रूकुम पश्चिमको आठबिसकोट नगरपालिका– १२ का ५३ वर्षीय डण्डीराम कुसारी माघ १७ गते बुधबार १७ लाख रुपैयाँ लिएर राडी बजारस्थित प्रभु बैंकको शाखामा पुगे।
२३ वर्षीय माइला छोरा गोबिन्द कुसारी पोर्चुगलको यात्रामा रहेको हुँदा छोरालाई पठाउने एजेन्ट बेदुराम थापाको खातामा आइपिएस गरी १७ लाख रुपैयाँ पठाउन भनेर डण्डीराम बैंक पुगेका थिए।
डण्डीरामले पैसा झोलामा राखेर लगेका थिए। उनी बैंकका अपरेसन इन्चार्ज निराजन शाह भएको ठाउँमा गए। निराजनले कुसारीलाई १७ लाख गन्न लगाए।
‘मैले पैसा गनेर सकेपछि शाहले मलाई भौचरमा हस्ताक्षर गर्न लगाउनु भयो,’ डण्डीरामले भने, ‘अनि उहाँले मलाई भौचरको तलतिरको भाग च्यातेर दिँदै घर जान भन्नुभयो।’
बैंकका अपरेसन इन्चार्जको कुरा कसरी नपत्याउनु? डण्डीराम विश्वास गर्दै घर फर्किए। निराजनले दिउँसो ३ बजेतिर त्यो खातामा पैसा जम्मा भइसक्ने भनेर डण्डीरामलाई भनेका थिए।
बिहीबार पनि डण्डीरामले निराजनलाई फोन गरी पैसा जम्मा भएको/नभएकोबारे बुझे। त्यतिखेर निराजनले बुधबार इन्टरनेट नचलेको र बिहीबार पनि बेलुकी ४ बज्नै आँटेको हुँदा शुक्रबार १७ लाख जम्मा गरिदिने विश्वास दिलाए।
शुक्रबार फोन गर्दा पनि पैसा जम्मा हुन्छ भनेर आश्वासन दिए।
‘आज पैसा जम्मा हुन्छ चिन्ता नगर्नू भन्दै फोनमा उहाँले ठीक्क पार्नु भयो, तर उहाँको मनमा खोट रहेछ र त्यो दिन पनि उहाँले पैसा जम्मा गर्नु भएन,’ डण्डीरामले भने, ‘नियत नै खराब रहेछ ठग्छु भन्ने रहेछ उहाँले सर्वसाधारणलाई बर्बाद पार्नु भयो।’
अर्को दिन शनिबार थियो। फोन गर्ने कुरै भएन।
डण्डीरामले आइतबार पनि फोन गरेर सोधे। त्यतिखेर निराजनले आफू उपचारका लागि नेपालगञ्जमा पुगेको र काम गर्ने अन्य कर्मचारीलाई भनेर सोही दिन रकम जम्मा हुने भनेर विश्वास दिलाए।
डण्डीरामले बैंकका कर्मचारीलाई रकम जम्मा भए/नभएको सोधपुछ गरे। अन्य कर्मचारीले भने बैंकका अपरेसन इन्चार्ज निराजनले जम्मा गरेको पैसा आफैंले होल्ड गरिराखेको हुनसक्ने हुँदा पैसा जसले राखेको हो उसैले जम्मा गर्दा राम्रो हुने जवाफ दिए।
अर्कोतर्फ बेदुरामका मानिसहरूले भने १७ लाख रुपैयाँ रकम जम्मा नभएको भन्दै फोन गर्न थाले। एजेन्टले मागेको रकम जम्मा नभए छोराको विदेश यात्रा अलपत्र पर्ने सक्ने खतरा थियो। त्यसैले डण्डीराम आत्तिएका थिए।
माघ २१ गतेदेखि भने निराजन सम्पर्कविहीन भए। उनको फोनमा सम्पर्क नै हुन छोडेपछि बल्ल डण्डीराम कुसारीले आफू ठगिएको भेउ पाए।
डण्डीरामले आफूलाई बैंकका अपरेसन इन्चार्ज निराजन शाहले झुक्याएर १७ लाख रुपैयाँ हिनामिना गरेको भन्दै झल्यास्स भए। त्यसपछि डण्डीराम कुसारी जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिम पुगेर आइतबार लिखित रूपमा निराजनविरूद्ध किटानी जाहेरी दिएको बताउँछन्।
डण्डीरामजस्तै अन्य धेरै पीडितले पनि आफूहरूको लाखौं रकम हिनामिना गरेको भन्दै जाहेरी आएको जिल्लाका प्रहरी कार्यालय रूकुम पश्चिमका प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए। उनका अनुसार निराजनविरूद्ध एक करोड ३१ लाख रुपैयाँ ठगीको आरोप छ।
निराजनले आठबिसकोट नगरपालिका– १३ का शंकर पुनको खाताबाट १० लाख, आठबिसकोट–११ का नरेन्द्र बस्नेतको खाताबाट आठ लाख रुपैयाँ अन्त ट्रान्सफर गरेको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
आठबिसकोट–१० का एक जना जनप्रतिनिधिले निराजनलाई विश्वास गरी आफ्नो छोरीको खातामा जम्मा गरिदिनु भनेर दिएको नौ लाख रुपैयाँ पनि जम्मा नगरी हिनामिना गरेको पाइएको छ।
‘विश्वासमा परी चेक दिएका तथा खातामा जम्मा गरिदिनु भनेर व्यक्ति विशेषले दिएका पैसा शाहले जम्मा नगरेको प्रारम्भिक अनुसन्धानबाट खुल्छ,’ एक प्रहरी अधिकारीले भने, ‘कतिपय नजिकका आफन्तहरू पनि ठगीमा परेको भन्ने छ।’
स्थानीय तहकै नाममा आएको धेरै रकम निराजनले हिनामिना गरेको पाइएको स्रोत बताउँछ। अन्य थुप्रै बचतकर्ताको रकम पनि हिनामिना गरेको अनुमान प्रहरीको छ।
‘प्रारम्भिक अनुसन्धानबाट झन्डै एक करोड ३० लाख जति रकम हिनामिना भएको देखिन्छ,’ एक प्रहरी अधिकारी भने, ‘वित्तीय संस्थाको यस्तो हिनामिना उच्च अदालतको अर्थ बेञ्चले गर्ने हुँदा केही समय कुर्नपर्ने हुन सक्छ।’
प्रभु बैंकका प्रबन्धक डम्बर गौतमले माघ १७ गते आफू बिदामा भएको बताए। त्यसदिन आफू बिदामा रहेको हुँदा शाह आफैंले विभिन्न व्यक्तिको खातामा रकम जम्मा गरेको हुनसक्ने बताए। यद्यपि माघ २१ गतेदेखि भने शाह कार्यालयमा फर्किएका छैनन्।
‘म माघ १४ देखि २७ गतेसम्म बिदा लिएर जाजरकोटस्थित घर गएको थिएँ,’ गौतमले भने, ‘म बिदा बस्दा शाहलाई नै निमित्त म्यानेजरको जिम्मेवार दिएको थिएँ। उहाँ माघ २१ गतेदेखि सम्पर्कविहीन हुनुहुन्छ।’
शाह माघ २० गतेसम्म कार्यालयमा हाजिर भएका थिए। एक दिन शाहले गौतमलाई फोन गरेर बिदा पनि मागेका थिए। तर गौतमले बिदा स्वीकृत गरेका थिएनन्। तै पनि बिदामा हिँडेका उनी फर्किएका छैनन्। त्यसपछि माघ २५ गते नै म्यानेजर गौतम काममा फर्किएका थिए।
हिनामिना भएकोबारे प्रश्न गर्दा यसबारे अनुसन्धानपछि मात्रै थाहा हुने र आफ्नो संलग्नता नभएको उनको दाबी छ। अपरेसन इन्चार्ज शाहले बैंकमा जम्मा हुनुअगावै रकम अपचलन गरेको वा बैंकमा जम्मा भइसकेको रकम झिकेको हो भन्नेबारे अनुसन्धानपछि मात्रै थाहा हुने उनले बताए।
‘केन्द्रीय र क्षेत्रीय कार्यालयबाट अनुसन्धानका लागि अडिट गर्ने सहित अन्य सरहरू आउनुभएको छ,’ उनले भने, ‘उहाँहरूले हिजोदेखि नै अनुसन्धान गरिरहनु भएको छ। अनुसन्धानपछि मात्रै कति रकम हिनामिना भएको हो वा होइन भन्ने कुरा यकिनका साथ भन्न सहज हुनेछ।’