वनस्पति वैज्ञानिक तीर्थबहादुर श्रेष्ठ २०५३ सालतिर आफ्नो खोज–अनुसन्धानका क्रममा कास्कीको ल्वाङ गाउँ पुगेका थिए।
उनी पोखराबाट हिँडेर पुगेका थिए। गाउँमा बिजुली थिएन। अहिलेको जस्तो समृद्धि थिएन। ल्वाङ गाउँबाट देखेको सूर्योदय भने अहिले पनि उनको स्मरणमा ताजै छ।
‘ल्वाङ गाउँमा हामी जाँदा देखिएको सूर्योदय एकदम रातो थियो, त्यसपछि पहेँलो भएर हिमाल सुनजस्तै टल्किएको थियो,’ उनले स्मरण गरे, ‘त्यतिबेला गाउँमा पर्यटक थिएनन्, महिला समूहले हामीलाई फूलमालाले स्वागत गरेको थियो।’
ल्वाङ गाउँबाट देखेको सूर्योदयले मोहित श्रेष्ठ २७ वर्षपछि गत पुसमा फेरि ल्वाङ गाउँ पुगे। गाउँलेको प्रगति देखेर उनी चकित परे।
‘गाउँमा मोटरबाटो पुगेछ, बिजुली पुगेछ। गाउँ चिटिक्क भएछ। चिया बगान बनाएछन्। जंगल बढाएछन्,’ उनले भने, ‘होम स्टे खोलेर गाउँमा पर्यटक भरिभराउ पारेछन्।’
कास्कीमा चल्तीका होम स्टे रहेका गाउँमध्ये पहिलो लहरमा आउँछ ल्वाङ गाउँ। गाउँको सौन्दर्य मनमोहक छ– ढुंगा छापिएको बाटो, ढुंगाकै छानो भएका परम्परागत घर, आँगनमा पनि ढुंगाकै छपनी अनि गाउँलेभन्दा गाउँ हेर्न आउने मान्छे धेरै।
ल्वाङ गाउँ ग्रामीण पर्यटनको केन्द्र बनेको देखेर श्रेष्ठ दंग परे।
मैले माछापुच्छ्रे गाउँपालिका–८, का वडाध्यक्ष राम गुरुङलाई सोधेँ– एउटा दुर्गम गाउँ कसरी देशकै नमूना पर्यटकीय गन्तव्य बन्यो?
उनले हामीलाई ६७ वर्षीया डम्मरकुमारी गुरुङको घरमा पुर्याए। मेरो प्रश्नको उत्तर दिन उनीमात्रै सक्षम थिइन् जो विगत ३० वर्षदेखि यही काममा दत्तचित्त छिन्।
ल्वाङ गाउँ प्रवेशको स्वागतद्वार माथिपट्टि छ डम्मरकुमारीको घर। उनको घर पनि नमूना छ– ढुंगाको छानो; फराकिलो आँगनमा डुंगाकै छपनी; कलात्मक झ्यालढोका र खाँबा, घर सामान्यभन्दा अलिक लामो।
घरको सुन्दर र कलात्मकपक्षबारे मैले जिज्ञासा राखेँ।
डम्मरकुमारीका श्रीमान् ७३ वर्षीय देवराज गुरुङले भने, ‘यी खाँबा र झ्यालढोका गाउँलेले भत्काएका पुराना घरबाट ल्याएको हुँ। कुनै पैसा दिएर ल्याएँ, कुनै औँठीले साटेर ल्याएँ।’
खासमा देवराज आधुनिक घर बनाउँदै थिए। उनको पुरानो घरमा कलात्मक झ्यालढोका थिए। ती एकातिर थन्क्याएका थिए।
काठमाडौंबाट आएका एक पर्यटकले ती झ्यालढोका किन्न मागे।
किन माग्यो भन्ने कुराले उनलाई सोचमग्न बनाइदियो। यसको महत्व भएकै हुनाले किन्न चाहेको हुनुपर्छ भन्ने बुझे। यसपछि उनी घरमा कलात्मक झ्यालढोका राख्ने निष्कर्षमा पुगे। सोहीअनुसार घर तयार गरे।
ल्वाङ गाउँ कसरी पर्यटकीय गन्तव्य बन्यो त?
डम्मरकुमारीले यसको कथा सुनाइन्।
२०४३ सालतिर कास्कीको घान्द्रुकमा नमूनाका रूपमा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन भएको थियो। सेना परिचालन गरेर संरक्षित क्षेत्र बनाउने प्रवत्तिका विरुद्धमा थिए हर्क गुरुङ, चन्द्रप्रसाद गुरुङ, मिङमा शेर्पा लगायतका संरक्षणविदहरू।
उनीहरूकै योजनामा स्थानीय समुदायलाई संरक्षणमा सहभागी गराउने गरी तत्कालीन घान्द्रुक गाविसमा नमूना कार्यक्रम चलाइएको थियो।
घान्द्रुकमा समुदायमा आधारित नमूना संरक्षण कार्यक्रम सफल ठहरियो। यसको प्रभावले गण्डकीका पाँच जिल्लामा फैलिएको देशकै सबैभन्दा ‘अन्नपूर्ण संरक्षित क्षेत्र (एक्याप)’ बन्न पुग्यो।
एक्यापकै अधिकारीहरूले २०४८ सालमा ल्वाङ गाउँमा ‘आमा समूह’ गठन गरेर डम्मरकुमारीलाई अध्यक्ष चयन गरेका थिए। नाम रह्यो ‘मस्याँकोट आमा समूह’।
त्यसपछि सुरु भयो गाउँ सुधारको अभियान।
डम्मरकुमारी देवराजसँग बिहे भएपछि चितवनबाट पहाडको दुर्गम ल्वाङ गाउँ पुगेकी थिइन्। आमा समूहको अध्यक्ष भएपछि उनी एक्यापले दिने तालिमहरूमा सहभागी भइन्।
तालिममा उनले गाउँघर सरसफाइ, वनजंगल संरक्षण, शौचालय व्यवस्था लगायतको महत्व थाहा पाइन्। तालिममा सिकेको कुरा आमा समूहमा पुर्याइन्। गाउँलेहरूलाई पनि पालैपालो तालिममा सहभागी गराइन्।
त्यो समयबारे उनले भनिन्, ‘त्यतिबेला कसैको घरमा शौचालय थिएन। बाटोघाटोमै दिसापिसाब गर्ने चलन थियो। वरिपरि रूखबिरुवा थिएनन्। डाँडापाखा नांगै थिए।’
डम्मरकुमारीले आमा समूहमा हरेक महिनाको १ गते र १५ गते गाउँको बाटोघाटो सफा गर्न गाउँलेहरूलाई सहभागी गराउने निर्णय गराइन्। निर्णयअनुसार काममा सबैको सहभागिता भयो।
एक्यापकै योजनाअनुसार हरेक घरमा शौचालय बनाउने अभियान अघि बढाइन्।
गाउँलेहरूले शौचालय बनाउन आनाकानी गरे। डम्मरकुमारीले बेलाबेलै गाउँमा झाडापखाला फैलिनुको कारण खोज्न भनिन्। खुला ठाउँमा दिसापिसाब गर्दा कसरी झाडापखाला फैलिन्छ भन्ने कुरा सम्झाइन्। अन्ततः गाउँलेहरू आआफ्नो घरमा शौचालय बनाउन राजी भए।
शौचालय त बन्यो तैपनि त्यसमा दिसापिसाब गर्ने थोरैमात्र भए। बिस्तारै बानी सुधार हुँदै गयो। शौचालयमा दिसापिसाब गर्नुको फाइदा थाहा हुँदै गयो। शौचालय प्रयोग गाउँलेको संस्कार बन्यो।
गाउँलेहरूको सामूहिक सहभागिताले बस्ती सफा हुँदै गयो।
गाउँ सरसफाइ र शौचालय अभियानपछि नांगा डाँडापाखामा वृक्षारोपण गर्ने निर्णय भयो। गाउँको वन भनिए पनि रूखबिरुवा थिएनन्।
फेरि पनि एक्याप सहयोगी बन्यो, अगुवा थिइन् उनै डम्मरकुमारी।
आमा समूहको सक्रियतामा डाँडापाखामा उत्तिसका बिरुवा रोपिए। पाखाको एक भागमा गाउँलेहरूले र एक भागमा आमा समूहले एक्लै वृक्षारोपण गरे। बिरुवा जोगाउन तारबार गरे। चौपाया छिर्न पाएनन्।
बिरुवा रोपिएको पाखामा घाँस उम्रन थाल्यो। बिस्तारै गाउँलेलाई घाँसको दुःख पनि हरायो। घाँस बेचेर आमा समूहले आम्दानी गर्न थाल्यो। त्यो आम्दानी वन हेरालो राख्न खर्च गर्यो।
त्यो नांगो पाखो अहिले उत्तिसको जंगल भएको छ। काठ–दाउरा अभाव छैन।
आमा समूह यतिमै रोकिएन। बस्तीका बाटा सुधार गर्ने अभियान चलायो। बाटामा ढुंगा छाप्ने काम भयो। बस्ती चिटिक्क देखिन थाल्यो। गाउँको प्रचार हुन थाल्यो। पाहुना अर्थात पर्यटकहरू आउन थाले। आमा समूहले पर्यटकको स्वागत–सम्मानबाट हुने आम्दानी बस्ती सुधारकै काममा खर्च गर्थ्यो। सानोतिनो सहयोग एक्यापले पनि गर्थ्यो।
२०५३ सालमा वनस्पतिविद् श्रेष्ठलाई पनि आमा समूहले स्वागत–सत्कार गरेको थियो। आमा समूहको सक्रियताबाट खुसी भएको श्रेष्ठको टोलीले नगद सहयोग गरेको थियो।
उनले स्मरण गरे, ‘हामीलाई आमा समूहले निकै स्वागत–सत्कार गरेको थियो। हामीले केही रुपैयाँ दियौँ।’
त्यो समय विदेशी पर्यटकहरू ल्वाङ गाउँ पुग्दैनथे। आमा समूहका सदस्यहरू गाउँभन्दा केही तल चौतारासम्म आएका विदेशीलाई खाना खुवाउन जान्थे।
ल्वाङ गाउँका बासिन्दाले मर्दी खोला किनारमा चिहान र घाट बनाएका थिए। माछापुच्छ्रे र मर्दी हिमालबाट आउने मर्दी खोलाको पानी पोखरामा खानेपानीका रूपमा लैजाने भएपछि उनीहरूको चिहान–घाट विस्थापित हुने अवस्था आयो।
नयाँ ठाउँ खोजी पनि डम्मरकुमारीको अगुवाइमा आमा समूहले नै गर्यो।
ल्वाङ गाउँमाथि घुबीडाँडा छ। घुबीडाँडा ल्वाङ गाउँकै पुरानो चिहानडाँडा थियो। तत्कालीन ल्वाङ घलेल गाविस बनाउँदा उक्त डाँडा वडा नम्बर एकमा पर्यो, ल्वाङ गाउँ दुईमा।
अर्कै वडामा परेपछि ल्वाङ गाउँले चिहान–घाटका लागि मर्दी किनार रोजेको रहेछ।मर्दीको पानी पोखरा जाने भएपछि ल्वाङ गाउँले चिहान–घाट फेरि घुबीडाँडामै सार्ने भयो। वडा नम्बर एकका बासिन्दाले विरोध गरे।
समस्या समाधानका लागि डम्मरकुमारीले सक्रियता बढाइन्। उनकै पहलमा वडा नम्बर एकका बासिन्दा पनि सहमत भए। अन्ततः घुबीडाँडामै ल्वाङ गाउँको चिहान–घाट बन्यो।
उनले भनिन्, ‘सुरुमा विरोध भयो। कुरा मिलेपछि मेरै अध्यक्षतामा दाहसंकार गर्ने तीन वटा घाट र मलामी ओत लाग्ने एउटा घर बनायौँ।’
यस काममा गाउँलेहरूले श्रमदान गरे। गुरुङ समुदायको बाहुल्य रहेको ल्वाङ गाउँमा केही दलित र ब्राह्मणहरू पनि छन्।
बस्ती सुधारमा यति काम भएपछि डम्मरकुमारी गाउँको अन्धकार हटाउन कम्मर कसेर अघि बढिन्।
गाउँमा बिजुली थिएन। उनले बिजुली बाल्ने योजना सुनाइन्। गाउँलेसँग प्रतिघर तीन हजार रुपैयाँका दरले चन्दा उठाउने निर्णय गराइन्। एक्यापले ८ लाख रुपैयाँ दियो। आमा समूहको कोषबाट एक लाख छुट्याइन्।
विदेशमा रहेका गाउँलेहरूले पनि सहयोग गरे। डम्मरकुमारी आफ्नो योजना लिएर काठमाडौं पुगिन्। नेता र कर्मचारी आश्वासन दिने तर काम नगर्ने, उनी हैरान भइन्। धेरै प्रयासपछि विद्युत प्राधिकरणले ल्वाङ गाउँमा बिजुली पुर्याउने भयो। गाउँहरूले मिलेर पोल र तार बोके।
पोल गाडेर तार तान्ने ठेक्का लागेको थियो। गाउँलेले श्रमदान गरेर ठेकेदारलाई सहयोग गरे। वरिपरिका गाउँ अन्धकार थिए, ल्वाङ गाउँमा बिजुली बल्यो। गाउँलेका अनुहार उज्याला भए।
ल्वाङ गाउँमा आमा समूहको आफ्नै भवन छ। अन्य संस्थाले पनि बैठक र कार्यक्रमका लागि आमा समूहकै सभाकक्ष रोज्छन्।
पोखराका कतिपय संघसंस्था ल्वाङ गाउँ पुगेर आमा समूहको सभाकक्षमा कार्यक्रम गर्छन्।
गाउँमा बिजुली पुग्दासम्म मोटरबाटो थिएन। गाउँलेहरूले डम्मरकुमारीकै अध्यक्षतामा मोटरबाटो निर्माण समिति बनाए।
उनले तत्कालीन गाविस र जिल्ला विकास समितिमा धाएर मोटरबाटो बनाउन पहल गरिन्। आखिर गाउँमा बाटो खुल्यो। अहिले ल्वाङ गाउँ आउजाउ गर्न सार्वजनिक बस चल्छन्। निजी गाडी पुग्छन्।
डम्मरकुमारीलाई शिशु स्याहार केन्द्र खेल्ने जुक्ति फुर्यो।
उनी एउटा योजना बनाएर अघि बढिन्। स्कुल जाने उमेर नभएका बालबालिकाको स्याहार गर्ने, पौष्टिक खाजा खुवाउने र उमेर अनुसारको पढाइ गर्ने उनको योजनामा एक्यापले सहयोग गर्ने भयो। अनि खुल्यो शिशु स्याहार केन्द्र।
आमा समूहले शिक्षक–कर्मचारी राख्यो। पौष्टिक खाजा खुवाउने प्रबन्ध गर्यो।
सामाजिक काममा जुटेकी डम्मरकुमारीले आफ्नो घरायसी काममा पनि कमी हुन दिइनन्। परिवारबाट सहयोग पनि पाइन्। २०६८ सालमा गाउँमा होम स्टे खोल्ने कुरा भयो। उनले पनि तालिम लिइन्। गाउँलेहरू मिलेर होम स्टे खोल्न थाले। तीन वर्ष त पाहुना आउँदै आएनन्। चौथो वर्षदेखि आउन थाले।
एक्यापले गाउँलेहरूलाई चिया खेती गर्न तालिम दियो। इलामको चियाबारी देखाउन लग्यो। अहिले ल्वाङ गाउँमा चियाबारी छ र पर्यटकको अकर्षण बनेको छ।
डम्मरकुमारी भन्छिन्, ‘आजकाल त कहिलेकाहीँ दिनमै चार–पाँच सय जना पनि आउँछन्। हाम्रो गाउँमा नअटाएकालाई घलेगाउँ जान भन्छौँ। धेरै चाहिँ पोखरा फर्किन्छन्।’
डम्मरकुमारी ३२ वर्षदेखि निरन्तर आमा समूहको अध्यक्ष छिन्। उनी अरू कोही महिला अध्यक्ष बनून् भन्ने चाहन्छिन् तर कोही पनि अग्रसर नभएको उनको भनाइ छ।
आमा समूहले गर्दै आएको गाउँ सफाइको जिम्मेवारी हाल ‘होम स्टे समिति’ लिएको छ।
डम्मरकुमारीकै अध्यक्षतामा गाउँमा ‘मर्दी बराह महिला बचत तथा ऋण सहकारी’ चलेको छ। सहकारीले गाउँका महिलाबाट मासिक दुई सय रुपैयाँ बचत संकलन गर्छ र न्यूनतम ब्याजमा ऋण दिन्छ।
कुखुरापालन, तरकारी खेतीलगायत आयआर्जनका काममा महिलालाई ऋण दिने गरेको उनले बताइन्। समस्याको गहिराइ हेरेर अनुदानको पनि व्यवस्था छ।
परम्परागत रूपमा अल्लोबाट धागो निकालेर कपडा बनाउने काममा पनि सहकारीले लगानी गरेको छ।
गाउँका लागि डम्मरकुमारीको योगदानबाट देवराज पनि खुसी छन्। उनी गाउँमा एउटा संग्रहालय बनोस् भन्ने चाहन्छन्। धेरैजसो गाउँलेहरूले डम्मरकुमारी–देवराज दम्पतीकै घरलाई संग्रहालयका रूपमा विकास गर्ने उपाय खोज्न सुझाब दिने गरेका छन्।
अहिले गाउँमा युवाहरू अडिन नसकेकोमा डम्मरकुमारी चिन्तित छिन्।
भन्छिन्, ‘गाउँमा होटल, होम स्टे जे चलाए पनि चल्छ। चिया, तरकारी, फलफूल जे खेती गरे पनि आम्दानी हुने अवस्था छ तर युवाहरू गाउँमा बस्न रुचाउँदैनन्।’
यसरी डम्मरकुमारीले एउटा दुर्गम गाउँलाई सुन्दर, सुगम र पर्यटकीय बनाउन नेतृत्व गरिन्। बितेको तीस वर्षमा ल्वाङ गाउँको विकास र परिवर्तन हेरेर डम्मरकुमारी पनि दंग छिन्।