चितवनमा आगामी मंसिरमा ‘गोही संरक्षण मेला’ आयोजना गरिने भएको छ। केयर फर नेचरले गोहीमा आधारित पर्यटन विकासको उद्देश्यले नेपाल गोही संरक्षण मेला–२०८० आयोजना गर्न लागेको हो।
गत वर्ष मेघौलीमा गरिएको मेला यस वर्ष सौराहा क्षेत्रमा गर्न लागिएको छ।
नेपालमा घडियाल र मगर गोही पाइन्छन्। संकटापन्न अवस्थाको घडियाल गोही नेपाल र भारतमा मात्रै पाइन्छन्। चितवनको राप्ती र नारायणी नदी घडियाल गोहीको प्रमुख बासस्थान हो। मेला आयोजना गर्न लागेको केयर फर नेचरका अध्यक्ष रन्जना भट्टले गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यबद्धता खोज्न मेला गर्न लागिएको बताइन्।
घडियाल गोहीको बासस्थान बगेको सफा पानी हो। उसको आहारा माछा हो। घडियालको उपस्थितिले पानीको शुद्धतालाई संकेत गर्छ। नदीमा बढ्दो प्रदूषण, उत्खनन्, बढ्दो क्रममा रहेको मानवीय चहलपहल, मान्छेले माछा मारेर खाने प्रवृत्ति लगायतका कारण घडियाल गोहीहरू संकटमा पर्दै गएका छन्।
२०७९ सालको पुसमा गरिएको सर्वेक्षणअनुसार राप्तीमा १३३ र नारायणी नदीमा १०६ वटा घडियाल गोहीहरू छन्। त्यतिखेर राप्तीमा एउटा र नारायणीमा दुइटा मात्रै भाले गोही भेटिएका थिए। जबकि चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रले सन् १९८१ यता १८ सय ५२ वटा गोहीहरू हुर्काएर विभिन्न नदीहरूमा छाडेको छ। तीमध्ये धेरै राप्ती र नारायणीमै छाडिएका थिए। गोहीहरू नदीमा आउने बाढीसँगै बगेर भारत पुग्ने गरेका पनि छन्।
अहिले नदीमा रहेका गोहीलाई संरक्षण गर्न समुदायलाई जागरूक गराउने उद्देश्यले मेला आयोजना गर्न लागेको भट्टले बताइन्।
तियारी जालको प्रयोग गरेर माछा मार्नेलाई रोक्ने, संरक्षण गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्न सघाउने, संरक्षण संस्कृतिको विकास गर्ने उद्देश्य मेलाको छ। गोहीमा बेरिएर मृत्युसम्म हुने भएकाले तियारी जाललाई हानिकारक मानिन्छ।
‘विद्यार्थीमार्फत् अभिभावकमा गोही संरक्षणसम्बन्धी चेतनाको विकास गर्ने प्रयास हामीले गरिरहेका छौं। गत वर्ष मेघौलीमा धेरै विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई उपस्थित गराएर मेला गर्यौं। यसले समुदायलाई संरक्षणमा प्रेरित गरेको थियो,’ उनले भनिन्, ‘यसपालि सौराहा आसपासको समुदायलाई लक्षित गरेर मेला गर्दैछौं।’
मेलामा गोहीसम्बन्धी सूचनामूलक सामग्रीको प्रदर्शनी, गोही संरक्षणमा प्रेरित गर्ने नाटक, गीत, नृत्य प्रस्तुत गर्ने र सरसफाइ गर्ने भट्टले बताइन्। मेला आयोजना गर्न सरोकारवाला संस्थाहरूसँग सहकार्यको प्रयास गरिरहेको उनले बताइन्।
राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाकी प्रमुख रचना शाहले विद्यार्थीलाई संरक्षण शिक्षा दिएर समुदायलाई सिकाउने अभियान आवश्यक रहेको बताइन्। यो अभियानमा केन्द्रको साथ रहने उनले बताइन्।
बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले विगतमा दुई ठूला नदीमा मात्रै देखिने गोहीहरू संरक्षणका गतिविधि बढेपछि अन्य साना खोलाहरूमा पनि देखिन थालेको बताए। मेलाले माछा मार्ने र गोहीलाई हानी हुने अन्य गतिविधि कम गर्न सघाउने र संरक्षणमा सहयोग गर्ने विश्वास उनको छ।
समुदायमा आधारित चोरी सिकार नियन्त्रण सञ्जालमा रहेर १४ वर्षदेखि गोही संरक्षणका लागि काम गर्दै आएका संरक्षणकर्मी विकास पाठकले नदी, खोलाको माछा गोहीका लागि हो भन्ने कुरा मान्छेलाई बुझाउनुपर्ने बताए।
‘खोलाको माछाको माग बढेर नयाँ प्रविधिको प्रयोग गरी माछा मार्नेक्रम बढेको छ। बजारबाट पोखरीको भन्दा दोब्बर पैसा दिएर खोलाको माछा माग भएपछि लुकीछिपी माछा मार्नेक्रम बढेको छ,’ उनले भने, ‘माछा मार्नेलाई भन्दा खोलाको माछा मार्न लोभ देखाउनेलाई सम्झाउन पर्ने भयो।’
उनले खोलाको माछामा आश्रित समुदायका कारणले भन्दा लोकल माछाका व्यापारी ठूलो समस्याका रूपमा देखिन थालेको बताए।
‘पैसा धेरै पाउने भएपछि नयाँ प्रविधिको प्रयोग गरेर, नदीको पानी नै बिगार्ने गरी माछा मार्न थालिएको छ। यसले गोहीलाई थप संकटमा धकेल्ने देखिन्छ,’ पाठक भन्छन्।
उनले नदी फोहोर फाल्ने क्रम बढ्दा पनि जलचर प्राणीलाई ठूलो असर परिरहेको बताए।
कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ निकुञ्ज, मध्यवर्ती वनहरूले कडाइ गर्दागर्दै पनि नयाँ-नयाँ उपाय लगाएर माछा मार्ने गरिएको बताउँछन्।
‘पहिले दिनभर माछा मारेर साँझ घर फर्कने चलन हुन्थ्यो। अचेल त साँझ परेपछि खोलातिर जाने चलन आउन थालेछ। गैरकानुनी काम गर्न नयाँ नयाँ उपायहरू लगाउने गरिएको छ,’ श्रेष्ठले भने, ‘नदी र जंगल नजिक बस्ने समुदायलाई आत्मनिर्भर बनाउन सकेमात्रै संरक्षण प्रभावकारी बन्छ।’
उनले गोही संरक्षण मेलाले समुदायको नदीसँगको निर्भरता हटाउन भूमिका खेल्न सक्नुपर्ने बताए।