बर्दियामा घरभित्र बालेको आगाको धुवाँमा निसास्सिएर तीन बालबालिकासहित चार जनाको मृत्यु भएको छ।
बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरमा रहेका दुई परिवारका चार जनाको निसास्सिएर मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी धीरजबहादुर शाहीका अनुसार भरत चन्दको घरभित्र आगो बालेका कारण उनका दुई वर्षीया छोरा कार्तिक चन्द र ७ वर्षीय कृष चन्दको मृत्यु भएको छ ।
त्यस्तै भरत चन्दकी बहिनी ३२ वर्षीया राधा बुढा र उनकी ११ वर्षीया छोरी मनीषा बुढाको पनि निसास्सिएर भएको छ। आगलागीबाट घाइते २८ वर्षीया करिष्मा चन्दको जिल्ला अस्सपतालमा उपचार भइ रहेको छ।
जाडो चल्न सल्काएको आगो घरभित्रै फैलन थालेपछि उनले भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ। उनी अचेत अवस्थामै बाहिर निस्किएकी थिइन्।
जिल्ला प्रहरी प्रमुख एसपी शाहीका अनुसार घरधनी भरत चन्द बाँकेको कोहलपुरमा रहेको समयमा घटना भएको हो।
‘भरत चन्द कोहलपुरमै काम गर्ने गर्नु हुँदो रहेछ,’ एसपी शाहीले भने ‘आगो बालेको समयमा बालबच्चा निस्सास्सिएर मृत्यु भएको जस्तो देखिएको छ। विस्तृतमा हामी बुझ्दै छौं।’
जाडो छल्नको लागि राति साढे १० बजेतिर उनीहरूले घर भित्र आगो बालेको र झ्याल ढोका सबै बन्द भएको हुँदा भित्र धुवाँ गुम्सिएका कारण बालबालिकासहित चार जनाको मृत्यु भएको हुनसक्ने एसपी शाहीले बताए।
‘दुई घर नजिकै भएको र घर मुली नभएको हुँदा नन्द, भाउजू सँगै बस्न भनेर राधा पनि दाइको घरमा गएको बुझिएको छ। उनीहरूले घरभित्र आगो बालेर सुतेको र धुवाँ फैलिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,’ एसपी शाहीले सेतोपाटीसँग भने, ‘घरभित्रका सबै अचेत भएपछि आगो बढ्दै गएर घरमा आगलागी पनि भएको छ।’
एक जनाको उद्धार गरी अस्पताल पुर्याए पनि शवहरू भने घरभित्रै रहेको शाहीले बताए।
‘बिहान सवा ६ बजेसम्म शवहरू निकालिएको छैन,’ उनले भने ‘अब केही बेरमा शव निकालेर पोष्टमार्टमका लागि अस्पताल लगिने छ।’
एसपी शाहीका अनुसार घाइतेसहित मृतक सबैजना एउटै कोठामा सुतेका थिए। आगाले त्यही कोठामा मात्रै क्षति पुर्याएको छ।