छठ पर्व नजिकिँदै गर्दा काठमाडौंको गौरीघाटस्थित बागमती नदी किनारमा झिलिमिली बनाइएको छ।
आकर्षक पण्डाल र लाइटिङ गरी घाट सजाइएको छ। घाटहरूमा लगाइएको झिलिमिली बत्तीले राति झनै मनमोहक देखिएको छ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। दोस्रो दिन साँझ प्रसादको रूपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खिर ग्रहण गरी खरना मनाउँछन्।
तेस्रो दिन अर्थात् मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ।
छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्री चढाइन्छ। प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ।
अर्घ्य दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्छन्। छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरू अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रूपमा मानिन्छ।
तस्बिरहरू: