चिंगुवा डगौराका बाजेको २० बिघा जमिन थियो। बसोबास थियो कैलाली जिल्लामा पर्ने हालको जोशीपुर गाउँपालिकामा।
अहिले चिंगुवासित बिघा त के एक कठ्ठा जमिन पनि छैन। केही वर्षयता त उनी आफ्नै पहिचानको प्रमाणका लागि ठाउँ-ठाउँ धाइरहेका छन्।
अब उनीसँग बाल्यकालका केही सम्झनाहरू मात्र बाँकी छन्। जसले उनलाई नागरिक हुनुको प्रमाण दिलाउँदैनन्।
उनका आमाबुवा खेतीपाती नै गर्थे। चिंगुवाको बाल्यकाल गोरू चराउँदै बित्यो। उनका बुवाले चार हल गोरू र दुई हल राँगा पालेका थिए।
पढ्ने चलन थिएन। १३ वर्षका हुँदा नहुँदै चिंगुवाले बाहिरफेर मजदुरी गर्न थाले।
'तीन वर्ष एउटा मिलमा काम गरेँ। त्यहाँ वर्षभरिमा दुई सय रुपैयाँ तलब मिल्थ्यो,’ केहीसमय अघि सेतोपाटीसँगको भेटमा उनले सम्झिए, 'त्यसपछिको पाँच वर्ष आफूखुसी काम गर्दै बित्यो।'
चिंगुवा करिब २० वर्ष उमेरका थिए। गाउँका एक जना अगुवाले बसन्ता गाउँ जाऔं भने। उतै बिहे पनि गरिदिऊँला भने। के सुरले हो, चिंगुवा तयार भए।
उनी करिब ३० किलोमिटर टाढाका बसन्ता गाउँ पुगे। त्यहाँ रानी नामकी एक महिला थिइन्। सानै उमेरमा बिहे भएको थियो।
तीन छोराछोरी जन्मेपछि अचानक उनका श्रीमान बितेका थिए। गरिबीमा जीवन धानिरहेको अवस्थामा श्रीमान बितेपछि रानी ठूलो विपतमा परेकी थिइन्। त्यही बेला रानीका आफन्तले चिंगुवासँग भेट गराए। कुराकानी भयो।
उनी रानीसित बिहे गरेर उनकै घरमा बस्न राजी भए। रानीका आफन्तहरूले बिहे गराइदिए। चिंगुवा बसन्तामा रानीकै घरमा बस्न थाले। कहिल्यै आफ्नो घर फर्केनन्। घरतिर के हुँदैछ भन्ने केही पनि थाहा पाएनन्।
धेरै वर्ष बिते।
चिंगुवा र रानीले मजदुरी गरेर आफ्नी एकमात्र छोरी हुर्काउँदै थिए। जसोतसो जीवन चल्दै थियो। यतिकैमा २०६२ सालको एक दिन घर नजिकैको कटैनी नदीमा बाढी आयो।
उनीहरूको घर बाढीमा बग्यो। गाउँ नै बाढीमा परेपछि चिंगुवा–रानी केही पर छोट्की बसन्तामा सरे।
रानीसँग बिहे गरेर आफ्नै संसार बनाएका चिंगुवाको नागरिकता प्रमाणपत्र थिएन। उनी धेरै वर्षपछि एक दिन नागरिकता प्रमाणपत्र बनाउन आफ्नो गाउँ जोशीपुर गए।
२०५५ साल भदौ ३ गतेको दिन थियो। उनी तत्कालीन गाउँ विकास समितिको कार्यालय गए। नागरिकता बनाउन आएको भने। त्यस बेलाका गाविस अध्यक्ष टीकाराम महतोले चिंगुवाका बुवा भगरथ डगौराको नाम उल्लेख गरी जोशीपुर गाविस वडा नम्बर २ ठेगानामा वंशजका आधारमा नागरिकता दिन जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरिदिए।
चिंगुवाले त्यो सिफारिस हिफाजत गरेर राखे। अहिले उनी ७५ वर्षका भए। सिफारिसमा उनको जन्म भएको वर्ष २००५ साल लेखिएको छ। उनको उमेरका सबैले वृद्धभत्ता पाएका छन्।
पाँच वर्षअघिको कुरा हो, चिंगुवाले भत्ता पाएका छैनन् भन्ने थाहा पाएर छिमेकीहरूले उनको बसोबास रहेको कैलारी गाउँपालिकाकाको वडा कार्यालय पुर्याए। वडा सचिवले नागरिकताको प्रमाणपत्र मागे। चिंगुवाले २०५५ सालमा बनाएको सिफारिस झोलाबाट झिकेर देखाए।
सचिवले यो त नागरिकता होइन भनेपछि चिंगुवा झस्के।
चिंगुवा सिफारिसको कागजलाई नै नागरिकता ठानेर बसेका रहेछन्।
उनले भने, 'मैले त नागरिकता यही होला भनेर राखेको हुँ, नागरिकता लिन कतै गएको छैन।'
उनले नागरिकता प्रमाणपत्र बनाउन जिल्ला प्रशासन कार्यालय जानुपर्छ भनेर थाहै पाएनन्। कसैले त्यहाँ जानू पनि भनेको थिएन। उनलाई नागरिकताको प्रमाणपत्र आवश्यक परेको पनि थिएन।
उनले नागरिकता प्रमाणपत्र बनाउन चाहेको पाँच वर्ष भयो। उनलाई नाता प्रमाणित, जन्मदर्ता, साक्षीहरू, वडा कार्यालय र प्रहरीको मुचुल्का चाहिएको छ। चिंगुवा यी कागजात लिन जन्मथलो जोशीपुर पुगे। उनका दाजुभाइ र भाउजू, बुहारी बितिसकेछन्।
उनका अनुसार भतिजाहरूले नाता स्वीकार्न मानेनन्। ठूलोबापट्टिका भतिजहरू नाता स्वीकार गर्न तयार भए पनि आफ्नै बुबाआमातर्फकाले अस्वीकार गरेको उनले बताए।
नागरिकता प्रमाणपत्रका लागि आवश्यक कागजात जुटाउन उनी कहिले भलमन्सा जियाराम चौधरीलाई गुहार्छन् त कहिले छिमेकीहरूकामा पुग्छन्।
भलमन्सा जियाराम भन्छन्, 'मैले आफ्नो मोटरसाइकलमा राखेर उहाँ (चिंगुवा) लाई धेरै ठाउँमा पुर्याएको छु। उहाँका परिवारका मान्छेले ठूलोबा स्वीकार गरेका छैनन्।'
भलमन्सा थारू समुदायमा टोलका परम्परागत नेता हुन्।
स्थानीय पवित्री चौधरीले चिंगुवा इमानदार व्यक्ति रहेको र नागरिकता नभएर समस्यामा परेको बताइन्। जिल्ला प्रशासन कार्यालयसम्म पनि पुर्याएको तर कागजपत्र पूरा नभएकाले नागरिकता बन्न नसकेको उनले बताइन्।
चिंगुवाले नागरिकता प्रमाणपत्र पाए भने पुर्ख्यौली अंश दाबी गर्न सक्ने भएकाले पनि नाता प्रमाणित हुन नसकेको उनका छिमेकीहरू बताउँछन्।
आफ्ना आमाबाबुका भागमा कति जमिन थियो, त्यो के भयो, ककसले भोगचलन गर्दै छन्, चिंगुवालाई केही पनि थाहा छैन। उनलाई जमिन होइन, नागरिकता प्रमाणपत्र चाहिएको छ।
चिंगुवाका लागि आवश्यक कागजपत्र जुटाउन स्थानीय तह, छिमेकी र आफन्तले सहयोग गर्नुपर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको भनाइ छ।
गाउँका भलमन्सासित सल्लाह गरेर चिंगुवाको वास्तविक स्थिति पत्ता लगाई उनको हक दिलाउन प्रशासनिक सहयोग गर्ने पनि उनले बताए।
कैलालीको कैलारी गाउँपालिका, छोट्की बसन्तामा चिंगुवा–रानीको सानो एक घर छ। छोरी उहिलै बितिन्। नातिनी दुख्नी चौधरी उनीहरूसँगै छिन्। चिंगुवा श्रम गर्न नसक्ने भएका छन्। रानी खेतीको सिजनमा मजदुरी गर्न जान्छिन्।
आम्दानीको मुख्य स्रोत रानीको मजदुरी नै हो। चिंगुवा घरमै बसेर माछा मार्ने हेल्का र तापी बनाएर बेच्छन्। यसरी आएको पैसाले पनि घरखर्चमा सघाउ पुग्छ।
उनीहरूले एक दर्जन जति हाँस पालेका छन्। कहिलेकाहीँ हाँस बचेर पनि पैसा हात लाग्छ। यसरी नै गुजारा चलेको छ। नागरिकता प्रमाणपत्र नहुँदा चिंगुवाले सरकारले दिने वृद्धभत्ता पाएका छैनन्। सरकारको भत्ता पाउन रानी ६० वर्ष भएकी छैनन्।