बाँकेका सर्वसाधारणलाई जिबी (गितेन्द्र राई) ले एक करोड नौ लाख बढी ठगी गरेको पाइएको छ।
राईको समूहले नेपालगञ्जमा समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड सञ्चालन गरेको थियो। नेपालगञ्जको सुर्खेत रोडमा कार्यालय खोलेर कारोबार गर्दै आएको राई नेतृत्वको सहकारीले प्रदान गरेको चेक साटिन छोडेपछि पीडितले प्रहरीमा जाहेरी दिन सुरू गरेका थिए।
ग्यालेक्सी फोरके टिभी सञ्चालन गर्ने गोरखा मिडिया नेटवर्क सञ्चालक राईविरूद्ध गत वर्ष चैतमा नै ३२ जना बचतकर्ताले एक करोड नौ लाख सात सय २४ रुपैयाँ ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बाँके प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सेतोपाटीलाई बताए।
२०७९ चैत २३ गते सुरूमा एकैसाथ २४ जना बचतकर्ताले एक करोड सात सय २४ रुपैयाँ बिगो बराबर ठगी गरेको भन्दै सहकारी सञ्चालकविरूद्ध उजुरी दिएको एसपी बोहराले जानकारी दिए।
पीडितको उजुरी पछि सञ्चालक राईसहित आठ जनाविरूद्ध अदालतबाट पक्राउ पूर्जीसमेत पहिले नै जारी भइसकेको पनि एसपी बोहराले बताए।
सहकारीको अध्यक्षमा राईकै नाम रहेको र हाल उक्त सहकारी बन्द अवस्थामा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सेतोपाटीलाई बताए।
‘हाल त्यो सहकारी बन्द छ र त्यसका सञ्चालक पनि फरार छन्,’ डाँगीले भने, ‘हामी आउनुभन्दा पहिले गत वर्ष चैतमै पीडितले जाहेरी दिएका रहेछन्।’
अरू पनि थप पीडित हुन सक्ने भन्दै प्रहरीले अन्य बचतकर्तालाई पनि प्रमाणसहित जाहेरी दिन सार्वजनिक रूपमा आग्रह गरेको छ।
‘समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक तथा कर्मचारीले बचतकर्तासँग लाखौं रकम ठगी गरेको भनेर ठगीसम्बन्धी कसुर मुद्दा अनुसन्धानका लागि हालसम्म ३२ जनाले जाहेरी दरखास्त दिएको भए पनि अरू कोही पीडित भए उजुरी लिएर आउनुहोस् भनेर सार्वजनिक रूपमा आह्वान गरिएको हो,’ डिएसपी डाँगीले भने, ‘त्यो सार्वजनिक सूचनापछि केहीले फोन सम्पर्क गरी आफू पनि पीडित रहेको बताउनु भएको छ। हामीले उहाँहरूलाई प्रमाणसहित आउन आग्रह गरेका छौं।’
मुद्दाहरूमा सञ्चालकको रूपमा राईको नाम मात्रै थाहा भएको तथा हाल सहकारीको कार्यालय समेत बन्द रहेको भन्दै थप कुरा अनुसन्धानपछि मात्रै भन्न सहज हुने उनले बताए।
‘त्यो सहकारीबाट कसले कति रकम कसरी हिनामिना गरे भन्ने कुरा अनुसन्धानपछि खुल्ला,’ डिएसपी डाँगीले भने, ‘हामी आउनुभन्दा पहिलेकै घटना भएको हुँदा अनुसन्धान गर्नुपर्ने भएको छ।’
सहकारीमा जम्मा भएको बचतकर्ताको रकम अपचलन गरी ठगी गरेको भनेर गत चैतमै ३२ जनाले ठगीसम्बन्धी कसुरमा उजुरी दिएको भए पनि त्यसबारे बिस्तृत अध्ययन तथा अनुसन्धान हालसम्म भएको थिएन।