बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई कसैले चैत १९ गते दिउँसो जारी एसइई परीक्षामा भइरहेको बदमासीबारे सुराक दिन्छन्।
सुराक दिने व्यक्तिले बाँकेको ज्ञानोदय निकेतन माध्यमिक विद्यालय (जिभिएन) बिपी चोक नेपालगञ्ज परीक्षा केन्द्रमा सहभागी लोटस इङ्लिस मिडियम हाई स्कुलका शिक्षकले नै संस्थागत रूपमै ग्रुप बनाएर आफ्ना विद्यार्थीलाई चिट चोराउँदै आएको सूचना दिन्छन्।
गोप्य सुराकको आधारमा प्रजिअ पोखरेल चैत २० गते परीक्षा सञ्चालन भइरहँदा अनुगमनमा जान्छन्। विद्यालयका शिक्षक अफ्ता खान अलीले आफ्नो मोबाइलमा ह्वाट्स एप ग्रुप बनाएर थप २६ जना विद्यार्थीलाई जोडेर एकैसाथ प्रश्नपत्रहरू हल गरी पठाउने गरेको तथ्य सिडिओ पोखरेलले थाहा पाउँछन्।
त्यसपछि शिक्षक अली पक्राउ पर्छन्। उनी पक्राउ परेपछि आफूलाई त्यो काम गर्न लोटसका प्रिन्सिपल तपन शर्माले लगाएको बयान दिन्छन्।
जिपिए ‘ए प्लस’ ल्याएर पास गराउनुपर्छ भन्दै प्रिन्सिपल शर्माले ग्रुप बनाएर आफूलाई विद्यार्थीले पठाउने प्रश्नपत्र हल गरी पठाउनका लागि खटाएको भन्ने खुलेपछि प्रहरीले प्रिन्सिपललाई पनि पक्राउ गरेको हो।
जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार प्रिन्सिपल शर्मा र शिक्षक अली पक्राउ परेपछि उनीहरूले कसरी प्रविधिको प्रयोग गरी विद्यार्थीलाई प्रश्न पत्र हल गरी पठाउँदै आएका थिए भन्ने तथ्य खुल्यो।
प्रिन्सिपल र शिक्षकको बयानका आधारमा प्रहरीले एवान कन्सल्टेन्सी नेपालगञ्जका सञ्चालक इर्फान अली मिकरानीका साथै प्रश्नपत्र हल गरी पठाउने कार्यमा खटिएका दिलिप विक र सन्तोष नेपालीलाई पनि पक्राउ गरेको छ।
एवान कन्सल्टेन्सीका सञ्चालकसहित थप तीन जना पक्राउ परेपछि नेपालगञ्जबाट अछाम जिल्लामा उनीहरूले प्रश्न पत्र हल गरी पठाउने गरेको तथ्य खुलेको हो।
‘उनीहरूले पनि ह्वाट्स एप ग्रुप निर्माण गरी अछाम लगायतका विद्यार्थीलाई जोडेर सामूहिक रूपमा प्रश्नपत्र हल गरी पठाउने बदमासी गरेको तथ्य खुलेको छ,’ एसपी बोहराले भने, ‘पक्राउ परेका पाँचै जनाविरूद्ध शिक्षा नियमावली २०२८ बमोजिम मुद्दा चलाइएको छ।’
उनीहरूमाथि एक लाखसम्म जरिवाना अर्थात् ६ महिना कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार कन्सल्टेन्सीबाट चिट चोराउने कार्यका लागि प्रयोग गरिएका पाँच थान मोबाइल, एउटा ल्यापटप लगायत गाइड र प्रश्नपत्र हल गरिएका सामग्री बरामद गरिएका छन्।
पक्राउ परेका सबैलाई जिल्ला अदालत बाँकेले बुधबार पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ।