दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सेवा लिन आउने बिरामीको चाप बढे पनि त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्दा सेवा प्रवाहमा सकस हुन थालेको छ।
५० बेडको स्वीकृति पाएर सञ्चालन भइरहेको अस्पतालमा दैनिक कम्तीमा पनि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्।
तर त्यो अनुपातमा चिकित्सकको दरबन्दी नबढ्नु र दरबन्दी अनुसारका चिकित्सक पनि नआउनुले सेवा प्रवाहमा समस्या हुन थालेको हो।
तुलसीपुर उपमहानगर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिकाका सर्वसाधारणहरू यहीँ आउने गरेका छन्।
त्यस्तै छिमेकी जिल्ला रोल्पा, रूकुम पूर्व, सल्यान, रूकुम पश्चिमबाट पनि बिरामीहरू उपचार गराउन त्यही अस्पताल पुग्छन्।
बिरामीको चाप हुँदा टिकट काट्न पनि सकस हुन्छ।
अस्पतालमा उपचार गराउन जाँदा घण्टौं लाइनमा बस्नु परेको र लाइन बस्दा पनि ठेलमठेल भएको एक सेवाग्राही शालिकराम विकले बताए।
‘यहाँ टिकट काट्न लाइन बस्दाबस्दा आजित हुनुपर्ने अवस्था छ,’ उनले भने, ‘त्यसपछि पनि डाक्टरसम्म पुग्न र डाक्टरलाई देखाइसकेपछि ल्याबको रिपोर्ट पाउन लामो समय कुर्नुपर्ने बाध्यता छ।’
अस्पतालमा पालो कुरिरहेका एक जना बिरामीका आफन्त भीमबहादुर ऐरीले पनि प्रादेशिक अस्पतालका सेवा प्रवाह समय अनुकूल चुस्त बन्न नसकेको गुनासो गरे।
‘यो अस्पतालको भीडभाड हेर्दा कसलाई के भन्नु जस्तो हुन्छ,’ उनले भने, ‘सेवाग्राही घन्टौं लाइनमा हुन्छन्, चिकित्सक सधैं बिरामीले घेरिएका हुन्छन्।’
गत शनिबार तुलसीपुर उपमहानगर-१० का जेष्ठ नागरिक गोवर्धन गौतम रिपोर्ट लिनकै लागि बिहान १० बजे अस्पताल पुगेका थिए। तर दिउँसो १ बजेपछि मात्रै उनले रिपोर्ट हात पारे।
‘अस्पतालमा बिरामीको चाप थेगिनसक्नु छ तर सोही अनुरूप चिकित्सकको दरबन्दी बढाउन राज्यले ध्यान दिएको छैन,’ पूर्वशिक्षक समेत रहेका उनले भने, ‘सेवा प्रवाह सहज र सरल बनाउन चिकित्सकको दरबन्दी बढाउन जरूरी छ।’
सर्वसाधारणको चाप अनुरूप अस्पतालमा चिकित्सक उपलब्ध नहुँदा एउटै चिकित्सकले एकै दिनमा सयौं बिरामी हेर्नुपर्ने अवस्था यो अस्पतालमा छ।
अस्पतालका अर्थोपेडिक सर्जन डा. हेमराज शर्माले पनि राप्ती प्रादेशिक अस्पतालमा जनशक्तिको अभावका कारण सेवा प्रवाहमा ढिलाइ भएको बताए।
‘मैले एकै दिन चार सयसम्म बिरामी हेरेको रेकर्ड छ,’ उनले भने, ‘अस्पतालमा हुने बिरामीको चाप अनुरूप दरबन्दी नहुँदा हामीले पनि सास्ती खेप्नु परेको छ।’
अस्पतालमा आउने कुनै पनि बिरामी उपचार नगराएर फर्कन नपरोस् भनेर सकभर सेवा दिने गरिएको उनले बताए। आफूले जेष्ठ नागरिक, बालबच्चाहरूलाई प्राथमिकतामा राखेर उपचार गराइरहेको पनि उनले बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.पदमराज अधिकारीले सरल र सहज रूपमा सेवा उपलब्ध गराउने विषयमा आफूहरू गम्भीर रहे पनि बिरामीको चाप बढ्दै गएको बताए। त्यसअनुसार दरबन्दी नबढ्दा समस्या हुने गरेको उनी बताउँछन्।
अस्पतालमा दरबन्दी बढाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटकपटक पत्राचार गरेको पनि उनले बताए। तर सुनुवाइ नभएको उनको गुनासो छ।
‘बिरामीको चाप अत्यधिक बढेको हुँदा दुई वर्ष पहिलेको जस्तो सहज सेवा प्रवाह गर्न सक्ने अवस्था आज छँदै छैन,’ उनले भने, ‘त्यस्तै सेवा प्रवाहका लागि जनशक्ति थप्नुको विकल्प छैन।’
अस्पतालमा दुई सय बेड सञ्चालन गर्नेबारे छलफल पनि भएको थियो। तर त्यसबारे कुनै काम अघि बढ्न सकेको छैन।
मेसु अधिकारीका अनुसार अस्पतालमा तत्काल पाँच सय बढी जनशक्ति आवश्यक छ। अहिले यहाँ चिकित्सक, नर्ससहित २३७ जना कर्मचारी कार्यरत छन्। दरबन्दीका जनशक्ति ७४ जना मात्रै हुन्।
अस्पतालमा विशेषज्ञ डाक्टर २ जना छन्। काज र करार गरी थप १२ जना डाक्टर छन्।
मेडिकल अफिसरको दरबन्दी ६ जना छ। काज र करारमा गरी जम्मा १४ जना मेडिकल अफिसर अस्पतालमा छन्। अन्य विभिन्न क्षेत्रका सबै कर्मचारी अस्थायी, करार सेवामा कार्यरत हुन्।
५० बेड क्षमताको अस्पताल भए पनि बिरामीको चाप बढेपछि बेड थप गर्दा १५० सम्म पुगेको मेसु अधिकारीले बताए।
'अहिले भएको जनशक्तिले यतिको काम गर्नु गर्व गर्न लायक कुरा हो,' उनले भने, 'अस्पताललई दुई सय बेड क्षमताको बनाइने भनिएको छ। त्यो भएपछि जनशक्ति पनि थप हुन्छ र सेवा प्रवाह सहज हुन्छ।'
उनले डाक्टरको व्यक्तिगत समयबाहेक निजी अस्पताल दौडने प्रवृत्तिलाई निरूत्साहित गर्दै आएको पनि बताए।
‘दिउँसो ३ बजेसम्म बिरामीले सेवा पाउनुपर्छ भन्ने कुरा मैले स्पष्ट कार्यान्वयनमा ल्याएको छु,’ उनले भने, ‘तर, कहिलेकाहीँ डाक्टरका अवस्था र परिस्थिति भने हामीले मनन गर्नुपर्छ।’
अस्पतालमा बायो मेडिसिन, टेक्निसियन पनि आवश्यकता छ।
अस्पतालमा सेवा प्रवाहका लागि आधुनिक उपकरणहरू भए पनि जनशक्ति नहुँदा ती प्रयोगमा आउन सकेको छैन। यसकारण बिरामीलाई अन्तै रिफर गर्न अस्पताल बाध्य हुनुपर्ने अवस्था आउने गरेको उनले बताए।
जटिल प्रकृतिका बिरामी आउँदा बाँके, बुटवल र काठमाडौंका लागि रिफर गर्नुपर्ने अवस्थाले एकातिर आर्थिक भार बढ्ने र अर्कोतर्फ बिरामीको ज्यान तलमाथि हुन सक्ने खतरा हुने उनी बताउँछन्।
प्रदेश सरकार यसबारे जानकार भए पनि समस्याको समाधान गर्नेबारे केही उदासिन देखिएको छ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले अस्पताललाई २ सय शय्याको बनाउन केन्द्र सरकारसँग पहल भइरहेको बताए।
'हामीले प्रस्ताव केन्द्र सरकारलाई पठाएका छौं, त्यहाँबाट प्रक्रिया अगाडि बढेपछि अस्पतालको क्षमता विस्तारसँगै जनशक्ति थप्ने सबै काम हुन्छ,' उनले भने।