झण्डै आधा अर्ब रूपैयाँको लगानीमा सात वर्ष पहिले रोहिणी सिँचाइ आयोजनाको काम सुरू हुँदा तिलोत्तमा नगरपालिका-१२ प्रगतीनगरकी सुककुमारी थारूलाई अब सिँचाइको अभावमा खेत बाँझो राख्नुपर्ने समस्याको अन्त्य हुन्छ भन्ने लागेको थियो।
आफूहरूकै जमिनको सिँचाइका लागि निर्माण गरिने सिँचाइ आयोजनामार्फत सडक, खानेपानी, पर्यटन लगायतका क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने सुन्दर सपना देखाइएपछि सुककुमारीले आयोजनाका लागि आफूले उपभोग गर्दै आएको जग्गासमेत छोडिदिएकी थिइन्।
विकास निर्माणले गाउँ खोज्दै आएको भन्दै स्थानीय टेकबहादुर आलेले पनि आफ्नो चार कट्ठा खेतीयोग्य जमिन सिँचाइ आयोजनाको बाँध निर्माणका लागि छाडेका थिए।
सिँचाइको बाँध बनेपछि बाँझो छोड्नुपर्ने खेतीयोग्य जमिन हराभरा हुन्छ भन्ने उनको विश्वास थियो।
तर अहिले उक्त सिँचाइ आयोजना सुककुमारी र टेकबहादुर मात्र होइन तिलोत्तमा र देवदहका सयौं किसानहरूका लागि समस्या बनेको छ।
नजिकै खोला भएर पनि सिँचाइको सहज सुविधा नहुँदा तिलोत्तमा र देवदह नगरपालिकाका सयौं विगाह खेतीयोग्य जमिनमा खेतीका लागि आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ।
किसानहरूको सोही बाध्यतालाई मध्यनजर गर्दै २०७४ सालमा ४७ करोड २४ लाख ८६ हजार रूपैयाँको लागतमा रोहिणी सिँचाइ परियोजना शुभारम्भ गरिएको थियो।
२०७४ साल जेठ ४ गते डिभिजन कार्यालय रूपन्देहीसँग निर्माणको जिम्मा लिँदा निर्माण कम्पनी अर्घाखाँची बबुल जेभीले २०७७ जेठ ३ गतेसम्म सिँचाइ आयोजना सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो।
सुरूमा स्थानीय नागरिक र किसानहरूले असहमति जनाएर अवरोध गरेपछि निर्माणमा केही ढिलाइ भयो। स्थानीयको विरोधपछि यो आयोजना सम्पन्न भएपछि तिलोत्तमा र देवदहको बीचबाट बग्ने पौराणिक रोहिणी नदिमा निर्माण हुने जलसागरले यसक्षेत्रमा बहुआयामिक पर्यटन विकासमा ठूलो सहयोग पुग्ने र जलाशयको बीचमा बुद्धको मूर्ति स्थापना गरी धार्मिक पर्यटनको रूपमा समेत विकास गर्ने आश्वासन दिइएको थियो।
तर आयोजनामा ४० करोड रूपैयाँ खर्च भएपनि सात वर्ष सम्म अलपत्र छ।
आयोजना सम्पन्न भएर खेतमा सिँचाइ सुविधा पाउने आशामा बसेका किसानहरूलाई बाँध क्षेत्रको गलत डिजाइनका कारण खेतीयोग्य जमिन र बस्तीमा बाढी पस्न थालेपछि मर्माहत भएका छन्।
४० करोड रकम खर्च भइसकेपनि बाँधको गलत डिजाइन भएको भन्दै आयोजना अलपत्र परेपछि पछिल्ला तीन वर्षदेखि बाँध आसपासका बासिन्दा बाढीको त्रासमा बस्न बाध्य छन्।
देवदह र तिलोत्तमा नगरपालिकाको १५ सय हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्यसहित आर्थिक वर्ष ०७३/०७४ मा सुरू गरिएको आयोजना पुरा हुनै लाग्दा बाँधको गलत डिजाइन भन्दै अलपत्र छोडिएको छ।
रोहिणी नदीको पुलदेखि २ किलोमिटर दक्षिणतर्फ बाँध बनाएपछि बाढीले ल्याएको भस्कट (बाढीले ल्याउने गिट्टी बालुवाको थुप्रो) ले नदीको पानी बग्ने बहाव भरिएको छ। पानी बग्ने बहाव क्षेत्रमा भस्कट भरिएपछि वर्षामा आउने बाढी सिधै तिलोत्तमा, देवदह र रोहिणीका किसानको खेतमा पुगेर डुबान हुने गरेको छ। बाढीका कारण तिलोत्तमा नगरपालिकाको वडा नम्बर १०, ११ र १२ तथा देवदह नगरपालिका र रोहिणी गाउँपालिकाका कतिपय वडाको सयौं विगाह जमिन नदी कटानको जोखिममा परेको छ।
आयोजना सम्पन्न नहुँदै बाँधका कारण खेत र बस्तीमा बाढी पस्न थालेपछि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रूपन्देहीले पुनः मूल्यांकनका लागि डिपिआर बनाउन मन्त्रालयमा आग्रह गरेको छ।
कार्यालय प्रमुख दामोदर सापकोटाले आयोजना सम्पन्न नहुँदै स्थानीय बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्न थालेपछि अध्ययन र पुनः मूल्यांकनको लागि मन्त्रालयमा आग्रह गरिएको बताए।
‘आयोजनाको भौतिक रूपमा अध्ययन र पुनः मूल्यांकनका लागि डिपिआर बनाउनको कार्यालयबाट मन्त्रालयलाई आग्रह गरिएको छ, मन्त्रालयले पुनः मूल्यांकनसहित डिपिआर तयार नगरिदिँदा आयोजनाको सबै काम रोकिएको छ,’ सापकोटाले भने।
सापकोटाले आफू ६-७ महिना अघि मात्रै कार्यालय प्रमुख भएर आएकोले पुनः मूल्यांकन नगर्दा सम्म आयोजनाको डिजाइनमा कहाँनेर त्रूटि भयो भन्न नसक्ने बताए।
महालेखा परीक्षकको कार्यालयले भने आयोजनाको डिजाइन नै त्रूटिपूर्ण रहेको तथा निर्माण कम्पनी र परामर्श दाताको कमजोरी देखाएको छ।
महालेखा परीक्षकको कार्यालय लुम्बिनीले २०७८/७९ को प्रतिवेदनमै योजनाको त्रूटिपूर्ण डिजाइन तयार पार्ने, जाँच वा स्वीकृत गर्ने अधिकारी र सो कार्यमा संलग्न परामर्शदाताहरूलाई कारबाही गर्नुपर्ने सुझाव पेश गरेको थियो।
‘जल स्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रूपन्देहीको रोहिणी सिँचाइ योजना अन्तर्गत हेडवर्क, गाइडवण्ड र प्रोटेक्सन निर्माण कार्यमा ३० करोड ७७ लाख ६८ हजार रूपैयाँ र नहर संरचना बापत ८ करोड ७८ लाख ५१ हजार रूपैयाँ समेत कुल ३९ करोड ५६ लाख १९ हजार खर्च भएकोमा योजना संचालनमा देखिएन,’ महालेखाले भनेको छ।
परियोजनाको निर्माण सम्पन्न भएपछि खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुग्ने मात्र होइन तिलोत्तमा र देवदहको बीचबाट बग्ने रोहिणी नदिमा बन्ने जलाशयमा बुद्धको मूर्ति स्थापना गरी धार्मिक पर्यटनको रूपमा समेत विकास गर्न सकिने आश्वासन स्थानीयलाई दिइएको थियो।
तर अहिले रोहिणीमा जलाशय बन्ने त कता हो कता सिँचाइका लागि बनाइएको बाँधका कारण बाढी पसेपछि खेतीयोग्य जमिन बगर बनेको छ।
२०७८ सालमा आएको बाढीले एक विगाह खेत सबै बगर बनाइदिएको सुककुमारीले गुनासो गरिन्।
‘बाढीले बगाएर ल्याएको गिट्टी बालुवा थुप्रिएर खेत नै बगर बनेको छ, खेती लगाउन नपाएपछि हरेक वर्ष चामल समेत किनेर खानुपरेको छ,’ उनले भनिन्।
गाउँमा सिँचाइको योजना सुरू हुँदा खुसी बनेकी सुककुमारीले तीन वर्षदेखि खेतमा खेती गर्न पाएकी छैनन्।
‘सिँचाइ आयोजना सुरू हुँदा राम्रै लागेको थियो, अहिले भने विकासको नाममा निम्त्याएको विनाशले गरिखान दिएन,’ उनले गुनासो गरिन्।
देवदह-३ बसन्तपुरकी जोखनी थारूले घरमै किराना र कस्मेटिक पसल चलाएकी थिइन्।
खेतीपातीसँगै किराना र कस्मेटिक पसलको आम्दानीले घरपरिवार चलाउन उनलाई सहज बनेको थियो। २०७८ सालमा आएको बाढीले घरको तल्लो तलामा रहेको पसल डुबाइदियो। गोठमा पालेका हाँस कुखुरा पनि सबै बगायो।
मध्यरातमा आएको बाढी घर र गोठमा पसेपछि पाँच लाख भन्दा बढिको क्षति गराइदिएको उनले बताइन्।
‘दुई तलाको घर भएकाले हामी माथिल्लो तलामा गएर ज्यान जोगायौं, भुई तलामा र गोठमा भएका धनमाल र बस्तुभाउ सबै बगायो। रोहिणी सिँचाइ आयोजनाको ड्यामकै कारण बस्ती र खेतमा बाढी पस्यो,’ उनले भनिन्, ‘त्यो भन्दा पहिले कहिल्यै बाढी पसेको थिएन, सिँचाइको बाँध र नहर बनेपछि बाढी सबै बस्ती र खेतमा सोझियो।’
भएको चार कट्ठा खेत पनि बगर बनेपछि तीन वर्ष खेती गर्न नसकेको उनले गुनासो गरिन्।
तिलोत्तमा नगरपालिकाको वडा नम्बर १० र देवदह नगरपालिकाको वडा नम्बर २ को संगमस्थल रोहिणी नदीमा ३ हजार ५ सय मिटर लम्बाइको जलाशय बनाउने र ८ सय मिटर चौडाइ र ५० मिटर गहिरो ड्याम बनाएर तिलोत्तमा र देवदहको १ हजार ५ सय हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउने भन्दै आयोजनाको निर्माण सुरू गरिएको थियो।
सोही अनुसार आयोजनाको पूर्वतर्फ २ हजार ६५५ लिटर प्रतिसेकेण्ड पानीको बहाव क्षमता सहितको क्यानल तयार भएको छ भने पश्चिमतर्फ पनि ९६५ लिटर प्रतिसेकेण्ड पानी जाने गरी क्यानल तयार भएको छ।
तिलोत्तमा-१२ प्रगतीनगरकी मनिषा बोहोरा क्षेत्रीले ड्याम बनाएपछि फेवातालकै रूपमा रोहिणी जलाशय बन्ने र त्यसैको माध्यमबाट गाउँको अन्य विकासको ढोका खुल्छ भनेर देखाइएका सुन्दर सपनाले बस्ती नै उठिबास गराइदिएको बताइन्।
‘मेरो १५ कठ्ठा खेत तीनवर्ष देखि बाँझै छ, हरेक वर्षायाममा बाढीले बगाएर ल्याएको गेग्रान थुप्रिएर गाँउको सबै खेत बगर बगर बनेका छन्,’ उनले भनिन्।
प्रगतीनगर भाटा टोल विकास संस्थाका अध्यक्ष फत्तबहादुर थापाका अनुसार सिँचाइ आयोजनाकै कारण एउटै टोलको ६० विगाह बढि खेत बगर बनेको छ।
‘पहिले लहलह धान र तोरी फल्ने खेत अहिले बगर बनेर काँस फुलेको छ। खेत हेर्दा रनाह पर्ने हुन्छ,’ उनले भने।
बाढी पसेर तिलोत्तमा वडा नं १० र १२ तथा देवदह २ र ३ को डेढ सय बिघाह भन्दा बढि खेतमा क्षति पुर्याएको छ।
वडाअध्यक्ष, नगरपालिकाको मेयर, संघीय सांसद, प्रदेश सांसद सबैलाई बाँधको त्रूटि सच्चाएर आफूहरूको समस्या समाधान गर्न आग्रह गरेपनि अहिलेसम्म कुनै सुनुवाई नभएको उनले बताए।
‘हिउँदभरी कसैले पनि कुनै पहल गर्नुहुन्न। जब वर्षा आएर बाढीको डुबान सुरू हुन्छ बल्ल अनुगमन, निरीक्षण भन्दै लस्कर लिएर आउनुहुन्छ,’ उनले भने।
तिलोत्तमा-१० का अगुवा दामोदर भुसाल पर्यटन र सिँचाइको लागि भन्दै निर्माण सुरू गरिएको यो बाँधलाई पर्यटकीय हिसाबले विकास गर्ने गरी रि-डिजाइन गरेर भएपनि निरन्तरता दिनुपर्ने बताउँछन्।
‘राज्यको ३९ करोड बढी खर्च भइसकेको छ। यति ठूलो आयोजना अलपत्र रहँदा एकातर्फ राज्यको लगानीबाट स्थानीयले लाभ लिन सकेका छैनन् भने अर्कोतर्फ आयोजनाकै कारण स्थानीयले क्षति समेत व्यहोर्नु परेको छ, यसलाई रि-डिजाइन गरेर निरन्तरता दिनुपर्छ’, उनले भने।