नेपालमा बसेर 'शंकास्पद गतिविधि गरिरहेको' आशंकामा अध्यागमन विभागले सात जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
यही क्रममा बिहीबार एक जना फ्रान्सेली महिलालाई काठमाडौंको लैनचौरबाट विभागले नियन्त्रणमा लिएको प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
उनीसहित अहिले अध्यागमनको नियन्त्रणमा पर्ने विदेशीको संख्या ७ पुगेको हो। जसमा २ जना मोरक्कोका, ३ जना चीनका र १ जना बंगलादेशी नागरिक छन्।
बिहीबार अध्यागमनले नियन्त्रणमा लिएकी महिला ११ वर्षयता १५ पटकसम्म नेपाल आउजाउ गरेको भेटिएको प्रवक्ता ढकालले जानकारी दिए।
‘लैनचौरमा टेरा साम्पा नामको बेकरी उद्योग खोलेको पाइएको छ,’ उनले भने, ‘उनीसहित सबै विदेशीको अनुसन्धान भइरहेको छ। हामी डिपोर्टको प्रक्रियामा लैजान्छौं।’
फ्रान्सकी महिलाले ११ वर्षयता अध्ययन, पर्यटक, कामदार लगायतका भिसा लिएर नेपाल आउजाउ गरिरहेको पाइएको हो।
‘भिसाको अवधि सकिन लाग्दा उनी टर्की, युएईतिर जाने अनि फेरि नेपाल आउने गरेको देखिएको छ,’ ढकालले भने, ‘अनुसन्धान चलिरहेको छ।’
ढकालका अनुसार नयाँ महानिर्देशक रामचन्द्र तिवारीले शंकास्पद तवरमा बसिरहेका विदेशी नागरिकप्रति कठोर बन्ने नीति लिएको र सोही अनुसार ‘एक्सन’ तीव्र पारिएको बताएका छन्।