सन् १९७८ को डिसेम्बरको कुरा हो। जर्मन नागरिक पीटर गुस्तभले आधा दिनका लागि फेवातालको एउटा डुंगा भाडामा लिएछन्। त्यतिबेला फेवातालका डुंगा अहिले जस्तो रंगीचंगी थिएनन्। काठको एउटै मुढा खोपेर बनाइएका थिए।
गुस्तभ फेवातालमा डुंगा चढेर विचरण गर्दै पारी पुगे। गुस्तभले किनारामा क्यामेरा ‘अटोमेटिक मोड’मा राखेर फोटो खिचे। त्यतिबेला फेवाताल सफा थियो। आकाश खुलेको थियो। हिमाल छ्याङ्ग देखिन्थ्यो।
‘पेटभरि खाना खाएर माछापुच्छ्रेसहित अन्नपूर्ण श्रृङ्खला हेर्न पाउनु मेरो लागि ‘वान मिलियन डलर’ बराबरको क्षण थियो,’ फेसबुकमा त्यो क्षणको तस्विर पोष्टिँदै उनले भनेका छन्।
नेपालमा जर्मन भोलेन्टियरका रूपमा गुस्तभ आजभन्दा ४६ वर्षअघि नेपाल आएका थिए।
उनी जुन डुंगामा चढेर फेवाताल घुम्दै पारी पुगेका थिए। अहिले ती छैनन्। त्यतिबेला अहिले जस्तो आधुनिक खालका डुंगा प्रचलनमा आएकै थिएनन्।
स्थानीय सीप, स्रोत र साधनबाट बनेका थिए।
फेवातालमा जीवनभर नाविक बनेका ८६ वर्षीय बुद्धिबहादुर नेपालीका अनुसार गुस्तभले चढेको त्यो डुंगा एउटै मुढा खोपेर बनाइएको थियो। त्यतिबेला त्यस्तै डुंगा प्रचलनमा थिए। यी डुंगा कसले आविष्कार गरे भन्ने पनि यकिन छैन।
नेपालीका अनुसार डुंगा बनाउन बाक्ला मोटाइ भएका रूख चाहिन्थे। त्यतिबेला कम्तिमा १२ हात मोटाई भएका सिमल, टुनी र चाँपका रूखबाट डुंगा बनाइन्थ्यो।
‘मोटाइ जति धेरै भयो उति ठुलो डुंगा बनाउन सकिन्छ। बञ्चरोले काटेर सानो मुढामा खोपिल्टो बनाइन्थयो। त्यहींबाट पानीमा खियाउने बहना बनाइन्थ्यो। १५ देखि २० हात लामो मुढा खोपेर डुंगा बनाइन्थ्यो,’ उनले संझिए।
फेवातालमा अहिले प्रचलनमा रहेको डुंगा पानी भरियो भने डुब्छ। ताल किनारमा घुम्न जानेहरू दिनहुँ डुंगा डुबेको देख्छन्। डुबेको डुंगा पहिचान गर्न व्यवसायीले डुंगामा प्लाष्टिकका बोतल जस्ता पानीमा उत्रने वस्तु बाँधेका हुन्छन्।
नेपालीका अनुसार त्यतिबेला प्रयोग गरिएका एउटै मुढाका डुंगा पानीमा डुब्थेन। डुंगा भरी पानी भरियो भने उल्टिएर तरिन्थ्यो। अहिले प्रयोग भएका डुंगा सालका काठबाट बनेका छन्। त्यतिबोल सिमल, चाँप र टुनीबाट बनेका डुंगा हलुका हुन्थे। त्यही भएर डुब्दैनथे भन्ने उनको अनुमान छ।
एउटै मुढाबाट बनाइएका उबेलाका डुंगा धेरै वर्ष टिक्दैन थयो। जम्माजम्मी ३ वर्ष मात्र चल्थ्यो। अहिले डुंगा १५ वर्ष टिक्छ। जहाँ कुहिएको छ, त्यही ठाउँका काठ निकालेर अर्को राख्न मिल्छ। उहिले एउटै काठबाट बनेका डुंगा कहाँ निकाल्नु। कहाँ टाल्नु!
त्यतिबेला फेवाताल वारपार गर्न मात्र होइन, ढुवानी गर्न पनि डुंगाकै प्रयोग हुन्थे। फेवातालका मुहानतर्फ फलेका धान, पराल डुंगामै ओसारिन्थे। त्यतिबेला बाटो बनेकै थिएन। मोटर प्रचलनमा आइसकेका थिएनन्।
‘हामीले फेवाफाँट, खपौंदी, पामेतिरबाट डुंगामा धान ओसार्थ्यौं। दुइटा डुंगा जोडेर पराल ओसार्थ्यौं,’ नेपालीले भने, ‘धान रोप्दादेखि डुंगामा राखेर ओसार्दा पनि अर्मपर्म चल्थ्यो।’
त्यतिबेला अहिले जस्तो धेरै डुंगा पनि थिएनन् । फेवाताल पारी चङ्खपुरमा गोपी मुखियाका दुइवटा डुंगा थिए। गोपी मुखिया कांग्रेस नेता मीनबहादुर गुरुङका बुबा हुन्। मीनबहादुर २०१६ सालमा विपी कोइराला नेतृत्वको सरकारमा रक्षामन्त्री थिए।
'चङ्खपुरका गोपी मुखियाको डुंगामा गाउँलेहरू ताल वारपार गर्थे। तालमा माछा मार्थे। पारीबाट पोखरा बजार आउँदा पनि उनकै डुंगा लिएर आउनुपर्थ्यो,’ उनले भने।
चङ्खपुरबाट ल्याइएका डुंगा रेखदेख गर्न बाराही घाटमा बसेका टेकबहादुर अधिकारी नाम गरेका व्यक्तिलाई जिम्मा दिन्थे। बाराही घाटमा अहिले प्रतिक्षालय र डुंगा टिकट काउण्डर भएको ठाउँमा एउटा दुइपाखे धनसार थियो। त्यही धनसारमा बस्थे, टेकबहादुर।
धनसारमा बसेका टेकबहादुर भैंसी पाल्थे। डुंगा हेरिदिए वापत गाउँलेले उनलाई घाँस दाउरा ल्याइदिन्थे। कहिले पैसा दिन्थे।
‘पछि पछि त रक्सी पनि खान थाले। ‘गाउँलेले रक्सी पनि ल्याइदिए,’ नेपालीले भने ।
धनसार २०२६ सालमा भत्काइयो। धनसार भएको ठाउँमा इन्द्रचोक काठमाडौंका गिरधारीलालले सार्वजनिक सुविस्ताका लागि निर्माण गरेर अर्पण गरेको शिलालेखमा उल्लेख छ। नेपालीका अनुसार उनी मधेसबाट आएका थिए।
विस्तारै नेपालमा विदेशी पर्यटक आउन थाले। केही नेपाली पनि घुम्न निस्किए। यातायातका साधनका रूपमा मात्र सीमित डुंगा पर्यटकलाई घुमाउने साधन बन्न थाल्यो। त्यतिबेला नेपालीसँग २ रुपैयाँ र विदेशीसँग ४ रुपैयाँ लिएर पर्यटक घुमाएको नेपालीलाई याद छ।
एउटै काठको मुढा खोपेर बनाइएका यी डुंगाहरूका दिन त्यतिबेला सकिन थाले, जतिबेला पोखराका माछा अनुसन्धानमा जापानी स्वयंसेवक खटिए।
मत्स्य अनुसन्धान परिषद्का प्रमुख वैज्ञानिक डा. मोहम्मद इकवाल हुसेनका अनुसार २०४८ सालमा ६ वर्षका लागि जापान इन्टरनेशनल कोअपरेसन एजेन्सीसँगको सहकार्यमा प्राकृतिक जलाशय मत्स्य विकास आयोजना लागु भयो। त्यही आयोजनामा काम गर्न आएका थिए जापानीहरू।
फेवातालको माछा अनुसन्धान गर्न आएका जापानीहरूले पोखरेलीलाई आधुनिक डुंगा बनाउन सिकाइदिए। यसका लागि मोटो काठका मुढा चाहिएन। सिमल, चाँप र टुनीका सट्टा सालका काठ प्रयोग गरे। सालका फलेकहरु जोडेर डुंगा बनाउने विधि उनीहरूबाट नेपालीले सिके।
जापानीहरूले सुरूमा मत्स्य अनुसन्धान केन्द्रका कर्मचारी टेकप्रसाद श्रेष्ठलाई सिकाए। उनीहरूले केन्द्र मातहत रहने गरी केही डुंगा बनाए। ती डुंगाहरू सर्वसाधारणका पहुँचमा थिएनन्। टेकप्रसादले सर्वसाधारणलाई पनि त्यस्तै डुंगा बनाउन सिकाइदिए। जुन अहिले फेवाताल मात्र होइन, पोखराका सबै तालमा सबैभन्दा बढी प्रचलनमा छ। यसलाई उनीहरूले ‘रोयल बोट’ नाम राखेका छन्।
नेपालीका अनुसार फेवातालका डुंगा व्यवसायीहरूमा सबैभन्दा पहिले उक्त डुंगाको प्रयोग लप्टने माइला र छली दिदीले बनाए। उनीहरूका पूरा नाम नेपालीलाई याद छैन ।
नेपाली आफैं पनि सिकर्मी थिए। उनले पनि त्यस्तै डुंगा बनाउने सोच बनाए।
नेपालीले सुरूमा अरूलाई बनाइदिन भने। सालको काठ चाहिने। एउटा डुंगा बनाउन १८ महिना लाग्ने। डुंगा बनाएको शुल्क ३ सय रुपैयाँ। नेपाली आफैं डुंगा बनाउन अघि सरे। अरूले बनाएका डुंगा हेरे। धागोले नापो लिए। १८ फुट रहेछ। आकार प्रकार सबै हेरे। एक इन्च बाक्लो काठ रहेछ। अनि जंगल गएर सालका काठ ल्याए।
उनले पहिलो डुंगा बनाए। उनको डुंगा तिखो भयो। अलिकति टेढो पनि। पहिलो पटक बनाएको डुंगा सबैकुरा मिल्ने भएन। उनले फेरि दोस्रो पटक अर्को डुंगा बनाउन थाले । दोस्रो डुंगा राम्रो बन्यो।
‘पहिलो पटक डुंगा बनाउँदा राम्रो भएन । दोस्रो पटक सफल भए। अनि अरूलाई पनि यसरी बनाउ सकिने रहेछ भनेर सिकाए,’ उनले भने।
अहिले फेवातालमा डुंगा बनाउने र मर्मत गर्ने मात्र पनि व्यवसाय चलेको छ। ६ वटा टोलीले डुंगा बनाउने काम गर्छन्।
जापानीले सिकाएर बनाएको रोयल डुंगाको दुवै छेउ चुच्चो हुन्छ । जसले दिशा परिवर्तन गर्न र छिटो चलाउन सजिलो भएको नेपालीको अनुभव छ । यस्तो डुंगा १८ फुट, २० फुट र २४ फुटका छन्। बाराहीघाटबाट तालबाराही मन्दिर जाँदा यस्तो डुंगामा १० जनासम्म मान्छे राख्छन् । घुम्न जाँदा ७ जनासम्म।
यसरी बनाइएका डुंगामा घामपानी छेक्न केहीले छत हालेका छन्। छत हालेका भन्दा नहालेकै बढी प्रचलित छन्। छत हालेर बनाइएका अर्को प्रकृतिको डुंगा फेवातालमा बढ्दो छ।
फेवातालमा छत भएका डुंगा बनाउँदा सुरूआतमा दुइवटा रोयल बोट जोडिएका थिए। यसरी जोडिएका डुंगा राम्रो देखिएन। पर्यटकले पनि रुचाएनन्।
मत्स्य विकास केन्द्रले केही डुंगा छत हालेर बनाएका थिए। ती डुंगामा फलाम प्रयोग गरिएका थिए। त्यसैको देखासिकी गर्न डुंगा व्यवसायी कस्सिए।
चितवनका सदानन्द श्रेष्ठ तीन दशकदेखि फेवातालमा डुंगा बनाउने काम गर्छन्। मत्स्य अनुसन्धान पषिदमा उनले छत्री (छत) भएको डुंगा देखे । त्यस्तै बनाउन थाले। भित्र फलामको फ्रेम हालेर बाहिर आल्मुनियमले मोडे। फलामको रड हालेर छत राखे।
यसरी बनाइएका डुंगा चलाउन बहना खियाउनुपर्दैन। खुट्टाले साइकल घुमाए जसरी पानी तर्काउन पाइडल राखिएको छ। डुंगा चढ्यो, पाइडल घुमायो। यस्तो डुंगा आरामदायी र धेरै जना ओसार्न सकिने खालको भयो। छउछाउमा बार हालिएकाले सुरक्षित पनि भएको श्रेष्ठ बताउँछन्।
यसलाई ‘पाइडल बोट’ नाम राखिएको छ ।
फेवातालका डुंगाका ‘पायोनियर’ श्रेष्ठ २०४९ सालतिर चितवनबाट व्यापार गर्न पोखरा आएका थिए। उनले लेकसाइडमा चिया पसल राखेका थिए। उधारो धेरै जाने। उनी व्यापारमा मन मार्दै थिए।
लेकसाइडमा व्यवसाय गर्दा फेवाताल त दिनहुँ देखिने भयो। उनी डुंगाप्रति प्रभावित थिए। पानीमा तैरियर डुंगा कसरी चल्छ भन्नेतिर उनको चासो थियो। त्यही चासोले उनलाई डुंगा ‘मिस्त्री’ बनाइदियो।
‘चिया बेच्नुपर्यो, व्यापार गर्नपर्यो भनेर पोखरा आएको थिएँ। फेवातालमा तैरिएर डुंगा चलेको हेर्दा हेर्दै व्यापार बन्द गरेर डुंगा बनाउने काममा लागें। अग्रजले मलाई पनि सिकाएर गुन लगाउनुभयो,’ उनले सेतोपाटीलाई भने।
फेवातालमा अर्को डुंगा पनि प्रचलनमा छ । जसमा दुई जना मात्र बस्न मिल्छ। दुई जना बसेर पाइडल घुमाउँदै घुम्ने यस डुंगामा पनि छत राखिएको छ । विशेषगरी पोखरा हनिमुन मनाउन आउने जोडीहरू यसका पारखी छन्। यसलाई ‘हाँस बोट’ भनेका छन्।
फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीका अनुसार अहिले फेवातालमा सबै प्रकारका गरेर ७ सय ७० वटा डुंगा छन्। जसमा पाइडल डुंगा ५४ वटा छन् भने हाँस डुंगा ४ वटा मात्र । बाँकी सबै रोयल बोट छन्।
फेवातालमा मात्र दैनिक ४० हजार पर्यटक घुमाउन सकिने अध्यक्ष गिरीले बताए। सिजनमा पर्यटक आउने भएकाले पालो छिटो छिटो आए पनि अफ सिजनमा आउँदैन। हप्तौं कुर्नुपर्ने पनि हुन सक्ने उनले बताए।
‘फेवातालमा सबैभन्दा धेरै पर्यटक डुंगा चढ्न दसैंको पूर्णिमाका दिन आउँछन्। त्यस दिन सबैले पालो पाउँछन्,’ उनले भने, ‘त्यस्तो घुइचो सधैँ हुने भए हामीलाई मात्र होइन, होटल र रेष्टुरेण्ट पनि मालामाल हुन्थे।’
संगठन गठन हुनुअघि फेवातालमा पर्यटक देख्नेबित्तिकै डुंगा व्यवसायी झगडा गर्न थाल्थे। पर्यटकलाई तानातान गर्थे। डुंगा चालक हानाहान गर्थे। त्यही अवस्था देखेर आफूले २०५० सालमा संगठन गठन गरेर क्यु सिस्टम लागु गरेको संस्थापक अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए।
‘फेवातालका घाटहरूमा पर्यटक आफूतिर तान्न सधैँ झैझगडा, कलह भएर मैले संगठन गरेको हुँ। क्यु सिस्टम लागु भएपछि झैझगडा हुन छाड्यो,’ उनले भने।