केही समय पहिले हामी दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ को एउटा गाउँ पुगेका थियौं।
यो गाउँमा रूकुमबाट सरेर आएका मानिसहरूको बसोबास धेरै छ।
यहाँका घरैपिच्छेबाट युवा अवैध बाटो हुँदै अमेरिका पुगेका छन् भन्ने थाहा पाएपछि हामी त्यो गाउँ पुगेका थियौं।
भएका जग्गा जमिन बैंकमा धरौटी राखेर लिएको लाखौं ऋण एजेन्टलाई बुझाउने र ज्यानको जोखिम मोल्दै अबैधबाटो अमेरिका भासिने क्रम बढ्दै गएको स्थानीयले बताए।
वडाध्यक्ष सुनिल वलीले गाउँबाट अवैध किसिमले धेरै युवायुवतीहरू अमेरिका गएको बताए। अहिलेसम्म गाउँका १०० भन्दा बढी युवा अमेरिका गएको उनको दाबी छ।
'यहाँका घरैपिच्छे अमेरिका जान्छन्। हामीले केही समयअघि को-को गएछन् भनेर गन्ती गरेका थियौँ। एक सयभन्दा बढी युवा अमेरिका गएको पायौँ। अब मेरै साथीहरू र आफन्त पनि कति धेरै अमेरिका गएका छन्। परिवारका कोही सदस्य गएपछि उनीहरूकै सिको गरेर जानेहरू धेरै भए,' उनले भने।
त्यसरी अमेरिका जाने युवाहरूको घरमा पुगेर हामीले उनीहरूका बुवाआमासँग हामीले कुराकानी गरेका छौं।
सुरूमा हामीले भैंसीलाई घाँसपात गर्दै गरेका खड्ग वली भेट्यौँ। खड्ग उमेरले ६० वर्ष छुने तयारीमा छन्। उनकी श्रीमती लालमती ५५ वर्ष भइन्।
गोठमा तीन वटा भैंसी, तिनका पाडापाडी र एक हल गोरू छन्। दुहुनो भैंसी एउटा मात्रै छ। साँझको दूध घरमै खपत हुन्छ। बिहानको दूध नजिकैको बजारमा बेच्छन्।
भैंसीको गोठ पछाडि माहुरीका धेरै घार थिए। माहुरीका घार राखिएको ठाउँबाट निकै परसम्म लमतन्न बारी देखिन्थ्यो। त्यही बारीको बीचमा तोरीको एउटा कुरुट्टे (कुन्यु) थियो। तोरी छिनेपछि बचेको तोरो पहेँलपुर फूलेको छ। त्यहीँ घुसुवा बालीका रूपमा मसुरो र केराउ हराभरा छ।
यो सबै काममा खड्ग र लालमतीको साझा श्रम परेको छ। वर्षौंदेखि उनीहरू यसै गर्दै छन्। जनावर, मौरी र खेतीपातीमै रमाएका छन्। खेती साढे दुई बिघा छ।
‘काम नगरी बस्न मनले मान्दैन। यही माटोमा खुनपसिना बगाउन पाउँदा मन रमाउँछ,’ खड्ग भन्छन्, ‘हामी रातदिन मिहिनेत गर्छौं। सबै काम आफैँ गर्छौं।’
विस्तारै उमेर ढल्किदै गएका उनीहरू नै सायद यहाँ खेतबारी र गोठघर गर्ने उनीहरू नै हुन्। यो बारी, यो गोठमा पसिना बगाउने उनीहरूको अर्को पुस्ता यहाँ हुने छैन।
खड्ग र लालमतीका ६ भाइ छोरा छन्– जेठा देवेन्द्र, माइला खिमबहादुर, साहिँला डिल्लीबहादुर, काइँला धर्मबहादुर, राइँला राजन (डिल्लीजङ) र कान्छा चेतन।
उनका चारभाइ छोरा तल्लोबाटो हुँदै अमेरिका गए।
खड्ग वली र लालमतीका ६ भाइ छोरामध्ये चार भाइ तल्लो बाटो हुँदै अमेरिका पुगेका छन्। कान्छा छोरा चेतन अमेरिका जाने बाटोमा यात्रारत छन्। काठमाडौंमा पढ्दै गरेका काइँला छोरा धर्मबहादुर पनि अमेरिका जाने कुरा गर्न थालेका छन्।
दाङको शान्तिनगरको वडा नम्बर २ मा पर्ने उनीहरूको गाउँमा ‘रुकुमेली’ कै बाहुल्य छ।
केही वर्ष अघि जसरी सुविधा खोज्दै उनीहरू रूकुमको गाउँ छोडेर दाङ झरेका थिए, त्यसरी नै सुविधासम्पन्न जिवनको सपना पछ्याउँदै सिंगो गाउँका युवायुवती अमेरिका भासिएका छन्।
एउटै परिवारका सबै सन्तान, आफन्त गाउँले सबै जना अबैध बाटो अमेरिका पुगेका छन् भन्ने खबर दाङभरी फैलिएको छ। हामी त्यही खबर सुन्दै केही समय अघि रूकुमेलीको त्यो गाउँ पुगेका थियौँ।
लालमतीका अनुसार मइला छोरा २०७२ सालमा सुरुमा खिमबहादुर करिब ४८ लाख रुपैयाँ एजेन्टलाई बुझएर अमेरिका पुगे। उनी ६ वर्षपछि बिदामा घर आएका थिए। उनीपछि साँइला डिल्लीबहादुर दुई वर्षको प्रयासमा ५० लाख रुपैयाँ खर्च गरे अमेरिका छिरे।
जेठा देवेन्द्र पनि अमेरिका पुग्ने सपना पछ्याउँदै एक वर्षअघि उसै गरी गए। उनले एजेन्टलाई ५० लाख रुपैयाँ बुझाए। त्यसपछि राइँला राजन (डिल्लीजंग) गत वर्ष चैतमा अमेरिकाको बाटो लागे। उनी गत मंसिरमा पुगे। खड्गका अनुसार राजन जाँदा ६५ लाख रुपैयाँ लाग्यो। कान्छा चेतन बाटोमै छन्।
आमा लालमतीका अनुसार चेतनले एजेन्टलाई ७५ लाख रुपैयाँ दिनुपर्छ भनेका छन्। लालमती बोल्दै गर्दा खड्ग अघि सरेर बोले, ‘दलाल (एजेन्ट) को कुरा केही पनि नलेखिदिनू। छोरो बाटोमा छ, उसलाई समस्या पर्न सक्छ।’ चेतनलाई अमेरिका पठाउने एजेन्ट पुरानै चिनजानका हुन्।
कान्छो छोरो चेतन पनि अमेरिका जान हिँडेपछि आमा लालमतीको मनमा आशंकाको आँधीहुरी मडारिएको छ।
‘मलाई पाल्न फर्केर आउँछस् कि आउँदैनस् भनेर सोधेँ,’ उनले भनिन्, ‘पैसा कमाएर आउँछु, आमाबुबा पाल्छु भन्यो। अमेरिका पुगेपछि नफर्किने हो कि जस्तो लाग्छ, कान्छाको मायाले रुन्छु।’
बोल्दा बोल्दै लालमतीका आँखा भरिए। उनी एकछिन रोकिइन्, पछ्यौरीको छेउले आँखा पुछिन् र भनिन्, ‘मेरो अन्तिमको पेट पुछुवा छोरो हो। उसलाई जे खान लाग्यो त्यही दिन्थेँ। आज के खाँदै होला! भिडियोमा कुरा गर्दा राम्रा लुगा लगाउनू भन्छ। घरमा छोरा नभई राम्रा लुगाले मात्रै आमाको मनमा शान्ति मिल्छ र!’
चेतनले आमालाई अमेरिका पुगेपछि कार्ड पाउँछु, पैसा कमाउँछु, चिन्ता नलिनू भनेका छन् तर आमाको मन आत्तिएको छ। खड्ग भन्छन्, ‘नियास्रो मेट्न फेस बुकमा छोराहरूसँग भिडियो कल गर्छौं। यसरी कुरा गर्दा त नजिकै भएजस्तो लाग्छ तर यता घरमा आमाबाबु मात्रै छौं।’
खड्गलाई भने यसरी आफ्ना र अरूका छोराहरू पैसाका लागि विदेश गएको राम्रो लागेको छैन। यस्तै हो भने त देशमा कुनै दिन बुढाबुढी मात्रै बाँकी रहलान् जस्तो लाग्छ। अर्कोतिरबाट सोच्दा काम नगरी बस्नुभन्दा त गएको ठिकै हो जस्तो पनि लाग्छ।
‘आफ्नो देशमा काम गर्न लाज मान्छन्। विदेश गएर पैसाका लागि जस्तो काम पनि गर्छन्। मिहिनेत गर्नेले यहीँ (नेपालमा) पनि राम्रै कमाएका छन्,’ उनी भन्छन्, ‘यहाँ बसेर केही काम नगर्नु, रक्सी खाएर झगडा गर्नुभन्दा त बरु विदेश गएकै राम्रो जस्तो पनि लाग्छ।’
‘लालमतीलाई चाहिँ छोराहरू विदेश नगएकै भए हुन्थ्यो भन्ने लागेको हो तर उनलाई लागेर मात्र भएन। छोराहरू नगई मानेनन्। उनले भनिन्, ‘हाम्रो त कर्जा पनि थिएन। एक मानो खाने जुटाएकै थियौं। गुजारा चलेकै थियो। तर अहिलेका तन्नेरीलाई गाईभैंसी पाल्न, हलो जोत्न मन लागेन।
खड्ग र लालमती ३० वर्षअघि रुकुमबाट दाङमा बसाइँ सरेका हुन्। पहाडमा धेरै दुःख थियो। लालमतीका लागि पहाडको तुलनामा दाङको दुःख त एक छेउ पनि होइन। आफ्नो साढे दुई बिघा जग्गा आफैँले कमाइ गरेका छन्।
‘यही खेतको मकै र तोरीबाट पनि आम्दानी हुन्छ। महबाट पनि कामाइ हुन्छ। दूध पनि बेच्छौं,’ लालमती भन्छिन्, ‘हामी बुढाबुढी र दुई वटी बुहारी मिलेर खेतीपाती गरेका छौं। हातखुट्टा चल्दासम्म काम गर्न छोड्दैनौं।’
एक वर्षअघि सय घार मौरी थिए। हालै उनीहरूले अर्को पक्की घर बनाए। नयाँ घर बनाउँदा मौरी छिन्नभिन्न भए। दुई वर्षअघि एक छोराले अमेरिकाबाट करिब ८२ लाख रुपैयाँ पठाएको र त्यही पैसाले दस कठ्ठा बारी किनेको खड्गले बताए।
उनका अनुसार हालै बनाएको नयाँ घर पनि छोराहरूकै कमाइको हो। घर बनाउन एक करोड रुपैयाँभन्दा बढी खर्च भएको छ। अहिले गाउँमा सबैभन्दा आकर्षक घर उनीहरूकै हो।
पुरानो घर देखाउँदै उनले भने, ‘हाम्रो कमाइले हालेको घर त उः त्यही हो।’
सबै छोरा अमेरिका गएर बुहारी र बालबच्चा पनि उतै बोलाए भने नि!
लालमतीले अचम्म मानेजस्तो गरिन्। केही बेर मौन रहिन् अनि भनिन्, ‘यो ठूलो घरमा हामी (बुढाबुढी) दुई जना मात्र बस्नुपर्ने होला। हामीलाई तर्साउने त होला!’लालमतीका अनुसार उनले ६ भाइ छोरा घरमै जन्माइन्। छोराहरूलाई कहिल्यै ओखतीमुलो पनि गर्नु परेन। अस्पताल जाने चलन नै थिएन।
छोराहरूले कुनै दिन अमेरिका जान बोलाए भने नि!
लालमतीले भनिन्, ‘बोलाइहाले भने जाऔँला तर हामी सधैँ उता बस्न सक्दैनौं। दुःखसुख जे भए पनि मलाई आफ्नै गाउँ प्यारो छ।’
खड्गले पनि श्रीमतीकै कुरामा सही थापे।
‘हामीलाई त सधैंका लागि त्यता (अमेरिका) बस्ने कल्पना पनि छैन। जस्तो सुखसयल दिन्छौं भने पनि बस्न सक्दैनौं,’ उनी भन्छन्, ‘घुम्ने हिसाबले गइएला तर हाम्रा लागि यहीँको कमाइ ठूलो छ।’
खड्गलाई अमेरिकामा बस्न सकिँदैन जस्तो लाग्छ। ‘अमेरिकामा बोल्न जानिने होइन। त्यहाँको भाषा अर्कै छ,’ उनी भन्छन्, ‘यहीँको सहरमा त बस्न मन लाग्दैन, अमेरिकामा कसरी बस्नु र!’
चार जना छोराले अमेरिकाबाट कति पैसा पठाउँछन् त?
खड्गलाई उछिनेर लालमती बोलिन्, ‘अचेल त काम पाउनै मुश्किल हुन थालेको छ भन्छन् छोराहरू। हामीलाई उनीहरूको पैसा चाहिएको छैन। अमेरिका जाँदा उनीहरूले लगाएको ऋण तिरे र उनीहरूको जीवन राम्रो भयो भने हामीलाई पुग्छ।’
लालमतीको भनाइले मात्र खड्गको चित्त बुझेन। उनले थप प्रष्ट पारे, ‘छोराहरू काम पाउने होडबाजी धेरै छ, कमाइ पनि घट्दै गएको छ भन्छन्।’
जेठाका तीन छोराछोरी छन्। साइँलाको पनि बिहे भइसकेको छ। माइला छोरा खिमबहादुर गत पुस मध्यमा अमेरिकाबाट आएका थिए। उनले पनि हालै बिहे गरे।
उनी श्रीमती सम्झनालाई घरमै छोडेर अमेरिका जाने तयारीमा छन्।
खड्ग र लालमतीलाई केही वर्षमा छोराहरू आफ्नै देशमा फर्किऊन् भन्ने लागेको छ। खड्ग भन्छन्, ‘छोराहरूलाई आफ्नै देशमा बस्नुपर्छ, यहीँ काम गर्नुपर्छ भनेर सम्झाउने गरेको छु। जति राम्रो भए पनि अर्काको देश आफ्नो हुँदैन भन्ने गरेको छु।’
खड्गका अनुसार जेठा छोरा केही वर्ष पैसा कमाए फर्किन चाहन्छन्। माइलाले भरखरै बिहे गरेका छन्, उनको के विचार हुन्छ, भविष्यले निर्धारण गर्ला।
‘जेठाले अलिकति जग्गा हेर्दै गर्नुहोला भनेको छ,’ खड्ग भन्छन्, ‘जमिन जोतेर आफ्नै गाउँठाउँमा बस्नुपर्छ भन्छ।’
आफ्ना ६ भाइ छोरामध्ये एकपछि अर्को गर्दै पाँच भाइ छोरा चराका बच्चा गुँड छाडेर उडेझैँ भुरुरु अमेरिका उडेकोमा लालमतीलाई पनि निको छैन। बुढेसकालमा एक्लै भइने हो किन्ने चिन्ताले साताउने गरेको छ।
‘एउटी छोरी जन्मिएकी भए यहीँ (स्वदेश) बस्थी होली। बिहे गरेर गए पनि आमा भन्दै माइती आउँथी होली,’ उनले भनिन्, ‘छोरा जति सबै घर छाडेर हिँडेपछि बुढेसकालमा हाम्रो गति के होला।’
यसो भनिरहँदा लालमतीको अनुहारमा उदासीनता झल्केको आभास हुन्थ्यो। काठमाडौं रहेका काइँला पनि गए भने उनीहरूका सबै छोरा अमेरिकामा हुनेछन्।
उनीहरूले आफ्ना मात्र होइन आफन्तका घरको पनि पनि हालखबर सुनाए। उनिहरूले आफ्ना छोराको मात्र होइन आफन्तको पनि हालखबर सुनाए।
‘हाम्रा १२ जना आफन्त अमेरिका पुगेका छन्,’ मालतीले भनिन्।
एक जना अमेरिका पुगेपछि उसले अन्य आफन्तलाई तान्ने क्रम चक्र जस्तै भएर घरघरमा घुम्दै छ। अमेरिका जानेमध्ये धेरैले स्थानीय साहुमहाजनसँग ऋण लिने गरेका छन्। कतिपयले जग्गाजमिन धितो रोखेर बैंकबाट पनि लाखौं रुकम निकालेका छन्। अमेरिका जाने भनेपछि आफन्त, चिनजानका मान्छे र बैंकले सहजै ऋण दिन गरेको स्थानीयवासीको भनाइ छ।
यसरी नै चन्द्र र सुशीलाका तीन छोरा अमेरिका पुगे। जेठा प्रकाश, माइला जितबहादुर र कान्छा मोहन गरि तिनैजना ‘तल्लो बाटो’ भनिने अवैध मार्ग हुँदै अमेरिका पुगेका हुन्।
दुई भाइको बिहे भइसकेको छ, कान्छाको भएको छैन। दुबै बुहारी छोराछोरी पढाउन भनेर तुलसीपुर बजारमा बस्न थालेपछि घरमा बुढाबुढी मात्रै छन्।
दुई वर्षअघि माइला जितबहादुर एजेन्टलाई ४० लाख रुपैयाँ बुझाएर अमेरिका छिरे। जेठा प्रकाशले ३४ लाख बुझाए। खाडीको दुबईमा काम गर्दै गरेका मोहन पनि एजेन्टलाई ६० लाख रुपैयाँ बुझाएर उतैबाट अमेरिका गए।
चन्द्रका अनुसार उनले छोराहरूका लागि थातबाससहितको सबै जमिन धितो राखेर कुमारी बैंकबाट ४५ लाख, एनआइसी एसिया बैंकबाट ३५ लाख रुपैयाँ ऋण लिएका छन्। एभरेस्ट बैंकबाट १८ लाख रुपैयाँ लिएका थिए, त्यो चुक्ता गरिसके।
अन्य दुई बैंकमा १५ वर्षको किस्ताबन्दी छ। बैंकलाई बुझाउने मासिक किस्ता छोराहरूले पठाउने गरेका छन्। केही महिनायता भने पैसा पठाउन ढिलो गर्न थालेका छन्।
चन्द्रले भने, ‘एक वर्षअघिसम्म त लगालग पठाउँथे। अहिले काम पाउनै मुस्किल छ भन्छन्। जेठो छोरो कामबिना बसेको दुई महिना भयो।’
उनका अनुसार माइलाको कामाइ अरूको भन्दा राम्रो छ। केही महिना उनले मासिक साढे चार लाख रुपैयाँसम्म पठाए अहिले कमाइ आधा घटेको छ। कान्छा छोरा पनि ठिकै कमाउँछन्।
‘छोराहरू अमेरिकामा काम गर्नु भनेको रुपैडियाको टाँगाजस्तै हो भन्छन्,’ चन्द्रले छोराको कुरा सुनाए, ‘त्यति गाह्रो त हामीले भारतको सिम्लामा भारी बोक्दा पनि खेप्नु पर्दैन भन्छन्।’
कान्छा छोरा मोहन १२ कक्षामा पढ्दा पढ्दै अमेरिका हानिएका थिए। अहिले उनलाई नआएको भए पनि हुने रहेछ भन्ने लाग्न थालेको छ रे।
‘अमेरिका–अमेरिका भन्नु बेकार रहेछ। पैसा मात्र भनेर के गर्नु, ज्यानको ठेगान छैन। काममा ठूलो जोखिम लिनुपर्छ,’ चन्द्रले कान्छा छोराको भनाइ उद्धृत गरे,
‘बुबाआमासँग बसेर आफ्नै देशमा काम गर्नुपर्ने रहेछ। अमेरिका आएर गल्ती गरेँ। केही गरी फुस्किएर घर आउँछु।’
माइला पनि फर्किन चाहन्छन्।
‘माइलो पनि अमेरिकामा जति मिहिनेत गर्ने हो भने नेपालमै बंगुर फार्म खोले पनि फाइदा हुन्छ भन्छ। उसले ग्रीन कार्ड नपाएको छैन। दाजुभाइ भेट पनि हुँदैन,’ चन्द्रले भन्छन्, ‘घरमा पैसा पठाउँदा पनि अर्कैका नाममा पठाउनुपर्छ। बिरामी भए उपचार गर्न पनि मुस्किल हुन्छ रे। गैरकानुनी रूपमा अमेरिका छिर्नु नहुने रहेछ भन्छ।’
चन्द्र र सशीला २०५७ सालमा रुकुमबाट बसाइ सरेर दाङ आएका हुन्। उनीहरूसँग साढे दुई बिघा जमिन छ। एक बिघामा आफैँ खेती गर्छन्, बाँकी जमिन अधियाँमा दिएका छन्।
माइला जितबहादुरका एक छोरा छन्। जेठा छोरा प्रकाशका जुम्ल्याहा छोरा छन्। यी तीनै जना तुलसीपुरमा पढ्छन्, प्राथमिक तहका विद्यार्थी हुन्। दुबै बुहारी छोरा पढाउन तुलसीपुरमै बसेका छन्।
तीनै भाइ छोरा सात समुद्रपारि अमेरिका पुगेपछि र बुहारीहरू पनि घर छाडेर बजारमा बस्न थालेपछि आमाबाबुको मनमा के पाक्दो हो!
‘छोराहरूको यादले साह्रै सताउँछ। दसैँतिहारमा नरमाइलो लाग्छ। मिठोमसिनो खाना पाक्दा छोराहरूको यादमा मुटु धड्किन्छन्,’ चन्द्र भन्छन्, ‘आफूलाई जति चिन्ता परे पनि श्रीमतीलाई केही भन्दिनँ। मलाई भन्दा बढी पीडा उसलाई हुन्छ जस्तो लाग्छ।’
चन्द्रका अनुसार जेठा छोरा प्रकाश देश छाड्न इच्छुक थिएनन्। हरेक ठाउँमा भएको राजनीतीकरणका कारण दिकदार मानेर अमेरिका जान बाध्य भएका हुन्।
‘छोराबुहारी, नातिनातिना सबै सँगै बसेर आधा रोटी खाए पनि सन्तोष मिल्छ,’ उनी भन्छन्, ‘सबै विदेश गएका छैनन्। आफ्नै देशमा काम गरेर पनि राम्रो आम्दानी गरेका छन्। आफ्नो काम गर्न चाहनेलाई सरकारले मद्दत गर्नुपर्छ।’
चन्द्र र सुशीला फेसबुक मेसेन्जरमा छोराहरूसँग कुरा गर्छन्। बुबा चन्द्र र माइला छोरा जितबहादुरबीच भने कुरा नभएको पाँच महिना भयो।
यति लामो समय किन कुरा नभएको त?
चन्द्र केही बेर मौन देखिए। बैंकको ऋणको सवालमा बाबु र माइला छोराबीच कुरा फरक परेको रहेछ।
‘बैंकको ऋण तिरेर मात्र अन्त खर्च गर्नुपर्छ भन्ने मेरो कुरा थियो। उसले दाजुभाइलाई अमेरिका ल्याउन सघाएँ। अब ऋण तिर्न सक्दिनँ भन्यो,’ चन्द्रले भने ‘त्यसपछि मैले फोन गरेको छैन, उसले पनि गरेको छैन। सके कान्छाले तिर्ला, नसके आफूसँग भएको जग्गा बचेर तिरौँला।’
चन्द्र र सशीलाका तीनै छोरा अमेरिकामा छन्। पैसा कमाउँदै पनि छन्। गाउँका धेरै युवा अमेरिकामा छन्। यसो भए पनि चन्द्रको मनमा चैन छैन। यसरी सबै युवा विदेश जाने हो भने देश युवाविहीन हुन बेर लाग्ने छैन भन्ने उनलाई लागेको छ। उनी यस्तो अवस्था नआओस् भन्ने चाहन्छन्।
चन्द्र र सशीलाको घरसँगै जोडिएको छ पदमबहादुर र जयन्ता वलीको घर।
उनीहरूका दुई छोरा विष्णु र मिलन अमेरिका पुगेका छन्। पहिला कान्छा मिलन गए। उनी गएको साढे दुई वर्ष भयो। जेठा विष्णु पुगेको आउने जेठमा एक वर्ष पूरा हुन्छ।
मिलन कक्षा ११ पढ्दापढ्दै गए। विष्णु १२ कक्षा पूरा गरेर गए। कान्छाले एजेन्टलाई ४८ लाख रुपैयाँ बुझाएका थिए, जेठाले ५३ लाख बुझाए।
घरमा जयन्ता र उनका श्रीमान्, जेठी बुहारी मुना र चार महिनाका नाति छन्। छोरीको बिहे भएर आफ्नै घरमा छिन्।
यो परिवारले पनि दुई छोरा अमेरिका पठाउन थातथलो धितो राखेर बैंकका ऋण निकालेको छ। मासिक ३२ हजार रुपैयाँ ब्याज तिर्ने गरेको जयन्ताले बताइन्।
उनले भनिन्, ‘छोराहरूले नेपालमा काम भएन, कमाइ भएन, अमेरिका जान्छौं भनेपछि बैंकबाट ऋण निकाल्यौँ। उनीहरूले पठाएको पैसाले ब्याज तिर्दै छौं।’
आमाबाबुलाई छोराहरूको सम्झनाले सताउने गरेको छ।
जयन्ता भन्छिन्, ‘अरू बेला जेजस्तो भए पनि चाडबाडमा साह्रै नरमाइलो लाग्छ, मन दुःख्छ। हामीले नजाओ भन्दा पनि छोराहरूले मानेनन्। जसरी पनि आफ्नो व्यवहार चलाउनै पर्दो रहेछ, मन बुझाउनै पर्दो रहेछ।’