रूसी सेनामा भर्ना भएका रोल्पा त्रिवेणी गाउँपालिका–२ डाँडागाउँका ३३ वर्षीय अभिषेक बुढा विगत दुई महिनादेखि सम्पर्कविहीन छन्।
भदौ २६ गते रूसी सेनामा भर्ना हुन भन्दै अभिषेक काठमाडौंबाट उडेका थिए। उनले भिसा आइसकेपछि मात्र परिवारलाई आफू रूसी सेनामा भर्ती हुन जान लागेको बताएका थिए। उनी चिनेजानेकै एजेन्टमार्फत् रूस पुगेका हुन्।
‘मलाई उड्ने समय आएपछि मात्रै भन्नु भएको हो,’ अभिषेककी ३६ वर्षीया श्रीमती सबिता बुढाले भनिन्, ‘रोल्पामा बस्ने बुवाआमा र घरका अन्य परिवारले उहाँ रूस पुगेपछि मात्रै थाहा पाउनु भएको थियो।’
पछिल्लो समय उनीहरूको परिवार दाङ घोराहीको तेरौटेमा बस्दै आएको छ। उनीहरूका १६ वर्षीय छोरा किस्मत र १३ बर्षीय सुशान्त रावत गाउँको सरकारी बिद्यालयमा कक्षा १० र ७ मा पढ्दै छन्।
छोरी रिया भने घोराहीस्थित मेची महाकाली बोर्डिङमा कक्षा–२ मा अध्ययनरत छिन्। अभिषेकका बुवा नरजित र आमा कँवली रोल्पामै बस्छन्। अभिषेक परिवारका माइला सन्तान हुन्। जेठा दाजु ओभरसियर छन् भने कान्छा भाइ पनि बुवाआमासँगै बस्दै आएका छन्।
भदौ २६ गते नेपालबाट उडेका अभिषेक रूस पुगेदेखि नै नितरन्तर श्रीमती सबिता, छोराछोरी र बुवाआमा तथा दाजुभाइसँग कुरा गरिरहन्थे।
अभिषेकले रूस पुग्नासाथ सेनाको पहिलो क्याम्पमा पुगेको भन्दै ह्वाट्सएपमार्फत् सबितासँग कुरा गरेका थिए। उनी रूस पुगेपछि त्यहाँको सेनाको पहिलो क्याम्पमा रहेको भन्दै सबितालाई भ्वाइस म्यासेज पठाएका थिए।
त्यसपछि पनि उनले शारीरिक व्यायाम गरेका तस्बिरहरू पठाइरहन्थे।
पहिलो क्याम्पमा केही दिन राखेपछि दोस्रो क्याम्पमा आफूहरूलाई लगिएको कुरा असोज १५ गते बेलुकीपख अभिषेकले श्रीमती र घर परिवारलाई बताएका थिए। साथै उनले तालिमका लागि दोस्रो क्याम्पमा फोन नलाग्न सक्ने भन्दै परिवारलाई नआत्तिन भनेका थिए।
दोस्रो तालिममा भएको १२ दिनपछि असोज २६ गते दिउँसो २ बजेतिर अभिषेकले श्रीमतीलाई ह्वाट्स एपमा फोन गरे। आफूहरूलाई तेस्रो क्याम्पमा सार्न लागिएको तथा गाडी आइसकेको भन्दै उनी हतार गरिरहेका थिए।
‘यहाँ हाम्रो दोस्रो चरणको तालिम सकिसक्यो र तेस्रो क्याम्पमा लैजानका लागि गाडी पनि आइसकेको छ अहिले राखेँ,’ श्रीमानसँग दुई महिनाअघि भएको कुरा सम्झँदै सबिताले भनिन्, ‘तेस्रो क्याम्पमा पनि यही सिमले काम गरेमा कुरा गरौंला यदि सिमले काम नगरे नआत्तिनु।’
अभिषेक निकै हतारमा रहेको थाहा पाउँदापाउँदै सविताले श्रीमानलाई पैसा खाँचो परेकोले पठाइदिन भनिन्। अभिषेकले आफू सेनाको क्याम्प प्रवेश गरेको महिना दिन पनि नपुगेको हुँदा अब एक दुई दिनमै तलब आउन सक्ने कुरा गर्दै तलब आए पठाउने वाचा गरे।
त्यसयता अभिषेक सम्पर्कविहीन छन्। दुई महिना बढी समयदेखि रूसी सेनामा भर्ना भएका श्रीमान सम्पर्कमा नआउँदा परिवार चिन्तामा छन्। युद्ध ग्रस्त क्षेत्र रूसी सेनामा रहेका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेको कुरा सुनेदेखि सबिता बेचैन छिन्।
‘उहाँ लामो समयदेखि सम्पर्कमा नआउँदा मन निकै आत्तिएको छ,’ सबिताले भनिन्, ‘श्रीमान कतिबेला सम्पर्कमा आउनु होला र आवाज सुन्न पाउँला भनेर रातदिन एकपल पनि मोबाइल छोड्न सकेकी छैन।’
यो बीचमा सबिताले श्रीमानलाई दर्जनौं म्यासेजहरू पठाए पनि उताबाट कुनै प्रतिक्रिया आएको छैन।
‘न त्यहाँका कुनै नेपाली मेरो सम्पर्क छ, न त्यहाँबाट आजसम्म मलाई उहाँको बारेमा कसैले केही कुरा भनेका छन्,’ उनले सुस्केरा हाल्दै भनिन्, ‘यस्तो बेला आफ्नो नागरिकको अवस्थाबारे राज्यले छिटोभन्दा छिटो सत्य कुरा पत्ता लगाइदिनु पर्ने होइन?’
उड्ने समय नजिक आएपछि मात्रै अभिषेकले श्रीमतीलाई युद्ध भइरहेको देश रूसको सेनामा जान लागेको बताएका थिए। सबिताले पैसालाई लागि आफ्नो ज्यान दाउमा नराख्न भन्दै नजान भनेकी थिइन् तर उनले मानेनन्।
‘मैले त्यस्तो ठाउँमा जाने हैन भन्दै रोक्न खोज्दा उहाँले मान्नुभएन,’ सबिताले भनिन्, ‘यहाँ बसेर के गरी बच्चाबच्ची पढाउनु? तिम्लाई कसरी सुख दिनु म रूसको सेना भए राम्रो कमाइ हुन्छ र घर व्यवहार चलाउन सजिलो हुन्छ भन्नु भएको थियो।’
परिवारलाई सुखका साथ राख्ने र सन्तानलाई उचित शिक्षादीक्षा दिने सोचमा अभिषेकको परिवार दाङ झरेको थियो। अभिषेकले कोठा भाडा लिए। ऋण लिएर एउटा अटोरिक्सा किने। दुर्भाग्य, अटो किनेको केही समयको अन्तरालमै कोरोनाको कहर चल्यो। लकडाउनमा अटो चल्ने कुरै भएन। त्यही भएर घोराहीमा कोठा भाडामा बस्दै आएको अभिषेकको परिवार गृह जिल्ला रोल्पामा फर्किन बाध्य भयो।
अभिषेकलाई रोल्पा फर्किएपछि केही होला भन्ने आशा थियो। कोरोना केही मथ्थर भएपछि अभिषेकको परिवार फेरि घोराहीमै फर्कियो। अब त केही होला भन्ने आशा थियो। अटो रिक्साबाट सोचे जस्तो कमाइ नभएपछि उनी बिचलित थिए। अटो बेचेर पेटी ठेकेदारका रूपमा सानोतिना ठेक्कापट्टाको काममा हात हाले। अभिषेकको मन त्यसमा पनि रमाउन सकेन। चाहे जस्तो सफलता नमिलेपछि उनी अब देश छोड्नै पर्छ भन्ने सोचमा पुगेको सबिताले बताइन्।
‘अब यहाँ जे काम गरे पनि पैसा कहिल्यै कमाइ हुँदैन र ऋण तिर्न पनि सकिँदैन। त्यसैले अब म विदेश जान्छु भन्नु हुन्थ्यो,’ सबिताले भनिन्।
त्यही चक्करमा उनी एक जना एजेन्टको सम्पर्क पुगे। ती एजेन्टले पोल्यान्ड पठाइदिने भनेपछि दुई लाख रुपैयाँ बुझाएको भए पनि दुई वर्षसम्म पोल्यान्ड पठाएनन्। दुई लाख डुबेपछि घरमा पनि झगडा परिरहन्थ्यो। त्यही भएर सुटुक्क उनले रूस जाने योजना बनाए।
एजेन्टमार्फत् सबै प्रक्रिया गरी भिसा आइसकेपछि मात्रै जाने समयमा अभिषेकले आफू रूसी सेनामा भर्ती हुन जान थालेको कुरा गरेको हुँदा आफूले रोक्न नसकेको सबिता बताउँछिन्।
‘सबै तयारी पूरा भइसक्यो अब म जे जस्तो भए पनि जान्छु भनेपछि मेरो केही लागेन,’ सबिताले भनिन्, ‘मैले त त्यस्तो ठाउँमा जाने हैन भनेर रोक्न खोजेकै थिएँ।’
एजेन्टले रूसी सेना बनेपछि खटिएको ठाउँ अनुसार डेढ लाखदेखि साढे तीन लाखसम्म मासिक कमाइ हुने आश्वासन दिएका थिए। त्यही भएर श्रीमानले रूस रोजेको सबिताले बताइन्।
‘उहाँको अवस्था सरकार वा त्यहाँ रहेका दाजुभाइ कसैले मलाई दिए हुन्थ्यो,’ अन्तिममा सबिताले भनिन्, ‘मन उहाँको कुरा सुन्न निकै छटपटाएको छ र छोरा छोरी निकै आत्तिएका छन्।’