एकजना छात्रा फलामे डन्डी फिताले नाप्थिन् र मार्करले चिह्न लगाउँथिन्। त्यही अनुरूप टुक्रा गर्न ग्रेन्डिङ मेसिनतर्फ डन्डी सोझ्याउँथिन्। अर्की छात्रा ग्रेन्डिङ मेसिन चलाउँथिन्।
डन्डी काट्दा आगोका झिल्का जति निस्के पनि उनीहरू ढुक्क देखिन्थे। मेसिनको आवाज मत्थर हुँदै जाँदा फलामे डन्डी टुक्रा भइसकेको हुन्थ्यो। टुक्रा डन्डीको पनि नाप लिन्थे। कटाइ मिलेन कि, बांगो पो काटियो कि, लामोछोटो भयो कि, अन्तिम पटक जाँच गर्दै फेरि ग्रेन्डिङ मेसिनका राखेर मिलाउँथे।
यी दुई छात्रा थिए तुलसीपुर मेट्रो कलेजमा मेकानिकल इन्जिनियरिङको डिप्लोमा पाँचौं सेमेस्टरका विद्यार्थी सनम नेपाली र अनिता ओली। दुबैको उमेर १८ वर्ष छ। दुबै जना तुलसीपुर उपमहानगरपालिकाकै बासिन्दा हुन्।
सनम र अनिता पालैपालो मेसिन चलाउँथे। अनिताले फिता समाउँदा सनम मेसिन चलाउँथिन्। उनीहरू हेलमेट, चेस्ट गार्ड, पञ्जा लगायतका सुरक्षा कवचमा थिए। उनीहरूका साथ सहपाठी दुई जना छात्र पनि काममा तल्लीन थिए।
यी चार जना विद्यार्थीले आफ्नै कलेजमा डेस्कबेन्च बनाउने कामको जिम्मा लिएका थिए।
‘हामी कमाउँदै पढ्दै गर्छौं,’ सनमले भनिन्, ‘सिप सिकेपछि चार जनाले कलेजमा डेस्कबेन्च बनाउने जिम्मा लिएका हौं।’
अनिताका बुवाआमा तरकारी व्यापार गर्छन्। उनीहरूका दुई सन्तान हुन्। आर्थिक अवस्था बलियो थिएन।
अनिताले प्राविधिक शिक्षामा कमाउँदै पढ्न पाइन्छ भन्ने थाहा पाइन्। तुलसीपुर मेट्रो कलेजले नगरभरका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका छात्रालाई निःशुल्क पढाउँछ भन्ने थाहा पाएर झन् खुसी भइन्।
सनमको अवस्था पनि अनिताको जस्तै हो। सनमले भोजपर माविबाट एसइई उत्तीर्ण गरेकी हुन्। घरको आर्थिक अवस्था कमजोर छ। बुबा श्यामलाल घरमा रङ लगाउने काम गर्छन्। आमा सीता घरगृहस्थी सम्हाल्छिन्।
सनमका बहिनीहरू सामुदायिक विद्यालयमा पढ्छन्। सनम स्कुल पढ्दादेखि नै बुबाआमालाई आम्दानीमा सघाउन सकिन्छ कि भनेर सोच्थिन्।
‘बुबाआमा दुबै जना हाम्रा लागि छोराछोरी जे भने पनि तिमीहरू नै हौ, छोरी भएर कमजोर छौं भन्ने सोच नराख्नू, जहिल्यै हिम्मतले अघि बढ्नू भन्नुहुन्थ्यो,’ सनमले भनिन्, ‘मेकानिकल इन्जिनियरिङ पढ्न मेट्रो कलेजमा भर्ना हुनुअघि छोरीमान्छे भएर मेकानिक हुने होइन भनेर अर्कै विषय पढ्न सल्लाह दिनेहरू पनि थिए तर मैले कसैको कुरा सुनिनँ।’
मेट्रो कलेजले तुलसीपुर नगरभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण छात्रालाई निःशुल्क पढ्ने सुविधा दिनु निकै सकारात्मक रहेको उनको निष्कर्ष छ।
‘अरू कलेजमा पढ्न सक्ने आर्थिक अवस्था थिएन,’ सनमले भनिन्, ‘मेट्रो कलेज नभएको भए म मेकानिकल इन्जिनियरिङ पढ्न पाउने थिइनँ। कमजोर आर्थिक अवस्थाका छोरीहरूका लागि मेट्रो कलेजले ठूलो अवसर दिएको छ।’
अनिताको धारणा पनि सनमको जस्तै छ।
‘मेकानिकल फिल्डमा महिलाको सहभागिता निकै कम छ। यो फिल्डमा छोरीमान्छेका लागि धेरै अवसर छ,’ उनी भन्छिन्, ‘मेकानिकल इन्जिनियरिङ केटाले मात्रै पढ्ने विषय हो, केटाले मात्रै गर्ने काम हो भन्नु गलत हो।’
महिलाई मेकानिकल फिल्डमा काम पाउन र आफ्नो व्यवसाय चलाउन सहज हुने ठान्छिन् अनिता।
‘सानी छँदा सहर बजारमा वेल्डिङ गर्दा निस्केको आगोको झिल्का देखेर डर लाग्थ्यो। अहिले आफैं झिल्का निकाल्दै काम गर्छु,’ उनी भन्छिन्, ‘अब त ग्रिल उद्योग नै चलाउन सक्छु भन्ने विश्वास छ। पाँचौं सेमेस्टरदेखि अटोमोबाइल्सको पढाइ हुन्छ। भविष्यमा अटोमोबाइल्समा पनि काम गर्न सक्छु।’
कक्षा कोठामा पढेअनुसार नै फिल्डमा अभ्यास हुने भएकाले मेकानिकल इन्जिनियरिङमा अनिताको रुचि भएको हो। भन्छिन्, ‘मेट्रो कलेजबाट निस्केको दिन आफ्नै व्यवसाय गरेर पैसा कमाउन सक्छु भन्नेमा म ढुक्क छु।’
सनम र अनिताको टिमले कलेजमा ४० जोड डेस्कबेन्च बनाउने जिम्मेवारी पाएको थियो। चार जनाको टिमले चार दिनमै काम सक्यो। टिमले लगत्तै भुक्तानी पनि पायो।
टिमका सहपाठी जीवन चौधरीले कलेजका लागि आवश्यक फर्निचर विद्यार्थीले नै बनाउँदा कलेज र विद्यार्थी दुबैलाई फाइदा भएको बताए।
‘हामीले आफ्नै लागि बनाउने भएपछि नराम्रो हुने कुरै भएन,’ उनले भने, ‘विद्यार्थीले कलेजमै काम गर्न पाए, आम्दानी भयो। कलेजलाई पनि सस्तो प¥यो।’
विद्यार्थीको कामको निरीक्षणमा थिए २३ वर्षीय खेमराज नेपाली। जुम्लाको चन्दननाथ नगरपालिका–३, डाँडाकोटका स्थायी बासिन्दा खेमराज तुलसीपुर मेट्रो कलेजमा आएको साढे तीन वर्ष भयो। उनी छैठौं समेस्टरको परीक्षामा सहभागी भएर परीक्षाफलको प्रतीक्षामा छन्।
उनले सुर्खेतको छिन्चुस्थित विजयालक्ष्मी प्राविधिक शिक्षालयबाट प्रि–डिप्लोमा कोर्स पूरा गरेका थिए।
उनी मासिक तलब पाउने गरी ल्याब असिस्टेन्टका रूपमा कलेजमै कार्यरत छन्। खेमराजको जिम्मेवारी प्रयोगशालामा विद्यार्थीलाई अभ्यास गराउने हो।
हालै खेमराजसहितका दस जना सहपाठी मिलेर कलेजको एउटा भवनमा विद्युत वाइरिङको काम गरे। आसपासका गाउँबस्तीमा विद्युतीय सामग्री मर्मतमा मेट्रो कलेजकै विद्यार्थीले अवसर पाउने गरेका छन्।
खेमराज भन्छन्, ‘इन्जिनियरिङ पढेको व्यक्तिले संसारको जुनसुकै कुनामा पनि काम पाउँछ। मेकानिकल इन्जिनियरिङमा महिलाका लागि ठूलो अवसर छ। काम गर्ने जाँगर चाहियो।’
तुलसीपुर उपमहानगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ तत्कालीन नगर प्रमुख घनश्याम पाण्डेले २०७६ सालमा मेट्रो कलेज स्थापना गराएका थिए। यहाँ हाल डिप्लोमा तहका ६ वटा र प्रिडिप्लोमा तहका ३ वटा शैक्षिक कार्यक्रम चलेका छन्। कलेजमा हाल ३७ जिल्लाका विद्यार्थी छन्।
लुम्बिनी प्रदेश सरकारको नौ करोड रुपैयाँ अनुदानमा कलेजको नयाँ भवन बनेको छ। तुलसीपुर उपमहानगरको पाँच करोड रुपैयाँ अनुदानमा छात्रावास बनेको छ।
पशुपति माध्यमिक विद्यालयको करिब आठ बिघा जमिनमा कजेलको संरचना छ। अतिक्रमणमा परेको उक्त जमिन तुलसीपुर उपमहानगरको सक्रियतामा खाली गराइएको थियो।
मेट्रो कलेजले तुलसीपुर उपमहानगरभित्रका सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरेका छात्रालाई पूर्ण छात्रवृत्तिमा पढाउने गरेको छ। क्याम्पस प्रमुख वसन्त आचार्यका अनुसार कलेजमा करिब ८ सय विद्यार्थी छन्, तीन मध्ये कम्तीमा ३ सय जना पूर्ण छात्रवृत्तिमा पढ्छन्।
यो कलेज प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गत चलेको बहुप्राविधिक शिक्षालय हो। इन्जिनियरिङतर्फ डिप्लोमा तहमा मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढाइ हुन्छ।
प्रि–डिप्लोमा तहमा इलेक्ट्रिकल इन्जिनियरिङ र मेकानिकल इन्जिनियरिङ विषय पढाइ हुन्छ।डिप्लोमा तहमा वन विज्ञान, बाली विज्ञान, फुड एन्ड डेरी टेक्नोलोजी र सूचना प्रविधि विषय पनि पढाइ हुन्छ।