दाङको तुलसीपुर उपमहानगरपालिका–१९, पिपल गाउँका ३७ वर्षीय रामचन्द्र खड्का रुसबाट फर्केको एक हप्ता भयो। उनी ‘उपचार बिदा’ को समयमा घर आएका हुन्।
उनका अनुसार रुसी सेनामा भर्ती भएका अधिकांश नेपालीहरू ज्यान जोगाउन भागेरै भए पनि फर्किन चाहन्छन्। कतिले त घरबाट पैसा पनि मगाएका छन् तर भाग्न पाएका छैनन्। रामचन्द्र भने घाइते भएका कारणले रुसस्थित नेपाली दूतावास र गैरआवसासीय नेपाली संगठन (एनआरएन) सहयोगमा फर्किन सके।
घर फर्किन सकेकोमा उनले आफूलाई ‘भाग्यमानी’ ठानेका छन्।
गत असोजमा रुसी सेनामा भर्ती भएका रामचन्द्र १५ दिनको तालिमपछि युद्ध मैदानमा खटाइएका थिए। युद्धमा गएको दुई हप्ता नपुग्दै (कात्तिक १२ गते) राति उनलाई युक्रेनी सेनाको गोली लाग्यो।
धन्य! गोली बुलेट प्रुफ ज्याकेट र हेलमेट लगाएका थिए। उनले भने, ‘हेलमेट र बुलेट प्रुफ ज्याकेट नभएको भए म त्यहीँ मर्ने थिएँ।’
बुलेट प्रुफ ज्याकेटबाट चिप्लिएको गोली पेटको तल्लो भाग छेडेर निस्क्यो। टाउकोमा गोलीले असर गरेन। गोडामा गोली लाग्यो।
रुसमै दुई महिना उपचार भयो। पेटको घाउ करिब निको भएको छ। उनका अनुसार गोडाको घाउ निकै ठूलो छ तर उनले देखाएनन्। घुँडामुनि लागेको गोली अझै निकालेको छैन। गोलीका कारणले गोडा सुन्निएको छ तर बिस्तारै हिँड्न सक्छन्। गोली निकाल्न चाहेका छन् तर पैसा जुटेको छैन।
रामचन्द्रका खटिएको युद्धस्थल अत्यन्तै चिसो थियो। तापक्रम माइनस ८ देखि माइनस २५ डिग्री सेल्सियससम्म हुन्थ्यो।
उनीसँगै अरूलाई पनि गोली र बमको छर्रा लागेको थियो। ड्रोनबाट निगरानी भइरहेको थियो। हलचल नगर्न निर्देशन आयो। त्यति बेला उनले जीवन यति नै रहेछ भन्ने ठाने। घर परिवार र आफन्त सम्झे। परिवारको बिचल्ली हुने भयो भन्ने लाग्यो।
उद्धार गरेर केही पर पु¥याउँदा रामचन्द्रलाई फेरि बमको छर्रा लाग्यो। शरीर रगताम्मे थियो। पीडाले बरु मर्न पाए हुन्थ्यो भन्ने लाग्यो।
नेपालमा सशस्त्र द्वन्द्व हुँदा पनि रामचन्द्र माओवादी लडाकु थिए। उनले भने, ‘रुस–युक्रेन युद्ध नेपालमा सरकार र माओवादीबीच भएको युद्धजस्तो मात्र होइन।
आधुनिक हातहतियार र प्रविधि समेतको युद्ध हो, हामीले कल्पना गर्न नसकिने खालको।’
नेपालमा सशस्त्र द्वन्द्व अन्त्य भएपछि रामचन्द्र तीनपटक वैदेशिक रोजगारीमा गए। त्यसपछि तुलसीपुरमा जग्गा भाडामा लिएर कागतीखेती गरे। उनले सोचेजस्तो आम्दानी नभएपछि खेती छाडे। फेरि बेरोजगार भए।
अन्ततः उनी धेरै कमाइ हुने लोभमा ऋण काढेर रुसी सेनामा भर्ती भए। उनका अनुसार रुस जाँदा झन्डै ७ लाख रुपैयाँ खर्च भयो। सेतोपाटी प्रतिनिधि पुगेकै दिन उनका साहु पैसाको ताकेता गर्न आएका थिए। केही दिनको भाका राखेर पैसा दिने गरी लिखत गर्न वडा कार्यालय जाने तयारीमा थिए।
रामचन्द्रले रुसबाट बिमाको रकम पाउन बाँकी छ। रकम पाउन कागजात मिलाउने प्रक्रिया चल्दै छ। त्यो रकमले ऋण तिर्न पुग्छ।