेर मूल्य २ रुपैयाँदेखि ७ रुपैयाँसम्म छ।
जोखरबाबा महिला विकास समूहका दिदीबहिनीले दुनाटपरी बनाउने कामलाई दिगो व्यवसाय बनाउने सोचेका छन्। उनीहरूले एक महिनामा ३० हजार रुपैयाँको दुनाटपरी बेचे।
उक्त रकमबाट समूहमा आवश्यक केही सामान जोडे। केही रकम बचत गरेका छन्। समस्यामा परेका सदस्यलाई सहयोग पनि गर्न थालेका छन्।
मासिकरूपमा बचत गरेर केही महिनाको फरकमा सदस्यहरूलाई वितरण गर्ने जोखरबाबा महिला विकास समूहको योजना छ। महिला समूहले ‘प्लास्टिकमुक्त नगर’ अभियान सार्थक बनाउने उद्देश्यमा सघाउ सहयोग पुर्याएको ममताको भनाइ छ।
उनका अनुसार समूहमा महिलाहरू धेरै छन्। उनीहरू सबै दुनाटपरीको काममा जोडिन चाहन्छन् तर मेसिन एउटामात्रै भएकाले सबैले काम गर्न पाएका छैनन्।
एउटा समूहलाई कम्तीमा तीन वटा मेसिन दिन उपमहानगरलाई उनीहरूको सुझाब छ।
यस्तै फरक–फरक समूहले बनाएका दुनाटपरीको बिक्रीमूल्य पनि फरक–फरक हुँदा बजारमा केही समस्या देखिएको पनि समूहका सदस्यहरूको भनाइ छ।
मूल्यमा एकरूपता कायम गरिदिन पनि उपमहानगरपालिकालाई उनीहरूले आग्रह गरेका छन्।
धनगढी उपमहानगरले ‘प्लास्टिकमुक्त धनगढी’ बनाउने लक्ष्यका साथ ‘प्लास्टिकका वस्तु प्रतिबन्ध ऐन, २०७९’ बनाएर कार्यान्वयन गरेको छ।यसै अन्तर्गतको एउटा प्रयास हो दुनाटपरी लघुउद्यम।
उपमहानगरले प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रयोग गर्नेलाई नगरप्रहरीले जरिवाना लिने गरेको छ। निषेधित प्लास्टिक झोला प्रयोग गर्नेहरूलाई जरिवाना गरेर उपमहानगरपालिकाले अहिलेसम्म कम्तीमा एक लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
उपमहानगरपालिले चलाएको ‘लघुउद्यम विकास कार्यक्रम’ मार्फत प्लास्टिकको विकल्प दिन खाजेको नगरप्रमुख गोपी हमालको भनाइ छ।
विभिन्न वडाका महिलाहरूलाई समूहमा आबद्ध गराएर सालको पातबाट दुनाटपरी बनाउने तालिम पनि उक्त कार्यक्रमकै एक अंश हो।
उपमहानगरका सहकारी शाखा प्रमुख हरि साउदका अनुसार हालसम्म आठ वटा वडाका १५५ जना महिलाले दुनाटपरी बनाउने तालिम लिएका छन्। चाँडै थप ५५ जनालाई तालिम दिने तयारी छ।
धनगढी उपमहानगर क्षेत्रमा पलास्टिकका कप, गिलास, प्लेट लगायतमा सामग्रीको प्रयोग बन्द रहेको उनले बताए।
‘अहिले बजारमा दुनाटपरीको माग छ। सालको पातबाट दिदीबहिनीहरू आम्दानी गर्दै हुनुहुन्छ,’ उनी भन्छन्, ‘विवाह, ब्रतबन्ध, पूजापाठ र सभासम्मेलन दुनाटपरी प्रयोग हुन थालेको छ। होटलहरूले पनि किन्न थालेका छन्।’
दुनाटपरीको व्यवसायले महिलाहरूलाई रोजगारी र आत्मनिर्भरतातिर अघि बढाएको छ। सालको पातको अभाव छैन। धनगढी उपमहानगरले नेपाल सरकारको सशर्त अनुदानबाट ‘उद्यम विकास कार्यक्रम’ चलाउने गरेको छ।
साउदका अनुसार यस कार्यक्रममा लागि चालु आर्थिक वर्षमा २३ लाख रुपैँया बजेट छुट्याइएको थियो। यसमा दुई जना ‘सामाजिक परिचालक’ पनि छन्। उनीहरू मासिक तलब पाउँछन्।
महिलाहरूका लागि उद्यम विकासको यस्तो कार्यक्रम चालु राख्नुपर्ने समूहका सदस्यहरूको भनाइ छ।