दाङको विकट गाउँपालिका बंगलाचुलीको तापालेक सुख्खा गाउँको रूपमा चिनिन्थ्यो।
जीविकाको अभिन्न अंग खानेपानी नै नभएपछि त्यहाँका मानिसहरू दाङको तुलसीपुर, घोराही आदि ठाउँमा बसाइँ सरे।
गाउँ सुख्खासँगै निर्जन पनि बन्दै गयो। त्यहाँका घरहरू भग्नावशेष बन्न थाले।
अहिले तापाको परिचय बदलिएको छ।
गाउँमै खानेपानी पुगेपछि र धारामा कलकल पानी झर्न थालेपछि उनीहरूले जुनी फेरेको अनुभूति गर्न थालेका छन्।
स्थानीयवासीको परिश्रम र गाउँपालिकाको पहलमा गत कात्तिक २३ गते गाउँमा पानी पुगेको हो। त्यसमा सामुदायिक वन र विद्युत प्राधिकरणको होस्टेमा हैंसे रहेको स्थानीयले बताए।
‘श्रीमान कमाउन गइजाने घरमा साना नानीबाबु एक्लै छाडेर कहिले राति बाह्र बजेसम्म र कहिले बिहान चार बजे नै पँधेरो पुग्नुपर्थ्यो,’ स्थानीय गमला पुनले भनिन्, ‘एक गाग्री पानी भर्नकै लागि मध्यराति जाग्नु पर्ने समस्या हटेको छ।’
तापा गाउँसम्म एम्बुलेन्स तथा जिपहरू पुग्ने बाटो छ। बाटो पुगेको पनि केही समयमात्रै भयो।
घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योग र लमहीको सम्राट सिमेन्ट उद्योगले मिलेर तापा जाने बाटोको केही खण्ड कालोपत्रे पनि गरिदिएका हुन्।
ती उद्योगले यहीबाट भएर उद्योगलाई आवश्यक पर्ने चुन ढुंगा उत्खनन् गरी लैजाने गरेका छन्।
यसरी मोटरबाटाको समस्या समाधान भएको तापागाउँमा पानीको हाहाकार समेतको अन्त्य भएपछि स्थानीयले राहतको सास फेरेका छन्।
६२ वर्षीया बलिका पाण्डेले पानीको धारा र बाटो घर आँगनै पुगेपछि गृहिणीलाई धेरै सहज भएको बताइन्।
‘आज पानीको धारा र बाटो आएपछि सबै चकित छौं,’ उनले भनिन् ‘यो जुनिमै यस्तो सुविधा आउला भनेर कल्पना पनि गरिएको थिएन,’ उनले भनिन्।
स्थानीय ४५ वर्षीय तकमान नेपालीले तापाको घर–घरमा पानीका धारा पुग्नुलाई विकास मान्नुपर्ने बताए।
उनले तापागाउँ तल पनि पानी र बिजुलीको समस्या रहेको बताए।
‘त्यहाँ बिजुलीको पोल र तार टाँगेको वर्षौं भयो तर अझै बत्ती जडान भएको छैन,’ उनले भने ‘पानी र बिजुली बत्ती पुगे त हाम्रो संसारै झलमल हुन्थ्यो।’
अहिले रातमा घोराही र आसपासको बिजुलीको उज्यालो हेरेर चुकचुकाउनुपर्ने अवस्था रहेको उनले बताए। तापालेक भनेर समेत चिनिने त्यस गाउँमा हाल ४२ घरधुरी छन्।
खानेपानी तथा बस्तुभाउलाई खुवाउने पानीका लागि वर्षौंदेखि दुःख झेल्दै आएकाले यसपटक धारा पुर्याइ छाड्ने अठोट गरे। उनीहरूले ४२ घरधुरीबाट एक–एक हजार रूपैयाँ संकलन गरेको बताए।
त्यसपछि गाउँपालिकका उपप्रमुख भक्त जिसीको दैलोमा पुगेर समस्या चुहाएको उनीहरूले बताए।
‘पानी तापागाउँसम्म पुर्याउन लाग्ने खर्चको अनुमानित बजेटका बारेमा सामूहिक छलफल भयो। त्यसको नेतृत्व शिवराज पाण्डेले गर्नुभएको थियो,’ गमलाले भनिन्।
पाण्डे हाल त्यस खानेपानी योजनाको अध्यक्ष समेत छन् ।
स्थानीय सरस्वती सामुदायिक वनबाटै घोराहीस्थित सगरमाथा सिमेन्ट उद्योग र लमहीको सम्राट सिमेन्ट उद्योगले आवश्यक कच्चा पदार्थ चुनढुंगा लैजाँदै आएका थिए।
सरस्वती सामुदायिक वनबाटै व्यापारीहरूले खोटो संकलनसमेत गर्थे। त्यहाँ खानेपानीको मुहान भएकाले उपाध्यक्ष जिसीले वनसँग समन्वय गरिदिएको गमलाले बताइन्।
‘तापागाउँमा पानी पुर्याउन झन्डै २० देखि २२ लाखसम्म लाग्ने अनुमान भयो। पानी लिफ्टिङ गर्न छुट्टै ट्रान्सफर्मर आवश्यक पर्थ्यो। तर बिजुली थिएन। गाउँपालिकाका उपाध्यक्ष जिसीले घोराहीस्थित विद्युत प्राधिकरणको कार्यालयमा पुगेर प्रमुखसँग नयाँ ट्रान्सफर्मर उपलब्ध गराउन आग्रह गरे,’ उनले भनिन्।
कार्यालयले २५ केभिएको नयाँ ट्रान्सफर्मर असार अन्त्यतिर पठाइदिएपछि गाउँमा खानेपानी पुर्याउने योजना सफल भएको उनले बताइन्।
‘यसबीचमा सामुदायिक वनले पानीको धारा घर–घरमा पुर्याउन लाग्ने खर्च दिने भयो। विद्युत पोल पनि दियो। तार टाँग्ने र ट्रान्सफर्मर जडान गर्ने काम पनि गरिदियो,’ उनले बताइन्।
तापागाउँमा सुख्खा याममा बिहान आधा घन्टामात्रै पानी आउँछ।
‘पानी उति पर्याप्त त हैन,’ गमलाले भनिन्, ‘तै पनि हाम्रा दुःखका दिन भने अन्त्य भएका छन्।’