दाङबाट हराएका बालक १० दिनमा आइतबार काठमाडौंमा भेटिएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ गणेशपुरका १२ वर्षीय आनन्द रेग्मी गत मंसिर ८ गते बिहान करिब साढे १० बजेदेखि सम्पर्कविहीन थिए।
कक्षा ६ मा पढ्दै गएका उनी घरबाटै सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि तुलसीपुर प्रहरीलाई आग्रह गरेका थिए।
आनन्दका बुवा जीवराजका अनुसार घरबाट छोरा र ३५ हजार रुपैयाँ हराएको थियो।
प्रहरीले आनन्दको खोजीका लागि फोटो सार्वजनिक गरेको थियो। तस्बिर हेरेका एक जना गाडीका कर्मचारीले आनन्द काठमाडौंको माछापोखरीमा झरेको सूचना प्रहरीलाई दिएका थिए।
परिवारले पनि आनन्द माछापोखरीमा गाडीबाट झरेको सूचना पाए। त्यसपछि बाबु जीवराज छोराको खोजीमा काठमाडौं पुगे। उनले काठमाडौंका विभिन्न प्रहरी चौकीमा छोराको खोजीका लागि निवेदन पनि दिएका थिए। तर उनी फेला परेका थिएनन्।
आइतबार आनन्द काठमाडौंमा फेला परे। बसपार्क क्षेत्रमा हिँडिरहेका उनलाई दाइका छोरा मिलनले फेला पारेका हुन्। मिलनले आनन्द फेला परेको खबर जीवराजलाई दिए।
‘छोरो फेला परेको खबर सुनेपछि आँखाबाट खुसीका आँसु झर्यो,’ उनले सेतोपाटीसँग भने, ‘म अहिले छोरासँगै छु, घर फर्कने तयारी छ।’
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार घरबाट ३५ हजार रुपैयाँ साथमा लिएर आनन्द निस्केका थिए।
‘उनी काठमाडौं पुगेछन्। फर्केर बाँकेको नेपालगञ्ज आएछन्। त्यहाँ चार हजार रुपैयाँमा साइकल पनि किनेका रहेछन्। त्यसपछि उनी सुर्खेतको वीरेन्द्रनगर गएछन्। बसमा साइकल राखेर उनी फेरि त्यहाँबाट काठमाडौं गएको कुरा सोधपुछबाट थाहा भएको छ,’ प्रहरी निरीक्षक मल्लले भने।