रूकुम पश्चिमको प्रभु बैंक आठबिसकोट शाखामा एक करोड बढी आर्थिक अनियमितता गरी फरार भएका अपरेसन इञ्चार्ज निरजविक्रम शाहलाई छिमेकी देश भारतमा पक्राउ गरेपछि नेपाल ल्याइएको छ।
उनी माघ २१ गतेदेखि सम्पर्कविहीन थिए। त्यसपछि शाहले आफूहरूलाई ठगी गरेको भन्दै पीडितले जाहेरी दिएका थिए। त्यसैका आधारमा शाहविरूद्ध बैंक स्वयमले किटानी जाहेरी दिएको थियो।
बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले शाहविरूद्ध बैंकिङ कसुर मुद्दामा अपरेसन इञ्चार्ज शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरेको भन्दै बैंकको तर्फबाट किटानी जाहेरी दिएका थिए।
एक उच्च प्रहरी स्रोतका अनुसार बैंकका अपरेसन इञ्चार्ज शाह गोवाबाट पक्राउ परेका हुन्।
‘हामी पुग्दा बैंकका अपरेसन इञ्चार्जले होटलमा टेबुल पुछ्दै थिए,’ स्रोतले भन्यो, ‘हामीलाई चिनेपछि उनी धरधरी रोएका थिए।’
भारतीय प्रहरीको सहयोगमा शाहलाई गोवा हुँदै हवाई जहाजबाट लखनउ ल्याइएको थियो। लखनउबाट उनलाई ट्याक्सी रिजर्भ गरी नेपाल ल्याइएको हो।
प्राविधिक विश्लेषण गरी उनीहरूलाई पक्राउ गरिएको स्रोतले बताए।
शाहको लोकेसन ट्रेस गरेपछि जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट प्रहरी निरीक्षक धर्मेन्द्र खड्का र असई सुनिल थापा चैत ७ गते शाहलाई खोज्न गोवा प्रस्थान गरेका थिए। त्यहाँ भारतीय प्रहरीको सहयोगमा होटलमा टेबुल पुछ्दै गरेको अवस्थामा फेला पारेपछि तत्कालै शाहलाई पक्राउ गरिएको हो।
भारतमा पक्राउपछि बिहीबार सुर्खेत लगिएका उनलाई उच्च अदालत वीरेन्द्रनगर सुर्खेतबाट घटना अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको छ।
स्रोतका अनुसार बैंकका कर्णाली प्रदेश कार्यालय इञ्चार्ज शरद तिमिल्सिनाले शाहविरूद्ध बैंकिङ कसुर मुद्दामा अपरेसन इञ्चार्ज शाहविरूद्ध एक करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलन तथा दुरूपयोग गरेको भन्दै बैंकको तर्फबाट किटानी जाहेरीसहित मुद्दा दायर गरे पनि त्यति धेरै पैसा शाहले साथमा लगेकै थिएनन्।
विश्वसनीय स्रोतले भन्यो, ‘गैरकानुनी रूपमा अमेरिका जाने व्यक्तिहरूमाथि धमाधम लगानी गरेका शाहको पैसा कसैले फिर्ता नगरेपछि उनीमाथि लाखौं रकम अपचलन गरेको देखिन आएको हो।’
सम्बन्धित समाचार:
कर्मचारीले हिनामिना गरेको झन्डै ७० लाख पीडितलाई फिर्ता गर्यो प्रभु बैंकले
प्रभु बैंक रूकुम शाखाका अपरेसन इन्चार्जविरूद्ध १ करोड ३१ लाख हिनामिनाको उजुरी
अनि डण्डीरामले १७ लाख ठगिएको भेउ पाए!