ललितपुरको ग्वार्कोस्थित एक गेष्टहाउसमा अचेत अवस्थामा फेला परेकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार ललितपुर महानगरपालिका वडा नम्बर ७ ग्वार्कोमा रहेको सनलाइट गेष्टहाउसमा २१ वर्षीया युवती शुक्रबार बिहान अचेत अवस्थामा फेला परेकी हुन्।
मकवानपुर घर भएकी ती युवतीलाई होटल सञ्चालकले ग्वार्कोकै बिएण्डबी अस्पतालमा उपचारका लागेका थिए। पछि उपचारको क्रममा बिहान ७ बजेतिर मृत्यु भएको एसपी सुवेदीले बताए।
प्रहरीले ती मृतक महिलाको पहिचान खुलाइसकेको छैन। उनी गएराति ९ बजेतिर गोदावरी नगरपालिका-८ डुकुछाप घर भई सातदोबाटोमा बस्दै आएका २६ वर्षीय सन्दिप विकसँग गेष्टहाउसमा पुगेका थिए।
तर बिहान ती युवती बेहोस भएको र विकलाई पनि सास फेर्न कठिन भएको भनेपछि सञ्चालकले दुबै जनालाई अस्पतालमा पुर्याएको खुलेको हो।
होटलको शौचालयमा बान्ता गरेको समेत फेला परेको छ। यद्यपि के कारणले मृत्यु भएको भन्ने खुलिनसकेको एसपी सुवेदीले बताए। विकको हाल बिएण्डबी अस्पतालमै उपचार जारी छ।
प्रारम्भिक अनुसन्धानबाट धेरै नखुलेको र मृतकको पोष्टमर्टम र सोधपुछ पछि घटनाबारे खुल्न सक्ने प्रहरीले जनाएको छ। अहिले प्रहरीले होटल सञ्चालकलाई पनि सोधपुछका लागि बोलाएको छ।