प्रारम्भिक बालविकासका लागि कर्णाली प्रदेश सभा सदस्यहरूको सहकार्य समन्वय समूह (इसिडी ककस) को वार्षिक कार्ययोजना बनेको छ।
बिहीबार समूहमा रहेका कर्णाली प्रदेश सभाका सदस्यहरूको छलफलबाट २०८१ सालको वार्षिक कार्ययोजना बनाइएको हो। २०८१ मा समूहले गर्ने विभिन्न १३ वटा क्रियाकलाप वार्षिक कार्ययोजनामा समावेश गरिएको छ।
प्रारम्भिक बालविकासका लागि प्रदेश सभा सदस्यहरूको सहकार्य समन्वय समूहको दुई महिनामा कम्तीमा एकपटक (वर्षमा ६ वटा) बैठक बस्ने, प्रदेश प्रारम्भिक बालविकास समिति गठन तथा प्रदेश बालविकास रणनीति कार्यान्वयनका लागि निरन्तर पैरवी गर्ने समूहको वार्षिक कार्ययोजना–२०८१ मा उल्लेख गरिएको छ।
यस्तै, प्रारम्भिक बालविकास केन्द्रको न्यूनतम मापदण्डमा छलफल गरी सामाजिक विकास मन्त्रालयमा पेश गर्ने, प्रदेश सभा सदस्यहरूलाई प्रारम्भिक बालविकासबारे एक दिने अभिमुखीकरण सञ्चालन गर्ने, समूहका सदस्यहरूबाट नमूना प्रारम्भिक बालविकास केन्द्रको अनुगमन तथा सिकाइ भ्रमण गर्ने, विकास साझेदार संस्थाहरूसँग अन्तर्क्रिया गर्ने कार्ययोजना बनेको छ।
यसैगरी प्रारम्भिक बालविकासका क्षेत्रमा भएका प्रयास, असल अभ्यास र प्रदेश सरकारले गरेको प्रयास, एकीकृत बालविकास कार्यक्रमका लागि अन्तरमन्त्रालय अन्तर्क्रिया गर्ने, प्रारम्भिक बालविकासलाई प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा राख्न पैरवी गर्ने, कर्णाली प्रदेशमा बालविकासका लागि भएका राम्रा अभ्यास तथा आगामी दिनमा ध्यान दिनुपर्ने क्षेत्रसहितको प्रतिवेदन प्रकाशन गर्ने, प्रदेशस्तरीय प्रारम्भिक बालविकास शिक्षक सम्मेलन गर्ने, स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूका लागि प्रारम्भिक बालविकास सम्बन्धी अभिमुखीकरण आयोजना गर्ने, एक स्थानीय तहमा कम्तीमा एक नमूना बालविकास केन्द्र बनाउन प्रदेश तथा स्थानीय सरकारसँग सहजीकरण गर्ने पनि कार्ययोजनामा उल्लेख छ।
कार्ययोजनामा राखिएका निरन्तर गर्नुपर्ने बाहेकका कामहरू आगामी वर्षको वैशाखदेखि माघसम्म गरिसक्नुपर्नेछ। यसका लागि अनुमानित खर्च पनि समावेश गरिएको छ। खर्चका लागि सेभ द चिल्ड्रेनसहितका विभिन्न विकास साझेदार संस्थाहरूसँग सहकार्य गर्ने उल्लेख गरिएको छ।
बालबालिकाका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको अगुवाइमा प्रारम्भिक बालविकासका क्षेत्रमा नीतिगत काम गर्नेगरी प्रदेश सभाका सदस्यहरूको सहकार्य तथा समन्वय समूह निर्माण गरिएको हो।
अघिल्लो कार्यकालमा सांसद सीता नेपालीको नेतृत्वमा कर्णाली प्रदेशको इसिडी ककस थियो। यो कार्यकालमा भने सुरेश अधिकारीको नेतृत्वमा १३ सदस्यीय इसिडी ककस निर्माण गरिएको छ।