जुम्लाको तिला गाउँपालिका– १ पिरूका ६१ वर्षीय बिक्रम बस्नेत बुधबार दिउँसो दाङको तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा भेटिए।
बिक्रमको दाहिने आँखामा समस्या देखिएपछि उनी उपचार गर्न जुम्लाबाट दाङ आएका रहेछन्। मेलापातका क्रममा चोट लागेपछि आँखामा समस्या देखिए पनि तत्कालै उनले त्यति वास्ता भने गरेनन्।
पछि बेस्सरी दुख्न थालेपछि उनी धामी, झाँक्रीलाई आँखा देखाउन गए। झाक्रीहरूले देवता लागेको र आफैँ निको हुने भनेर उनलाई फर्काइदिए।
तर उनलाई निको भएन, झन आँखा दुख्न थाल्यो। त्यसपछि बल्ल उनी मेडिकल गए। मेडिकल संचालकले दिएको औषधि लगाउन थाले। महिना दिन लगातार त्यो औषधि प्रयोग गर्दा पनि आँखा पटक्कै सञ्चो भएन, बरू दुखाइ झन झन बल्झिँदै गयो। उनी उपचारका लागि दाङ आए।
जुम्लादेखि उपचारका लागि दाङ आउने निश्चय गरे। दाङ हिँडेका बस्नेतले सुर्खेतमा नेत्र विषेशज्ञ समीन शमशेर थापासँग पनि भेटे।
नेत्र विषेशज्ञ थापाले बिक्रमको आँखा हेर्नासाथ भनिदिए, ‘तपाईंको आँखाको नानी प्रत्यारोपण गराउनु राम्रो हुनेछ।’
बिक्रम आँखाको नानी प्रत्यारोपणका लागि अस्पताल आएका हुन्।
नेत्ररोग विशेषज्ञ डा. ज्योती सापकोटाका अनुसार, बेलैमा उपचार नहुनु र जस्तो पायो त्यही औषधि प्रयोग गरेकै कारण बिक्रमको आँखाको नानी पग्लिएर काम नलाग्ने भएको हो।
आँखाको डाक्टरलाई नदेखाइ जे पायो त्यही औषधि राख्दा आँखाको ज्योति नै गुम्ने सक्ने भएकाले त्यसो नगर्न डाक्टर सापकोटाको सुझाव छ।
कडा औषधिको प्रयोगले बिक्रमको नानी पग्लिएर काम नलाग्ने भएको हुँदा नानी प्रत्यारोपण गर्नुपर्ने अवस्था निम्तिएको उनले बताइन्।
अस्पतालले नि:शुल्क आँखाको नानीको प्रत्यारोपण गरिदिएपछि अहिले बिक्रम खुसी छन्।
‘डाक्टरले नानी प्रत्यारोपणपछि पहिले जस्तै आँखा देख्नु हुन्छ भन्नु भएको छ,’ उनले भने ‘त्यस्तो भइदिए म फेरि मेलापात जान सक्ने हुन्छु।’
अर्कौ यस्तै घटनाका अर्का बिरामी पनि रक्षाचौरमा भेटिए। उनी दाङको राजपुर गाउँपालिका– ९ का ७० वर्षीय प्रशुराम यादव हुन। दाहिने आँखा काम गर्ने क्रममा काँडाले नराम्ररी घोच्यो। राजपुर नेपाल–भारतको सीमा नाका क्षेत्रको विकट भूमि हो । यादव उपचार गर्न अस्पताल जानुको सट्टा घरमै आँखा सेक्दै बसे।
सञ्चो होला कि भनेर झार फुक पनि गरे। तर दुखाइ झनझन् बढ्न थाल्यो।
हप्ता दिनपछि लमही आँखा अस्पताल पुगे। चेकजाँच पछि आँखाको नानीमा गम्भीर चोट लागेको भन्ने थाहा पाए। आँखा शल्यक्रिया गरेपछि अहिले उनी पनि खुसी छन्।
रोल्पा गंगादेव – ४ की ३५ वर्षीया रिता वलीलाई गत साउन १५ गते आँखामा गम्भीर चोट लाग्यो ।
बिहान ६ बजेतिर रोटी पकाउँदै गर्दा एकाएक रिँगटा लागेपछि उनी अँगेनामै लडेकी थिइन्। उनको दाहिने हात र देब्रे आँखाको तल्लो भागको ढकनीमुनि पूरै जलेको छ। त्यो जलनले आँखामुनिको भागमा समेत क्षति पुर्यायो।
रिता पनि गाउँ-घरको उपचार हुँदै स्थानीय मेडिकलमा उपचार गराउन गइन्।
औषधिको प्रयोगले पोलेको हातको घाउ केही समय पछि बिसेक हुँदै गयो। तर, देखिने अनुहार र आँखा मुन्तिरको घाउ जस्ताको त्यस्तै थियो।
तुलसीपुरस्थित आँखा अस्पतालमा बुधबार सेतोपाटी पुग्दा उनी शल्यक्रिया गर्न लाइनमा बसिरहेकी थिइन।
उनको घाउ पुर्न कष्मेटिक सर्जरी गरिने चिकित्सक ज्योति सापकोटाले बताइन ।
जुम्लाका बिक्रमको सहयोगका लागि आएका भाइ मेघबहादुरले अझै पनि जुम्लामा आँखा रातो भएमा धामी वा झाँक्रीकोमा गइ अक्षता फुकाउने, देउता बिग्रिएको ठानेर भाकल गर्ने चलन रहेको बताए।
रोल्पाबाट आएकी वलीले पनि सुरूमा आफूहरू धामीझाँक्रीकोमा नै जाने गरेको बताइन।
४१ प्रतिशत आँखाका बिरामी अस्पताल जाँदैनन्
राप्ती आँखा अस्पताल रक्षाचौरको तथ्यांकअनुसार साविक राप्ती अञ्चलका पाँच जिल्लामा ०.८७ प्रतिशत अन्धोपनाका बिरामी थिए।
सन २०१० मा गरिएको सर्भेक्षणमा त्यो संख्या घटेर ०.१३ मा झरेको थियो ।
तर, पछिल्लो समय लुम्बिनी प्रदेशमा बाँके र बर्दिया जिल्ला पनि थपिएपछि प्रदेशमा भने अन्धोपनाका बिरामी बढेका छन।
सन २०१९ मा गरिएको सर्वेक्षण अनुसार लुम्बिनी प्रदेशमा २.१ प्रतिशत अर्थात एक लाख ९५ हजार १ सय २० जना अन्धोपनाका बिरामी थिए।
ती मध्ये एक लाख १२ हजार नौं सय ६४ जना मोतीबिन्दुको कारणले अन्धोपन भएका बिरामी थिए ।
प्रदेशका १२ वटै जिल्लामध्ये रूपन्देही जिल्लामा २३ हजार सात सय ८५ जना मोतीबिन्दुका बिरामी फेला परेका थिए।
कपिलवस्तुमा १४ हजार आठ सय ७१ जना मोतीबिन्दुका बिरामी फेला परेका थिए ।
त्यस्तै दाङमा १४ हजार चार सय २७, बाँकेमा १३ हजार पाँच सय ४६, बर्दियामा दश हजार ६ सय ४१, नवलपरासीमा आठ हजार तीन सय २२, गुल्मीमा पाँच हजार पाँच सय ९१, पाल्पामा पाँच हजार चार सय ३५, प्युठानमा पाँच हजार तीन सय ५०, रोल्पामा पाँच हजार दुई सय ४८, अर्घाखाँचीमा चार हजार चार सय ५८ र रुकुम पूर्वमा एक हजार दुई सय ९१ जना मोतीबिन्दुका बिरामी फेला परेका छन।
सबै भन्दा बढी रूपेन्देहीमा र सबै भन्दा कम मोतीबिन्दुका बिरामी रूकुमपूर्वमा फेला परेका छन्।
मोतीबिन्दु, जलविन्दु र आँखाको पर्दामा देखिने समस्याका कारण अन्धोपनाका बिरामी बढेको थापाले बताए।
जनचेतनाको कमीले गर्दा अझै पनि ४१ प्रतिशत आँखाका बिरामी उपचार गर्न जरूरी नै नठान्ने गरेको सर्भेक्षणले देखाएको छ।
राप्ती आँखा अन्तरगतकै कपिलवस्तुको छन्द (कालेबाबु) बहादुरगञ्ज नारायणी आँखा अस्पतालका प्रमुख प्रशासक सम्शेर थापाका अनुसार २० प्रतिशत आँखाका बिरामी उपचारको पहुँच बाहिर छन भने आर्थिक अवस्था कमजोर भएकै कारण ३६ प्रतिशत बिरामी उपचार लिनबाट वञ्चित छन् ।
राप्ती आँखा अस्पतालले दृष्टिविहीनता न्यूनीकरणको लागि स्थानीय पालिकासँग साझेदारी कार्यक्रम,उपचारबाट निको नहुने न्यूनदृष्टि तथा दृष्टिविहीनहरूको पुनर्स्थापना कार्यक्रममा साझदोरी गर्दै आएको छ ।