स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन्।
बुधबार काठमाडौं महानगरपालिकाले विश्व धूमपान रहित दिवस २०८० को अवसरमा आयोजना गरेको सुर्तिजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रमा बोल्दै मन्त्री बस्नेतले निर्देशन दिएका हुन्।
उनले अस्पतालहरूमा आइसियू, इमर्जेन्सी वा सिसियू बेडहरू के–कति छन् र कति खाली छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत् सार्वजनिक गर्न निर्देशन दिएको उल्लेख गरे।
उनले सो काम सुरू भइसकेको भन्दै अब त्यस प्रकारको समस्या नहुने बताए।
त्यस्तै, ओपिडी टिकट अनलाइनमार्फत् पनि लिन सकिने उनले बताए।
उनले वीर अस्पतालले चाँडै नै आफ्नो सेवा वृद्धि गर्ने पनि जानकारी गराए।
उनले भने, ‘अब चाँडै वीर हस्पिटलले सेवा वृद्धि गर्दैछ। कुन अस्पतालमा आइसियु बेड छ? इमर्जेन्सी बेड छ, वा सिसियु बेड छ ? वा खाली छ, छैन छ भने कति छ? बिरामीहरूलाई भ्रम हुन थाल्यो। ठूला मान्छेले फोन गरेपछि बेड पाइन्छ भन्ने मानसिकता हुन थाल्यो। गरिबहरू जाँदाखेरी नपाउने भन्ने हुन थाल्यो। त्यसैले मैले देशभरका अस्पतालहरूमा के छ अवस्था वेबसाइटमा राखेर सबैलाई क्लियर गर्नु भनेर मैले निर्देशन दिएको छु। त्यो काम सुरू भइरहेको छ। अब त्यो समस्या हुँदैन। ओपिडी अनलाइन टिकट बुक गर्ने प्रक्रिया अगाडि बढाउन भनेको छु। प्रक्रिया सुरू हुन थालेको छ। अनलाइन र फिजिकल्ली दुइटै किसिमले टिकट पाउनसक्छौं अहिले। वीर अस्पतालमा आइसियु बेडहरू बढ्दैछ। इमर्जेन्सी, वार्डहरूमा बेड बढ्दैछ। डायलासिसमा सुधारका पक्ष अगाडि बढ्दैछ।’
उनले संसारभरमा सुर्तिजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तिजन्य पदार्थमा कर बढाउनुपर्ने बताए।
उनले सुर्तिजन्य पदार्थमा कम्तीमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरूको उपचारमा प्रयोग गर्नुपर्ने बताए।
उनले गुलियो पेय पदार्थ र जंक फुडबाट पनि नागरिकलाई टाढा राख्नुपर्ने बताए।