राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सुनुवाइ हुँदैछ।
आइतबार लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएकी थिइन्।
उक्त रिट निवेदनमा सोमबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए।
उक्त रिट एकल इजलासले सनुवाइ गर्नेछ।
यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो।
लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन्।
रूपन्देहीको सुप्रिम सहकारी ठगी र संगठित अपराधमा उनलाई जिल्ला अदालतले एक करोड धरौटीमा छाड्न आदेश दिएको थियो।
उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै चैत २२ गते उनलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।