तराईको जिल्ला भनिए पनि कैलालीकै चुरे गाउँपालिका प्रदेश राजधानी हुदै घण्टौं पहाड चढेपछि पुगिन्छ।
खुटीया दिपायल सडक बने चुरेको धेरै जनसंख्यालाई यातायात पुग्थ्यो। अहिले सहजपुरबाट गाउँपालिकाको कार्यालय पनि सरेको छ। सहजपुरबाट पालिका कार्यालयसम्म पुग्न राम्रै बाटो छ। घोडथरबाट भासु गाउँ र सायलसम्म जान भने निकै कठिन हुने गरेको स्थानीयहरुको भनाई छ।
चुरे गाउँपालिका–१ को भासुगाउँमा ९ घरधुरी छन्। भासुकी २९ वर्षीय रत्ना पुनमगरले १८ वर्षको उमेरमै बिहे गरेकी थिइन्। उनले पहिलो सन्तान २० वर्षको उमेरमै जन्माइन्। पहिलो गर्भ चेकजाँचका लागि उनी एक चोटी मात्रै धनगढी गएकी थिइन्। गाउँका सुडेनीबाट उनले घरमै बच्चा जन्माएकी थिइन्।
त्यसपछि उनको दोस्रो सन्तान २३ वर्षको उमेरमा भयो। दोस्रो गर्भ पनि उनले जतिपटक चेक गर्नुपर्ने हो त्यति गर्न नसकेको बताउँछिन्।
दुई छोरीको जन्मपछि उनी २७ वर्षको उमेरमा फेरि तेस्रो पटक गर्भवती भइन्। तेस्रो पटक भने उनले स्वास्थ्यमा पहिलो भन्दा गर्भको चेकजाँच चार पटक गरेकी थिइन्।
दुई छोरी र एक छोरा गरी तीन सन्तानकी आमा बनेकी उनलाई अब सन्तानको रहर पुरा भइसकेको छ। फेरि बच्चा जन्मिए गाह्रो हुने भन्ने डरले उनलाई चिन्ता लाग्छ। गर्भ बसेर फाल्ने भन्दा गर्भ बस्न नदिन बाटो अपनाउन उनलाई उत्तम लाग्छ। तर, गर्भ बस्न नदिन विकल्प अपाउन आफ्नो दम्पत्तीलाई कठिनाइ रहेको उनी बताउँछिन्।
उनका अनुसार परिवार नियोजनको अस्थायी साधन गाउँमा पाइदैन। कण्डम लिन पनि तीन घण्टा हिँडेर जानुपर्छ। किनेर पनि कण्डम नपाइने गाउँमा परिवार नियोजनका साधन प्रयोग गर्न नपाइएको उनको भनाइ छ। वस्ती नजिकै स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य चौकी नभएर समस्या भएको उनको भनाइ छ।
‘हेल्थपोष्टजान तीन चार घण्टा लाग्छ, स्वास्थ्य सेवीका कहाँ जान पनि तीन घण्टा लाग्छ, निजि मेडीकल भने एक घण्टा जति लाग्छ। हामी दिनभरी काममा खटिनेहरूलाई त्यति टाढा गएर कण्डम ल्याउन समय हुँदैन,’ उनले भनिन्।
परिवार नियोजनको अस्थायीको साधनको प्रयोगबारे थाहा पाएपनि विकट र स्वास्थ्य संस्थाको पहुँचमा आफुहरू नपुग्दा प्रयोग गर्न समस्या भोगिरहनु परेको उनको भनाई छ।
अस्थायीका साधन प्रयोग गर्न नसकेर नचाहेर पनि उनको चौथो पटक फेरि दुई महिना अघि गर्भ बस्यो। बच्चा हुर्काउन कठिनाइ हुने भन्दै यस पटक भने उनले त्यो गर्भलाई फाल्ने सोच गरिन्।
उनले धनगढीबाट कसैसित प्रतिबन्धित गर्भ फाल्ने पिल्स मेडिकलबाट किनेर सेवन गरिन्। औषधीले उनलाई महिनौं सम्म असर गर्याे। महिनौं दिनसम्म रगत बग्ने समस्या भयो। त्यहि कारण उनी घरभित्र एक महिना सम्म थला परिन्। रत्नालाई सुरक्षित गर्भपतनबारे अहिले थाहा त भयो, तर त्यो सेवा लिने ठाउँ नजिक छैन।
सहजपुरमा सरकारबाट सुचिकृत गरिएको निशुल्क सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्था छ तर बाटोका कारणले उनलाई सहजपुर जानै समस्या छ। वर्षामा त झन् पल्लो डाँडासम्म पनि पुग्न गाह्रो हुन्छ।
‘सुरक्षित गर्भपतन गर्ने ठाउँ जानै समस्या छ, बाटो छैन, त्यहाँ कहाँ बस्ने कहाँ खाने, पैसा छैन, धेरै झन्झट गर्नुभन्दा औषधि खान सहजहोला सोचें, तर धेरै गाह्रो भयो,’ उनले भनिन्।
गत महिना भासुकै ३० वर्षीय कल्पना घर्तीमगरले पनि असुरक्षित गर्भपतन गर्दा झण्डै मृत्युको मुखमा पुगेकी थिइन्। उनका चार छोराछोरी छन्। तर, उनी फेरि गर्भवती भइन्। उनले १४ हप्ताको गर्भलाई फाल्न मेडिकलबाट पिल्स सेवन गरिन्। तर पिल्स खाएर गर्भ फाल्न उनलाई धेरै असहाय पीडा भयो। महिनौं दिनसम्म उनलाई रगत बग्ने समस्या देखा पछि अस्पताल गएपछि अहिले उनी केहि ठिक भएकी छिन्।
कल्पनाले जस्तै चुरे गाउँपालिका-१ कै सायलकी १६ वर्षीय एक किशोरीले पनि लाज हुने भन्दै घटना लुकाइन्। स्कुल पढ्ने बेलादेखl प्रेममा रहेकी उनको गर्भ बसेछ। उनीहरू बिहे गरिहाल्न चाहँदैनथे। परिवारले थाहा पाएपछि जबरजस्ती उनीहरूको बिहे गराइयो।
अहिले त्यही गर्भका कारण पढाइ छोडेकोमा उनलाई पछुतो लागेको छ। सुरक्षित गर्भपतन सेवाबारे थाहा पाएपछि उनी त्यो सेवा आफूले उहिल्यै लिनुपर्ने रहेछ भन्ने लाग्छ।
चुरेका महिला तथा किशोरीहरूले प्रजनन् स्वास्थ्य सेवाको अभावमा थुप्रै समस्या भोग्नुपरिरहेको बताए। किशोरावस्थामै बिहे हुने, कलिलै उमेर बच्चा जन्माउनु पर्ने, स्वास्थ्य संस्था टाढा हुने र सुत्केरीको हेचाह नहुनाले उनीहरुले दिर्घकालिन रोगको सिकार हुनुपरेको छ।
परिवार नियोजनका साधनको प्रयोग गर्न नपाउँदा अनिञ्छीत गर्भ बस्ने र त्यहि गर्भलाई असुरक्षित तरिकाले फाल्दा महिलाहरूले पाठेघर नै गुमाउनु परेको पनि छ।
भासु गाउँकै हिमा रोकामगरले यस्ता थुप्रै घटनाबारे देखे सुनेको बताइन्। उनी २७ बर्षकी भइन्। स्नातक पढ्ने उनी अरु किशोरीहरुसित मिलेर गाउँमा यौन तथा प्रजनन् स्वास्थ्यबारे महिलाहरुलाई आफूले जानेका कुरा सिकाउने गर्छिन्। उनले जलवायु परिवर्तन, असुरक्षित गर्भपतन, परिवार नियोजनका तरिकाबारे विभिन्न संस्थाले दिने तालिममा पनि जाने गरेकी छन् भने वडा कार्यालय र गाउँपालिकासित पनि कुरा राख्ने गरेकी छन्।
आइपास र फाया नेपालले सहयोग गरेपछि उनलाई गाउँका महिलालाई सुरक्षित गर्भपतनबारे सिकाउन सहज भएको छ। हिमा गाउँकी शिक्षिका पनि हुन्।
‘हाम्रो वडामा म, एकजना कल्पना बहिनी र एकजना दिदी मिलेर असुरक्षित गर्भपतन गर्दा के के समस्या हुन्छ, सुरक्षित गर्भपतन सेवाका फाइदाबारे सिकाउने गर्छाै,’ उनले भनिन्।
उनले पहिला पहिला गाउँमा जडीबुटीबाट पनि असुरक्षित गर्भपतन गरेको देखेकी थिइन्। असुरक्षित गर्भपतनका कारण कतिपय ज्यानै गुमाउनु परेका घटना देख्दा उनको अहिले पनि मन पोल्छ। आफ्नै घरमा आमाले गर्भरोक्न र गर्भपतन गर्न जडीबुडी सेवन गर्दा पाठेघर गुमाउनु परेको हिमा सुनाउँछिन्।
हिमाले गाउँका महिलाहरुलाई महिनामा दुई पटक भेला हुन खबर गर्छिन। महिलाहरू जम्मा भएपछि उनीहरुका भोगाई र अहिलेको सुविधाबारे कुरा हुन्छ।
‘गर्भपतन सम्बन्धी कतिपय महिलाहरूको धारणा फरक फरक छ। कतिपयले गर्भपतन गर्नु पाप हो भन्ने पनि गर्छन्,’ उनले भनिन्।
हिमा र उनका साथीहरूले गरेको कामले गाउँमा महिनापिच्छे चलाउने यस्ता छलफलमा सहभागी कतिपय महिलाहरू विगत भन्दा हाल सचेत भइसकेका छन्। उनीहरु सचेतनाको कार्यक्रम निरन्तर रहोस् भन्ने चाहन्छन्। तर अहिले थाहा भएका सुविधा राज्यका तर्फबाट गाउँसम्म पुगाउने काम भइदिए हुन्थ्यो भन्ने उनीहरूको आश छ।