दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङभित्र मृत फेला परेका शिवराज केसीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
गोली हानेर हत्या भएको अवस्थामा कोइलाखानीको सुरूङभित्र पुस १३ गते ४५ वर्षीय शिवराज केसीको शव फेला परेको थियो। उनको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले सेतोपाटीलाई बताए।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुनसहित भरूवा बन्दुक दिने व्यक्ति रहेको प्रहरी उच्च स्रोतले बतायो।
पुस ८ गते घोराही बजार जान्छु भनेर निस्केका घोराही उपमहानगरपालिका-६ अघराका शिवराजको शव पुस १३ गते बंगलाचुली गाउँपालिका-४ स्थित कोइलाखानीको सुरूङभित्र फेला परेको थियो।
घटनापछि शेरबहादुर र उनकी श्रीमती दीपा भारतको नयाँ दिल्ली पुगेका थिए।
भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला ल्याइएको यसअघि नै जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताएका थिए।
‘श्रीमतीसँगको अनैतिक सम्बन्धको बहाना बनाई नियोजित तरिकाले शिवराजको हत्या भएको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्छ,’ मल्लले भनेका थिए, ‘श्रीमान-श्रीमतीको मिलेमतोमा योजनाबद्ध रूपमा जंगल क्षेत्रमा बोलाउन लगाई सुरूङभित्र लगेर गोली हानी हत्या योजना अनुसार भएको देखिन्छ।’
रोजगारीको सिलसिलामा भारत आउजाउ गरिरहने शेरबहादुरले श्रीमती दीपा र शिवराजसँगको सम्बन्ध थाहा पाएपछि हत्याको योजना बुनेको अर्का प्रहरी अधिकारीले बताउँछन्।
प्रहरीले शिवराजको हत्यामा प्रयोग भएको भरूवा बन्दुक र त्यसको प्रयोग भएको खोकासमेत बरामद गरिसकेको जानकारी दिएको छ।
‘बन्दुक बरामद भएपछि बन्दुक दिने व्यक्तिलाई समेत नियन्त्रणमा लिएका छौं,’ ती प्रहरी अधिकारीले भने।
अहिलेसम्म शेरबहादुरले शिवराजको हत्या आफू एक्लैले गरेको बयान दिँदै आएको प्रहरी बताउँछ।
दीपाले भने श्रीमान शेरबहादुर, शिवराज सँगै आफू पनि कोइलाखानीको सुरूङ बाहिरसम्म गए पनि भित्र भने नगएको बयान दिँदै आएकी छन्।
‘शिवराजको हत्याको योजनाबारे श्रीमतीलाई पनि पहिल्यै थाहा रहेको खुलेको छ,’ ती प्रहरी अधिकारीले भने, ‘सुरूङभित्र म प्रवेश गरिनँ भन्ने उनको दाबी बयानमा छ।’
प्रहरी भने श्रीमतीसँगको सम्बन्ध थाहा पाएपछि योजनाबद्ध रूपमा श्रीमान-श्रीमतीको मिलेमतोमा शिवराजको हत्या भएको दाबी गर्छ।
‘पक्राउ परेका चार जना व्यक्तिले शिवराजको हत्या योजना मिलेर बुनेका थिए कि भनेर आशंका गर्ने ठाउँ छ,’ प्रहरी अधिकारीले भने, ‘कोइलाखानीको सुरूङसम्म दीपाले शिवराजलाई बोलाउनु, गोली हान्ने बन्दुक अर्कैले दिनु र हत्यापछि उनीहरू दिल्ली पुग्दासम्म घटनामा अप्रत्यक्ष रूपमा उनीहरुको पनि संलग्नता थिएन भन्ने कुरा नकार्न मिल्दैन।’
सुरूमा शिवराजसँग पैसाको बार्गेनिङ भएको हुन सक्ने र कुरा नमिलेपछि उनको हत्या भएको हुनुपर्ने प्रहरी अधिकारीको अनुमान छ।
सम्बन्धित समाचार:
बजार जान हिँडेका पुरूष पाँच दिनपछि कोइलाखानीको सुरूङमा मृत फेला
कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको खुल्यो, तीन जना पक्राउ