दाङमा रहेका स्वर्गद्वारी गुठी पीडित मोही किसान अन्दोलित भएका छन्। उनीहरूले आज पनि बिहानैदेखि जिल्ला प्रशासन कार्यालयको गेटअगाडि धर्ना दिइरहेका छन्। धर्नामा झन्डै दुई सयको हाराहारीमा किसान रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले सेतोपाटीलाई बताए।
स्वर्गद्वारी आश्रम प्युठानको नाममा दर्ता स्रेस्ता कायम भई दाङमा रहेको सात सय ५३ बिगाहा जग्गामा मोही भरेका किसानले मोहियानी हक नपाएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सुरू गरेका हुन्।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले यसअघि मोहियानी हकका लागि विभिन्न चरणका आन्दोलन भई सरकारसँग धेरै पटक सम्झौता भए पनि त्यसको कार्यान्वयन नभएको हुँदा चरणबद्ध आन्दोलन सुरू गर्नु परेको बताए।
‘अब हामी चुप लागेर बस्ने छैनौं,’ उनले भने, ‘अब हामी वार र पारको आन्दोलनमा होमिएका छौं।’
वर्षौंदेखिको समस्या समाधान गर्न नयाँ विधेयक ल्याउने आश्वासन दिँदै आएको भए पनि सरकारले गुठी पीडित मोही किसानको समस्या नजरअन्दाज गर्न खोजको हुँदा आफूहरू चरणबद्ध आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए।
माघ २५ गते उनीहरूले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेका थिए। सोही अनुरूप फागुन ८ गते घोराही बजारमा उनीहरूले बृहत् विरोध र्याली निकालेका थिए। र्यालीमा झन्डै चार सय बढी किसान सहभागी थिए। जिल्लाका १२ मौजाका किसान र्यालीमा सहभागी थिए।
विभिन्न प्लाकार्ड बोकेका किसानमध्ये केही हलो-जुवासहित आन्दोलनमा सहभागी थिए। स्वर्गद्वारी गुठी अन्तर्गत दाङको तुलसीपुर, घोराही र लमही क्षेत्रमा गरी १२ मौजा रहेको छ। यी सबै ठाउँका गुठी पीडित किसान एकै साथ आन्दोलनमा उत्रिएका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत फागुन ९ गतेदेखि ११ गतेसम्म जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय दाङमा २४ सै घण्टा धर्ना दिने, फागुन १३ गतेदेखि १५ गतेसम्म राजनीतिक दलका कार्यालयमा धर्ना, फागुन २० देखि २२ गतेसम्म लुम्बिनी प्रदेश सभामा धर्ना र पूर्व–पश्चिम राजमार्ग दुई घण्टा बन्द गर्ने जस्ता रहेका छन्।
त्यस्तै, फागुन २७ र २८ गते देशभरका गुठी पीडित किसानको सम्मेलन घोराहीमा गर्ने र चैत १ गतेदेखि दाङ बन्द गर्ने जस्ता आन्दोलनका कार्यक्रमहरू उनीहरूले सार्वजनिक गरेका छन्। त्यसपछि काठमाडौं केन्द्रित आन्दोलन गर्ने उनीहरूले बताएका छन्।
सर्वोच्च अदालतले २०६२ चैत १४ गते स्वर्गद्वारी निजी गुठी भएकाले आश्रमको जग्गा खण्डीकरण नगर्नू/नगराउनू भन्ने आदेश जारी गरेको थियो। सोही कारण मोही किसानलाई मोहियानी हक दिलाउन कठिन भएको आश्रमका पदाधिकारीहरू बताउँछन्।
किसानलाई मोहियानी हक दिएर स्वर्गद्वारी आश्रम आफ्नो जग्गा अलग गर्ने कुरामा सकारात्मक रहेको र वर्षौंदेखिको लफडा टुङ्ग्याई आफ्नो जग्गा अलग गर्न पाए आश्रमको आयस्ता बढ्ने पदाधिकारीहरू बताउँछन्।
‘अहिलेको अवस्था न यता न उताको छ,’ एक पदाधिकारीले भने, ‘यो अवस्थाबाट छुटकारा पाउन मोही किसानलाई उनीहरूका अधिकार दिन पाए आश्रमलाई थप सजिलो हुने थियो।’
स्वर्गद्वारी गुठी सञ्चालन समितिले २०८० पुस १५ गते आश्रमको जमिनमा रहेको द्वैध स्वामित्वको अन्त्य गर्ने निर्णय गरेको थियो। त्यसमा निकास खोज्न बह्माचारी बासुदेव भट्टराईको संयोजकत्वमा नौ सदस्यीय समिति गठन गरिसकेको थियो।
दाङमा स्वर्गद्वारी आश्रमको नाममा रहेको एक हजार ५० बिगाहा जग्गामध्ये सात सय ५३ बिगाहामा मोही रहेको छ। तीमध्ये तीन हजार पाँच घरधुरीका १५ हजार जति किसानले आश्रमको जग्गा विगतदेखि नै जोतभोग गदै आएको संघर्ष समितिका अध्यक्ष प्रभु चौधरीले बताए।
गुठी पीडित किसानले पुस्तौंदेखि जमिन जोत्दै आएको हुँदा मोही किसानमाथि वर्षौंदेखि अत्याचार हुँदै आएको भन्दै अबको आन्दोलनले त्यसको छिनोफानो गर्ने उनले दाबी गरे।