सल्यानमा एक पुरूषले आफूसँगै बस्दै आएकी एक महिलाको हत्या गरेका छन्।
जिल्लाको छत्रेश्वरी गाउँपालिका– ५ का २३ वर्षीय मोहन पुनले २८ वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले जानकारी दिए।
उनीहरू दुई महिना अघिदेखि सँगै बस्दै आएका थिए।
जिल्लाकै त्रिवेणी गाउँपालिका– ४ की सीमालाई गत मंसिर १० गते मोहनले घरमा ल्याएका थिए। सामाजिक परम्परा अनुसार बिहे नगरे पनि उनीहरू सँगै बस्दै आएका थिए।
प्रहरी निरीक्षक धमलाका अनुसार कवर विवाहित महिला हुन्। त्यस्तै मोहनको विगतमा अरू विभिन्न महिलासँग पनि सम्बन्ध रहेको देखिएको छ।
मोहनले आइतबार राति सीमालाई कुटपिट गरी घरभित्रै हत्या गरेको खुलेको छ। सीमाको शरीरका विभिन्न भागमा कुटपिटको निलडाम देखिएको धमलाले बताए। मोहनको कुटपिटबाट सीमाको खुट्टा समेत भाँचिएको देखिएको छ।
सोमबार दिउँसो घरभित्रै सीमाको शव हत्या गरेको अवस्थामा फेला परेको थियो।
स्थानीयले सूचना दिएपछि घटनास्थल पुगेको प्रहरीले सीमाको हत्यामा संलग्न रहेको आरोपमा मोहनलाई पक्राउ गरेर अनुसन्धान थालेको धमलाले बताए।
प्रहरीका अनुसार घरमा मोहन र सीमा मात्र बस्थे। उनीहरूको घर एकान्तमा छ। मोहनले सीमालाई दाउरा लगायतले हानेर अचेत तुल्याएपछि रातभर मदिरा सेवन गरेको र बिहान उठेर हेर्दा उनको मृत्यु भइसकेको भन्ने बयान प्रहरी समक्ष गरेका छन्। उनले घरबाहिर आक्रमण गरी अचेत तुल्याएपछि सीमालाई भर्याङबाट माथिल्लो तलामा लगेको पनि प्रहरी अनुसन्धानबाट खुलेको छ।
सीमाको माइती पक्षको अनुरोध अनुसार घटनास्थल सुरक्षित राखेर मुचुल्का तयार पारी राति अबेर मात्रै शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल खलंगा पुर्याइएको छ। घटनाबारे अनुसन्धान हुन बाँकी रहेकाले हत्याको कारण पछि सार्वजनिक गर्ने प्रहरीले बताएको छ। ।