काठमाडौं कीर्तिपुर नगरपालिका वडा नम्बर ३ कमल टोलका ४२ वर्षीय अनिल तन्डुकार बुधबार महेन्द्रनगरबाट काठमाडौं आउन सुनौलो यातायातको रात्रिबस चढेका थिए।
पेशाले मूर्तिकार उनी केही दिनअघि मूर्ति बनाउनकै लागि महेन्द्रनगर गएका थिए। बुधबार काठमाडौं फर्किन प्रदेश ०२ – ००१ ख ००९८ नम्बरको बस चढे।
उनी सवार बस राति साढे १२ बजेतिर कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १ सुरही खोलामा खस्यो।
सडकबाट झन्डै दुई सय मिटर तल खस्दा १० यात्रुको मृत्यु भएको छ भने तण्डुकारसहित ३० जना घाइते भएका छन्।
तण्डुकार क्याबिन सिटमा बसेका थिए। उनका अनुसार सुरही पुल नजिक पुग्दा बस तीव्र गतिमा पनि थिएन। चालकले गियर परिवर्तन गर्न खोजेका थिए।
‘गियर चेन्ज गर्ने क्रममा दुई चोटी ठूलो स्वरमा आवाज आयो। त्यसपछि चालकले गाडी कन्ट्रोल गर्न सकेनन्,’ उनले भने। त्यसपछि गाडी घरि दायाँ, घरि बायाँ गर्दै कुद्न थालेको उनले बताए।
नागबेली चालमा दायाँबायाँ गर्दै कुद्न थालेपछि बसमा रहेका यात्रु चिच्याउने कराउने गर्न थालेका थिए।
‘यात्रुहरू कराउनासाथ चालकले बसभित्र बलेको बत्ती निभाइदिए,’ तन्डुकारले भने, ‘त्यसपछि एक्कासि खोलामा खसेपछि मात्रै दुर्घटना भएको थाहा भयो।’
रात्रिबसमा इन्जिन चिसो पार्नका लागि बेलाबेला बर्नेटको ढक्कन उघारिन्छ। दुर्घटना हुनुभन्दा अगाडि त्यो बसमा पनि बर्नेटको ढक्कन खुला गरिएको रहेछ। दुर्घटनाअघि बस दायाँबायाँ हुँदा तण्डुकार त्यही ढक्कन उघारिएको खाल्डामा परेछन्।
'बसले कति बल्ड्याङ खायो याद भएन तर खाल्डोमा परेपछि म त्यहाँ हलचल गर्न सक्ने अवस्था रहेन। बस खस्दा म त्यो खाल्डोबाट बाहिर पनि निस्कन सकिनँ बरू त्यही खाल्डोमा यताउता हल्लिएँ,’ तन्डुकारले भने, ‘मेरो भाग्य रहेछ मेरो ज्यान त्यही बसको इञ्जिनको खाल्डोले जोगायो।’
आफूलाई छाती र ढाडमा सामान्य चोट लागेको उनले बताए। सेतोपाटीसँगको कुराकानीमा स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।
दुर्घटनामा तीन महिला र सात जना पुरूषको मृत्यु भएको छ।
मृत्यु हुनेमा रौतहट औरही नगरपालिका वडा नम्बर ३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तरप्रदेश मुरदाबादका सकिल मुसलमान रहेको खुलेको छ।
कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर १ का २७ वर्षीय राहुलराम कामी, सोही नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय उमेश भण्डारीको पनि दुर्घटनामा मृत्यु भएको छ।
त्यस्तै, भीमदत्त नगरपालिका १६ की सञ्जु थापा, भीमदत्त नगरपालिका नै बस्ने खगेश्वरी खाती, सोही नगरपालिका वडा नम्बर २ बस्ने सुदिप भट्टको पनि पहिचान खुलेको छ।
मृत्यु हुनेमा पुनर्वास नगरपालिका किसन भट्ट, त्यही नगरपालिका वडा नम्बर ९ बिसफाटा बस्ने विमलादेवी भट्टको दुर्घटनामा ज्यान गएको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर वलीले जानकारी दिए।
दुर्घटनामा ३० जना घाइते भएका छन्। त्यसमध्ये ९ जनालाई उपचारका लागि बुधबार राति नै बुटवल रिफर गरिएको थियो।
पाँच जनाको स्थानीय आधारभूत अस्पतालमा उपचार भइरहेको छ। ६ जना सामान्य उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए।
अन्य १० जना घाइतेको कपिलवस्तुकै सञ्जीवनी अस्पतालमा उपचार भइरहेको र उनीहरूमध्ये पनि अवस्था गम्भीर भएकाहरूलाई अन्यत्र रिफर गर्ने प्रक्रियामा रहेको वलीले बताए।
मध्यरातमा दुर्घटना भएको र प्रहरीलाई राति साढे १ बजेमात्र जानकारी भएकाले घाइते र मृतक ४० जनाको उद्धार गरी अस्पताल पुर्याउन नै धेरै समय लागेको प्रहरी उपरीक्षक वलीले बताए।