रोल्पाको त्रिवेणी गाउँपालिका–५ गुँइतीबाङका २४ वर्षीय नेत्र भण्डारी सोमबार मात्रै सपरिवार बसाइँ सरी दाङ झरेका थिए।
तुलसीपुर उपमहानगरपालिका–१६ मजगाउँमा दुई कठ्ठा सात धुर बारी (जग्गा) २२ लाख ३१ हजारमा किनेपछि भण्डारीको सपरिवार दुई दिनअगाडि मात्रै तुलसीपुर झरेको थियो।
रोल्पाबाट एउटा जिप बुक गरी बन्दोबस्तीका सामानसहित आमा झुला, श्रीमती निरूता, ४ वर्षीया छोरी न्यारिका, भाउजू कमला र उनका ३ वर्षे छोरा रोमहर्षसहित शिक्षक नेत्र तुलसीपुर झरेका थिए। नेत्रकी भाउजू कमला पनि शिक्षक हुन्। उनी पनि रोल्पामै पढाउँछिन्।
घर सल्लाह अनुसार नेत्रका दाजु भुपाल भैरहवाबाट सोही दिन बिदा मागेर दाङ आइपुगेका थिए। भुपाल पेसाले नेपाल प्रहरीका जागिरे हुन्। प्रहरी जवान उनी भैरहवा विमानस्थलमा कार्यरत छन्।
भुपालका अनुसार तुलसीपुर–१६ मजगाउँको जग्गा किन्न दाजुभाइले आ–आफ्नो कमाइको बराबरी पैसा जोहो गरेका थिए।
जग्गा मजगाउँमा रहे पनि त्यहाँ उनीहरू बस्ने बास भने थिएन। बारी मात्रै थियो। नेत्रले नै केही दिन पहिले दाङ झरेर तुलसीपुर–१७ मानपुर आसपासमा एउटा खाली घरको खोजी गरेका थिए। आफूहरूलाई बस्न दिन घरधनीलाई प्रस्ताव गरेका थिए। घरधनीको सपरिवार छिमेकी देश भारतमा काम र उपचार लगायत कामले बस्दै आएको थाहा पाएपछि घर हेर्ने शर्तमा नि:शुल्क व्यवस्था भएपछि दाङ झरेको भुपालले बताए।
मंगलबार दिउँसभर नेत्र भण्डारी र त्रिवेणी गाउँपालिका –५ कै दुई बहिनीका छोरा भाइ नाता पर्ने २१ वर्षीय विजय पुन तुलसीपुरको नागरिक हस्पिटलमा बिरामी कुर्दै बसेका थिए। नेत्रका भिनाजुको अपरेसन गरिएको थियो। त्यसैले दिनभर नेत्र र विजय बिरामी कुरूवा बसेका थिए।
विजय पनि तुलसीपुर बजारमा आफन्तकोमा डेरा गरी बस्दै आएका थिए। उनले स्कुले शिक्षा पनि तुलसीपुरमै पूरा गरेको एक आफन्तले बताए।
तुलसीपुरस्थित राप्ती बबई क्याम्पसमा बिबिएस द्वितीय वर्षमा अध्ययनरत रहेको आफन्त शोभाराम राना मगरले बताए। विजय तुलसीपुरमा काम गर्दै आफ्नो पढाइ खर्च आफैं जोहो गर्दै आएका थिए।
भाइ विजयको मोटरसाइकल रहेको हुँदा नेत्रले गाउँदेखि बजार आउजाउ गर्न सहज हुने ठानेर उनको सहयोग मागेका थिए।
नेत्र भण्डारी रोल्पाको रुन्टिगढी गाउँपालिका वडा–१ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका गणित शिक्षक थिए। नेत्रलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बुधबार विद्यालयमा हाजिर हुन भनेका थिए।
विद्यालय समयमा पुग्न नेत्रले भाइ विजयलाई एकाबिहानै घोराहीसम्म मोटरसाइकलमा पुर्याइदिन भने। तुलसीपुर र घोराही बीचको दूरी २४ किलोमिटर टाढा छ।
नेत्रलाई विद्यालय समयमै पुग्नु पर्ने हतारो थियो भने विजयलाई घोराहीबाट फर्किएर तुलसीपुरस्थित कलेज पुग्ने हतारो थियो। त्यसैले बिहान सबेरै उनीहरूको सल्लाह अनुरूप एकाबिहानै पाँच बज्दा नबज्दै तुलसीपुरदेखि घोराहीको यात्रामा मोटरसाइलमा निस्किए। घोराही समयमै पुगे शहिद मार्ग हुँदै रोल्पाको होलेरी जाने बस चढेर पढाउनका लागि समयमै विद्यालय पुग्न सकिन्छ भन्ने नेत्रको सोच थियो।
तुलसीपुरबाट पूर्वको घोराहीबजारस्थित शहिद मार्गसम्म पुग्न करिब एक किलोमिटर जति मात्रै दुरी बाँकी छँदा उनीहरू सवार रा ५ प ५४५३ नम्बरको मोटरसाइकल सर्रा चोक नजिकै एक साइकल यात्रीलाई जोगाउन खोज्दा दुबै जना सडकमै पल्टिए।
साइकल यात्री को थिए? उनी हालसम्म सम्पर्कका नरहेको र खोजी भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताए।
‘साइकललाई ठक्कर दिए नदिएको पनि यकिन भइसकेको छैन र साइकल यात्री को थिए भन्ने पनि पत्ता लागिसकेको छैन,’ मल्लले भने, ‘साइकल यात्रीका कारण मोटरसाइकल हाँकिरहेका विजय पुन अलमलमा परेको र साइकल यात्रीलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको जस्तो बुझिन्छ।’
घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर यो घटना हुँदा विपरीत दिशा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको बा २ झ ३६५२ नम्बरको बोलेरो जिपले सडकमा लडेका नेत्र र विजय दुबै जना ठक्कर दिएर हुइँकिन्छ।
बोलेरो जिप रोल्पाको त्रिवेणी गाउँपालिकाको कार्यालयको हो। गाडी त्रिवेणी –२ का २९ वर्षीय निर्मल बुढाले हाँकेका थिए।
घाइते दुबै दाजुभाइलाई उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको केहीबेरमै बिहान पौने ७ बजेतिर दुवै जनालाई चिकित्सकले मृत घोषणा गरे।
जग्गा किनेर सदाको लागि दाङ बसाइ सरी आएको भण्डारी परिवारको नाममा जग्गा पास भने भइसकेको छैन।
दाजु भुपालका अनुसार दाङको जग्गा आमा झुलाको नाममा पास सल्लाह भएको थियो। त्यसै अनुसार मंगलबार आफूहरूले लाग्ने खर्च राजस्व मालपोत कार्यालय तुलसीपुरमा बुझाइसकेको भुपालले बताए। तर, बैंकबाट एकै दिनमा एउटै खाताबाट दश लाख बढी रकम झिक्न नपाइने समस्याका कारण उनीहरूले करिब २३ लाख रकमको जोहो गर्न नसक्दा आमाको नाममा जग्गा पास भएन।
बुधबार भने आमाको नाममा नयाँ जग्गा पुर्जा आउने निश्चित थियो। त्यसैले पनि नेत्र एकाबिहानै तुलसीपुरबाट मोटरसाइकलमा भाइ विजयलाई घोराहीसम्म पुर्याउन लगाएका थिए।
‘आमाको नाममा जग्गा आज आइहाल्छ म विद्यालयमा पढाउन जान्छु र तपाईं काम सिध्याएर दिउँसो भैरहवा हिँड्नु होला भनेर भाइसँग सल्लाह भएको थियो,’ भुपालले भने, ‘एकाएक प्यारो भाइ मेरो भरोसा नेत्रसहित अर्का भाइ विजय पनि दुर्घटनामा परेको खबर सुन्दा र उनीहरूलाई गुमाउनु पर्दाको पीडा सहन गर्न मुस्किल परिरहेको छ।’
बिहानै भाइहरू दुर्घटनामा परेको खबरपछि आमालाई मालपोत कार्यालय लैजाने र हातमा भाइको चाहनाअनुसार लालपुर्जा हातमा राखिदिने चाहना अधुरै रहेको दाजु भुपालले बताए।
बुझ्न मानेका छैनन् आफन्तले शव
जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लका अनुसार बुधबार बेलुकी अबेरसम्म पनि दुर्घटनामा मृत्यु भएका दुई जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमै राखिएको छ। आफन्तले शव बुझ्न मानिरहेका छैनन्।
दाजु भुपालले नियतबस र घटना नियोजित रहेको दाबी गरे। बुधबार दुबै जना मृतकका घर परिवारले प्रहरी नियन्त्रणमा रहेका गाडी चालक निर्मल बुढाविरूद्ध घटना नियोजित रहेको भन्दै किटानी जाहेरी दिएका छन्।
‘हामीले सिसिटिभीको फुटेज हेर्दा घटना नियतबस र नियोजित रूपमा घटाइएको स्पष्ट जस्तै छ,’ भुपालले भने, ‘उनीहरू लडेको देखेपछि ट्रक चालकले गाडी रोक्न सक्ने तर किन गाउँपालिकाको गाडी चालकले रोक्न नचाहेका हुन् भन्ने गम्भीर प्रश्न उब्जिएको छ।’
‘म त जागिरका कारण धेरै घर बस्न पाउँदिनँ,’ भुपालले थपे, ‘केही आफन्तहरूले चालक र मेरो भाइका बीचमा सामान्य मनमुटाव थियो भन्ने कुरा पनि गर्नु भएको छ। त्यसबारे अनुसन्धान हुनुपर्छ भन्ने हाम्रो माग हो।’
घटनाको राम्रो अनुसन्धान नभई शव नबुझ्ने उनले अडान लिए।
यो पनि:
सडकमा लडेका दुई युवकको गाडीको ठक्करबाट मृत्यु