दाङको तुलसीपुर बजारबाट उत्तरतर्फ करिब ५ किलोमिटर यात्रा गरेपछि पुगिन्छ, राप्ती आँखा अस्पताल। त्यहाँबाट कच्ची बाटो हुँदै उत्तरतर्फ जाँदा नजिकै छ मजुवा गाउँ।
त्यही गाउँमा दिउँसो एक समय प्रायः बाजा बजेको सुनिन्छ। नाचगान चलेको हुन्छ। गाउँमा हरेक दिन बिहे वा कुनै उत्सवजस्तो उल्लास हुन्छ।
यो गाउँमा दुई वर्षयता ‘जनचेतना आमा समूह’ ले निरन्तर रूपमा नौमती बाजा बजाउने गरेको छ।
बिहानको घरधन्दा सकेर छोराछोरी स्कुल पठाएपछि केही फुर्सद निकालेर महिलाहरू एक ठाउँमा जम्मा हुन्छन् र बाजा बजाउँछन्। यो समूहमा नौमती बाजा बजाउन सिकाउने र सिक्ने क्रम निरन्तर छ।
आमा समूहमा दुई जना प्रशिक्षकले नौमती बाजा सिकाउँछन्।
प्रशिक्षक हुन् रूकुमका छोटीलाल परियार र रोल्पाका मानसिंह परियार।
पहिलो पटक ९ जना महिलाले नौमती बाजा बजाउन सिके। उनीहरू जान्ने भए। हाल थप नौ जना सिक्दै छन्।
‘सुरूमा त बजाउन सक्दिनँ कि जस्तो लागेको थियो,’ पहिलो चरणमा प्रशिक्षण लिएकी कल्पना रेग्मी वली भन्छिन्, ‘अहिले त जुनसुकै तालमा मजाले बजाउन सक्छु। अरू साथीहरू पनि बजाउनुहुन्छ।’
नौमती बाजा बजाउने समूहकी नाइके हुन् ३२ वर्षीया कल्पना, जनचेतना आमा समूहकी कोषाध्यक्ष पनि हुन्। उनी ‘गुरू बाजा’ बजाउँछिन्। गुरू बाजा भनेको पहिलो बाजा हो। गुरू बाजा बजाउनेले ताल दिनुपर्छ।
एउटा ताल पूरा भएपछि अर्को ताल सुरू हुन्छ। ताल फेर्ने पनि गुरू बाजा बजाउनेले नै हो।
कल्पनाका अनुसार नौमती बाजामा २२ वटा ताल हुन्छन्। बाटो अनुसारको ताल पनि हुन्छ, उकाली–ओराली र तेर्सो बाटाको ताल फरक हुन्छ। हर्षबढाइँ, पूजा, विवाह जस्ता उत्सवको आफ्नै ताल हुन्छ। मरिमराउको ताल अलग्गै हुन्छ।
जनचेतना आमा समूहका सदस्यहरूले नौमती बाजा बजाउन सिक्दा कतिपयले आलोचना गरेका थिए। तर आफूहरू राम्रो काम गर्न लागेकोमा स्पष्ट भएकाले कसैको कुरा नसुनेको कल्पनाले बताइन्।
‘काम नपाएका यी आइमाइहरूले के उल्का (नचाहिने काम) गर्न लागे, केही नपाएर बिहेमा बाजा बजाउने भए भने,’ उनले भनिन्, ‘हामीले कसैको कुरा सुनेनौं, जसले जे भने पनि वास्ता गरेनौं। हामी सफल भएका छौं।’
नौमती बाजा बजाउने अहिलेको समूहमा कल्पना गुरू हुन्। उनी अरू दिदी बहिनीलाई सिकाउन सक्ने भएकी छन्।
जनचेतना आमा समूहले नौमती बाजा दुई वर्षअघि रूकुम पश्चिमबाट साढे एक लाख रूपैयाँमा किनेर ल्याएको हो। तिहारमा देउसी-भैलो खेलेर पैसा जम्मा गरेको थियो, त्यही पैसाले बाजा किन्यो।
मजुवा गाउँमा महिलाहरूले समाजका लागि केही राम्रो काम गर्ने उद्देश्यका साथ २०७५ साल साउनमा ‘जनचेतना आमा समूह’ गठन गरेका थिए।
अध्यक्ष रहेकी ५० वर्षीया कस्तुरा खड्काका अनुसार आमाहरू मिलेर देउसीभैलो खेलेको पैसाले पहिलो वर्ष सार्वजनिक प्रयोजनका लागि केही भाँडावर्तन किने। अर्को वर्ष कुर्सी र फेरि अर्को वर्ष पाल किने।
दुई वर्षअघिको बैठकले नौमती बाजा किन्ने निर्णय गर्यो। एक लाख ५० हजारमा एउटा ट्याम्को, फरक प्रकारका ६ वटा दमाहा, दुई वटा सहनाई किने। नरसिंगा किन्न पैसा पुगेको छैन।
हाल जनचेतना आमा समूहमा ३० जना महिला आबद्ध छन्। उनीहरू समूहमा मासिक सय रूपैयाँ बचत गर्छन्। बचत गरेको रकमबाट समूहका सदस्यले नियमअनुसार ऋण पाउने व्यवस्था छ। हाल प्रतिसदस्य ६ हजार रुपैयाँका दरले बचत भएको छ।
आमा समूहले गाउँमा विवाह, पूजा, कुनै उत्सव इत्यादिमा नौमती बाजा बजाउने निम्तो पाउन थालेको छ। बजाउन लगाउनेले आफूखुसी पारिश्रमिक दिन्छन्। हालसम्म आमा समूहले पारिश्रमिक तोकेको छैन।
‘आर्थिक अवस्था कमजोर भएको परिवारलाई पनि आफ्ना छोराछोरी बिहेमा नौमती बाजा बजाउने रहर हुन्छ,’ कस्तुरा भन्छिन्, ‘हामी त्यो रहर पूरा गरिदिन्छौं, तोकेर पारिश्रमिक लिएका छैनौं।’
उनका अनुसार चुलोचौको र घाँसदाउरामा सीमित दिदी बहिनीहरू आमा समूह बनेपछि सामाजिक गतिविधिमा सक्रिय हुन थालेका छन्।
‘पहिला त कुनै एक जातिका मान्छेले मात्रै पञ्चैबाजा र नौमती बाजा बजाउँछन् भन्ने सोच थियो। त्यो सोच गलत सावित भएको छ,’ आमा समूहकी अध्यक्ष कस्तुराले भनिन्,‘युवाहरू विदेशमा छन्। गाउँमा संस्कार मासिँदैछ। हामी आमाहरू संस्कार जोगाउने काममा लागेका छौं।’
उनको विचारमा पञ्चैबाजा र नौमती बाजा नेपाली समाजको विशिष्ट कला र संस्कृति हो। यो कला र संस्कृति मासिन थालेको महसुस गरेर संरक्षणका लागि आमा समूह अघि सरेको हो।
‘हामीले संस्कृति संरक्षणको एउटा असल काम सुरू गरेका छौं। पहिले खिसीटिउरी गर्नेहरू आज प्रशंसा गर्दै गाउँको शोभा र चिनारी भन्न थालेका छन्, हामीलाई बधाई दिन्छन्,’ उनले भनिन्, ‘पार लगाउँछौं भनेर आँट गरेका थियौं, अहिले खुसी लागेको छ।’
जनचेतना आमा समूहको नौमती बाजा समूह गत फागुन २५ गते अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नगद र बाजा बजाउँदा लगाउने पोसाकसहित सम्मानित भयो।
गत माघ २४ गतेदेखि फागुन ८ गतेसम्म तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको व्यापारिक महोत्सवमा नौमती बाजा समूह उत्कृष्ट घोषित भएर पुरस्कृत भयो।
दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराहीमा गत फागुन १८ देखि २१ गतेसम्म आयोजना गरेको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक महोत्सवमा पनि जनचेतना आमा समूहले नौमती बाजा बजाएको थियो।
उक्त महोत्सवमा नेपालसहित अस्ट्रिया, बेल्जियम, बोत्सवाना, इस्टोनिया, जर्मनी, भारत, इजरायल, मलेसिया, पोल्याण्ड, दक्षिण अफ्रिका लगायत १३ देशका कलाकारहरूले आ-आफ्नो देशको कलासंस्कृति झल्कने प्रस्तुति गरेका थिए।
‘हिजो गुमनाम रहेका दिदीबहिनी मिलेर लोपोन्मुख पञ्चैबाजा र नौमती बाजा बजाएपछि सबैतिर चर्चा भइरहेको छ,’ जनचेतना आमा समूहकी सहसचिव शोभा खड्का भन्छिन्,‘अहिले धेरैतिरबाट सहयोग र हौसला आउन थालेपछि राम्रै काम गरेका रहेछौं भन्ने गौरव हुन थालेको छ।’
आमा समूहका सदस्यहरू बाजाको तालमा नाच्ने अभ्यास पनि गर्दै छन्। हाल उनीहरू बाजा बजाउने र नाच्ने अभ्यास खुला ठाउँमा गर्छन्। उनीहरूले एउटा व्यवस्थित हलको आवश्यकता महसुस गरेका छन्।
‘आमा समूहको एउटा हल भइदिए सिकाइ र अभ्यास प्रभावकारी हुन्थ्यो,’ शोभा भन्छिन्, ‘खुला आँगनमा बाजा बजाउँदा र नाच्न रमिता हेर्ने कतिपयले व्यक्तिगत टीकाटिप्पणी पनि गर्ने गरेका छन्।’
आमा समूहकी सदस्य २८ वर्षीया मुना वली नौमती बाजा बजाउन सिक्दै छिन्। उनले सुरू गरेको तीन महिना भयो। हरेक दिन दिउँसो केही घण्टा बजाउँछिन्। हाल चौथो बाजा सिक्दै छिन्।
३५ वर्षीया तिलसरी केसी सहनाई बजाउँछिन्। उनले अभ्यास गरेको ५ महिना भयो। गुरू थापेर सिकेकी होइनन्, आफ्नै अभ्यासले सिकेकी हुन्। उनलाई गुरूसँग सिकेको भए चाँडो हुन्थ्यो भन्ने लागेको छ।
तिलसरी गाउँमा हुने बिहे, पूजा, मेलापर्व, कुनै सांस्कृतिक उत्सव र समारोहमा बोलाएर बाजा बजाउन लगाउँदा आफूहरूको उत्साह बढ्ने गरेको बताउँछिन्।
बाजा बजाउने समूहकी ३६ वर्षीया लक्ष्मी केसी ‘ट्याम्को’ बजाउँछिन्। ट्याम्को दमाहा वर्गको सबभन्दा सानो बाजा हो।
उनी भन्छिन्, ‘ट्याम्कोमा निपुण हुन पाँच महिना लाग्यो। बाजा बजाउन पाउँदा निकै रमाइलो लाग्छ।’
आमा समूहमा अर्की सदस्य छिन् ३० वर्षीया पवित्रा खड्का। उनी तालिमको पालो कुर्दै छिन्। ‘पहिले नौ जनाले सिक्नुभयो। अहिले फेरि नौ जना सिक्दै हुनुहुन्छ,’ उनी भन्छिन्, ‘त्यसपछि मेरो पालो आउँछ। म उत्साहित छु।’
पवित्रालाई नौमती बाजाको धूनले गाउँ निकै रमाइलो लाग्न थालेको छ। यसलाई उनले गाउँका दिदीबहिनीको निकै राम्रो काम मानेकी छन्।
‘तुलसीपुर उपमहानगर र यहाँका संस्थाहरूले हाम्रो आमा समूहलाई हौसला दिन थालेका छन्,’ उनी भन्छिन्, ‘प्रदेश सरकारले पनि यस्तै साथ दियो भने आमा समूहले निकै राम्रो काम गर्न सक्छ।’
पवित्राको विचारमा बाजा बजाउनु कला हो। जात लिङ्गजस्ता कुरामा सीमित भयो भने कला लोप हुन्छ। पुरानो जमानामा जातका आधारमा भयो भनेर अहिले पनि त्यही मान्नुपर्छ भन्ने उनलाई लाग्दैन।
भन्छिन्, ‘बाजा कला हुनेले बजाउने हो, जातले होइन भन्ने प्रमाणित भइसकेको छ। लोप हुन लागेका कला र संस्कृतिको संरक्षण गर्ने काममा लाग्नु सबैको जिम्मेवारी हो।’
पञ्चैबाजा पाँच जनाले र नौमती बाजा नौ जनाले एकसाथ ताल मिलाएर बजाउँछन्। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई हुन्छ। नौमती बाजामा सहनाई र ढोलकी दुई–दुई वटा हुन्छन्, नरसिंगा र कर्नाल थपिन्छन्।