दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित दामोदर चोकमै छ- मोहम्मद दौलतको सिरक डसना पसल।
बिहीबार बेलुकी सवा आठ बजेको हुँदो हो, मानिसको आउजाउ पातलिँदै गएपछि दौलतले पसलको सटर बन्द गर्ने सुरसार थाले। अचानक पटाका पड्किएजस्तो आवाज उनको कानमा पर्यो। न कुनै उल्लास, न पर्वको रमझम! बेमौसमी आवाजले दौतलको ध्यान खिच्यो।
हत्त न पत्त उनी बाहिर निस्किए। मानिसहरू त चिच्याउँदै, कराउँदै पो रहेछन्। उनीहरू भनिरहेका थिए– ‘ड्युटीमा रहेकी प्रहरीलाई मोटसाइकलमा आएकाले गोली हाने, अनि भागे!’ गोली प्रहारबाट गम्भीर घाइते प्रहरी सडकमा लडिरहेकी थिइन्।
उनको छेउमा अरू दुई प्रहरी थिए। तर उनीहरू अन्यमनस्क भावमा थिए। के गर्ने, कसो गर्ने? उनीहरूले केही भेउ पाइरहेका थिएनन्। उनीहरूले वडा प्रहरीलाई खबर गरेका रहेछन्।
करिब पाँच मिनेटपछि प्रहरीको गाडी आइपुग्यो। गाडीमा प्रहरी निरीक्षक आफैं आएका रहेछन्। घाइते जवानलाई नजिकैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइयो।
अस्पताल पुर्याएको केहीबेरमै उनलाई चिकित्सकले मृत घोषणा गरे। अप्रत्यासितरूपमा भएको गोली प्रहारको घटनाले मोहमद दौलतलगायत सर्वसाधारण त्रासमा थिए।
‘त्यतिखेर त्रास मात्रै फैलिएको थिएन, ड्युटीमा खटिएकी महिला प्रहरीलाई गोली हान्दा अरू दुई जना प्रहरीले के हेरेर बसे भन्ने प्रश्नसमेत सर्वसाधारणको थियो,’ दौलतले भने ‘मोटरसाइकल रोकेर ड्युटीमा खटिएकी प्रहरीलाई गोली हान्दा पक्कै चार पाँच मिनेट लाग्यो होला! सँगैका प्रहरी किन मूकदर्शक बने? यो गम्भीर कुरा हो।’
दुई हप्ताकै अन्तरालमा दाङमा दुई अपराधका घटना भइसके। यसले जिल्लाको कमजोर शान्ति सुरक्षाको चित्रण गरेको स्थानीयले बताए।
‘समसाँझै व्यस्त चोकमा खटिएकी प्रहरीलाई गोली प्रहार गरी हत्या गरिनुले जिल्लाको शान्ति सुरक्षाको अवस्था उजागर गरेको छ,’ एक स्थानीयले भने ‘लगालग प्रहरी नै व्यक्ति हत्याका घटनामा सामेल हुनुले संगठन र शान्ति सुरक्षाको प्रबन्धमा शंका गर्ने ठाउँ बनेको छ।’
ड्युटीमा खटिएकी महिलालाई कुनै संदिग्ध व्यक्तिले गोली प्रहार गरेका थिएनन्। प्रहरी सेवामै रहेका उनका पतिले नै गोली प्रहार गरेको पुष्टि भइसकेको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ विद्यापुरकी २६ वर्षीया प्रहरी जवान धनमाया थापा मगरमाथि उनका पति यामबहादुर झाँक्रीले गोली प्रहार गरेका थिए।
प्यूठानको नौंबहिनी गाउँपालिका– ४ खबाङ घर भएका झाँक्रीको नेपाल प्रहरी आवासी माध्यमिक विद्यालय घोराही दाङमा दरबन्दी रहेको खुलेको छ।
उनी कर्णाली प्रदेश तालिम केन्द्रअन्तर्गत् नेपालगञ्जमा काजमा थिए। ड्युटीमा रहेकी श्रीमतीमाथि गोली चलाएपछि उनी आफैंले चलाएर आएको भे १२ प १५५० नम्बरको मोटरसाइकलमै भागेका थिए। तर उनाई लमही वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेका थिए।
प्रहरीका अनुसार करिब नौ बजेतिर उनी पक्राउ परेका थिए। दामोदर चोकमा धनमायासँगै अर्का प्रहरी पनि ड्युटीमा थिए। उनै प्रहरीले यामबहादुरले प्रयोग गरेको मोटरसाइकल नम्बरमा दृष्टि पुर्याएका थिए। त्यही नम्बरका आधारमा अभियुक्तको पहिचान भएको प्रहरीले जनाएको छ।
यामबहादुरको साथबाट पेस्तोल र त्यसमा लाग्ने सात राउन्ड गोलीसहित प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
जिल्ला प्रहरी प्रवक्ता मल्लका अनुसार यामबहादुरलाई तालिम केन्द्र सुर्खेत खटाइए पनि उनी नेपालगञ्जका प्रहरी वरिष्ठ उपरीक्षकका बडिगार्ड थिए।
यामबहादुरले फागुन २ गतेदेखि लागु हुने गरी चार दिनको बिदा लिएको पनि उनले बताए। यामबहादुर बुधबार नै दाङ आएको अनुसन्धानबाट खुलेको छ। बिदा बस्दा सुरक्षाकर्मीले आफूले बोक्ने हतियार बुझाउनुपर्ने हुन्छ।
तर यामबहादुर आफूले बोक्ने हतियार लिएर आएको खुलेको छ। चोकमा ड्युटीमा उभ्याइएका प्रहरीसँग लाठी मात्रै थियो। प्रहरी स्रोतका अनुसार सानो टुकुडीमा दुई तीन जना मात्रै खटाउँदा खतरा हुने महसुस गरी हतियार लैजान प्रतिबन्ध नै लगाइएको हुन्छ।
त्यतिबेला ड्युटीमा खटिएका प्रहरीसँग बन्दुक भएको भए आत्मरक्षा गर्न सक्ने सुरक्षा निकायका अधिकारी नै बताउँछन्। प्रहरी अधिकारीका अनुसार यामबहादुरले केहीबेर धनमायासँग कुरा पनि गरेका थिए।
‘म ड्युटीमा छु, अहिले कुरा गर्दिनँ भनेपछि आफूलाई बेवास्ता गरेको महसुस गरेको र आवेशमा आइ गोली प्रहार गरेको भन्ने छ,’ ती प्रहरी अधिकारीले भने ‘सँगै रहेका अर्का प्रहरी जवानले पनि श्रीमान्–श्रीमतीबीचको कुरामा चासो दिएनछन्। एकाएक गोली चलेपछि अर्का लाठी सहितका प्रहरीले पनि केही गर्न सक्ने अवस्था थिएन।’
धनमाया र यामबहादुरले २०७४ सालमा बिहे गरेका थिए। उनीहरूबाट ६ वर्षीया एक छोरी पनि छन्। छोरी सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ विद्यापुरस्थित मामाको घरमा बस्दै आएकी छन्।
प्रहरी अधिकारीका अनुसार श्रीमान–श्रीमतीबीच विगत केही समययता सम्बन्ध सुमधुर थिएन। माघ महिनामै धनमायाले जिल्ला अदालत दाङमा अंशसहित सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन्।
जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले पनि श्रीमान–श्रीमतीबीचको सम्बन्धको खटपटका कारण घटना भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि थप अनुसन्धान हुन बाँकी रहेको बताए।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डिआइजी कुबेर कडायतले प्रहरी संगठनभित्रकै भए पनि व्यक्ति विषेशले गर्ने अपराधका घटनामा दोषी कसैले पनि उन्मुक्ति नपाउने बताए। उनले व्यक्तिले सनक, आवेग र उत्तेजनामा गर्ने अपराधका घटनाका आधारमा शान्ति सुरक्षा नै कमजोर भयो भने निष्कर्ष निकाल्न नहुने बताए।
डिआइजी कडायतले यामबहादुर बिदामा आउँदा कसरी हतियार लिएर आए, हतियार राख्न पाउने उनको अधिकार हो कि होइन? भन्नेबारे अनुसन्धान हुनुपर्ने बताए ।
‘प्रहरीको नियमअनुसार यामबहादुरलाई हतियार दिने व्यक्तिलाई पनि कारबाही हुन्छ र हुनैपर्छ,’ उनले भने ‘यो कर्णाली प्रदेशको कुरा हो र सायद छिट्टै हतियार दिने व्यक्ति निलम्बित हुनेछन्। यस घटना छानबिन गर्न समिति पनि बन्ने छ।’
गत माघमा अर्को पनि घटना भयो। माघ २१ गते २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीलाई मारेको अभियोगमा पिमलाल नेपाली पक्राउ गरे।
उनी जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत थिए। माघ २० गते शनिबार बेलुकी मात्रै पिमलालले श्रीमती र छोरालाई नेपालगञ्जबाट घोराही बोलाएका थिए। पत्नी नेपालगञ्जमै कोठा भाडामा लिएर बस्थिन्।
पिमलाल दाङ सरूवा भइ आएको धेरै समय पनि बितेको थिएन। परिवार आउन थालेको भन्दै पिमलालले शनिबार राति कार्यालयबाट बिदा मागेका थिए। त्यसदिन घोराहीकै एक होटलमा पत्नीसँगै बास बसेका थिए।
आइतबार बिहानपख पिमलाल र श्रीमतीबीच मनमुटाव भएको, उनले आवेशमा आएर हत्या गरेको बताएको प्रहरी अधिकारीले जानकारी दिए।
‘कि हामीलाई पनि सँगै लैजा, हैन भने तँलाई यही मार्छु भनेर श्रीमतीले अड्डी कस्न थालेपछि पिमलालले आवेशमा आई सलले घाँटी कसेर पहिले श्रीमतीको र त्यसपछि नाबालक छोराको हत्या गरेको बयान दिएको छ,’ डिएसपी मल्लले भने, ‘होटलमा सँगै राम्रोसँग रात बिताएका श्रीमान्–श्रीमती बीचमा बिहान सामान्य असमझदारीका कारण घटना भएको देखिन्छ।’
श्रीमती र नाबालक छोराको हत्यापछि पिमलाल आफैं जिल्ला प्रहरी कार्यालय पुगेका थिए। उनले आफैंले घटनाबारे बताएको प्रहरी अधिकारीहरूले जानकारी दिए।
श्रीमतीको हत्यापछि आफू जीवनभर जेल जानुपर्ने र नाबालक छोराको बिचल्ली हुने ठानेर उनको पनि हत्या गरेको बयान पिमलालले दिएको ती अधिकारीले बताए।
पिमलालको घर रोल्पाको रून्टीगढी गाउँपालिका वडा नम्बर ९ पर्छ। हत्या गरिएकी टीकाको माइती रूकुम चौरजहारी हो। डिएसपी मल्लका अनुसार पिमलाल लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए। दुई महिनाअघि मात्रै उनी सरूवा भएर दाङ आएका थिए।
दुई हप्ताको बीचमा प्रहरीबाट घटाइएका दुई अपराधका घटनाले सुरक्षाकर्मीलाई तालिम मात्रै दिइएको र कानुन कार्यान्वय र कर्तव्यबोधबारे कम सिकाइएको आभास हुने अधिकारकर्मीहरू बताउँछन्।
महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी पूर्वअध्यक्ष सुष्मा गिरीले कार्यान्वयनकर्ता आफैंले कानुन हातमा लिनु र जघन्य अपराधमा उत्रनुले समाजमा नकारात्मक सन्देश प्रवाह भएको बताइन्।
‘कानुन पालना गर्न सिकाउने प्रहरीबाटै लगालग भएका हत्याका शृंखलाले सर्वसाधारणमा निकै त्रास फैलाएको छ,’ उनले भनिन्। समाजमा महिला असुरक्षित बन्दै गएको अवस्थामा सुरक्षाकर्मीभित्रै यस्तो अवस्था देखिनु झन् घातक रहेको उनको बुझाइ छ।
उनले यस घटनाको मिहीन अध्ययन–अनुसन्धान हुनुपर्ने बताइन्। ‘अपराधी जोसुकै होस् कुनै पनि हालतमा उम्कन हुन्न र उन्मुक्ति दिनहुँदै भन्ने हाम्रो मान्यता हो,’ उनले भनिन् ‘महिला र अबोध बालकको हत्यामा संलग्नहरूमाथि कडा कानुनी कारबाही हुनुपर्छ।’
प्रहरी संगठनभित्र दम्पतीलाई एकै ठाउँमा बस्ने वातावरण निर्माण नगरिनु, कार्यक्षेत्र अलग गरिदिनुजस्ता कुराले पारिवारिक बेमेल बढेको पनि अधिकारकर्मीको ठहर छ। श्रीमान्–श्रीमती सँगै बस्ने र भावना साटासाट गर्ने अवसरबाट वञ्चित गरिँदा पनि आपराधिक घटना हुनेतर्फ उनले सचेत गराइन्।