तमु गुरूङ समुदायको एउटा मौलिक नृत्य हो 'सोरठी नाच'। यो सोरठी नाच विभिन्न चाडपर्व तथा परम्परागत कार्यहरूमा नाच्ने गरिन्छ। यसलाई गुरूङ समुदायमा नचनि नाच भन्ने पनि गरिन्छ।
यो सोरठी नाचलाई पौराणिक लोक नाटक पनि भन्ने गरिन्छ। मौलिक लोकलयमा आधारित यो सोरठी नाचमा पौराणिक तथा ऐतिहासिक देवी देवताहरूको कथामा लोक लयमा मारूनीसहित गाउने नाच्ने गरिन्छ।
सोरठी नाच र मारूनी नाच झन्डै उस्तै प्रकृतिका हुन्छन्। सोरठीमा पनि मादले तीन जना, फुर्सुङ्गे एक जना र दुई जना मारूनी हुन्छन् भने गीत गाउनेहरूले गीतको गुरूबालाई पछ्याउने गरिन्छ। यस्तै फुर्सुङ्गेले मारूनीलाई डोर्याएर नचाउने गर्छ।
सोरठीमा पुरूषले महिलाको पहिरन लगाएर मारूनी बनेर नाच्ने गर्छन् भने फुर्सुङ्गेको पनि आफ्नै किसिमको पहिरन रहेको हुन्छ।
गुरूङ समुदायमा विशेष गरी छेवर, बिहे, भात खुलाई, पूजा, अर्घु आदिमा सोरठी नाच देखाइने गरिन्छ।
सोरठी नाच देखाउनको निम्ति कार्य रहेको घरपरिवारको तर्फबाट नापे सहितको निम्तो पुगेपछि सोरठी समूहले नाच लिएर देखाउन आउने परम्परा रहेको छ।
यस्तै, सोरठी नाच सकिसकेपछि घरपरिवारको तर्फबाट आ-आफ्नो दक्ष अनुसारको दक्षिणा दिएर बिदाई गर्ने चलन रहीआएको छ।
गोरखाको सिरानचोकस्थित पात्ले गाउँको सोरठी समूहको मौलिक सोरठीका केही दृश्य: