आइतबार लमजुङको बेसीसहरमा भएको दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मनाङका मन घले र लमजुङ, बेसीसहरकी अनिता थापा श्रेष्ठ छन्।
आइतबार बेसीसहरबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटरसँग काठमाडौंबाट बेसीसहरतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस तनहुँको भानु नगरपालिका–१० नेपालडाँडामा ठोक्किएर दुर्घटना भएको थियो।
तनहुँ प्रहरी प्रवक्ता डिएसपी अशोक थापाका अनुसार दुर्घटनामा माइक्रोबसमा सवार मन र स्कुटरमा सवार अनिताको मृत्यु भएको हो। स्कुटर चलाएका अनिताका श्रीमान दीपेन्द्र श्रेष्ठ भने गम्भीर घाइते छन्। उनलाई उपचारका लागि चितवन लगिएको छ।
एसपी थापाका अनुसार दुर्घटनामा परेर माइक्रोबस भित्तामा धसिएको छ। माइक्रोबसमा सवार थप १२ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको छ।
मनाङको नासों गाउँपालिका– ८ का ५८ वर्षीय मन शिक्षक थिए। उनी काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी भएर फर्किँदै थिए।
नासों गाउँपालिका–८ का वडाध्यक्ष याद घलेका अनुसार मन स्थानीय जनविकास आधारभूत विद्यालयका शिक्षक थिए। मन गत साता दोस्रो पटक आन्दोलनमा सहभागी हुन काठमाडौं गएका थिए।
माइक्रोबस चालक सिन्धुपाल्चोकका मानबहादुर घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।