पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशी र लिला पछाइको म्याद थप गर्ने तयारी भएको छ।
अनुसन्धानका लागि समय नपुगेको भन्दै प्रहरीले जिल्ला अदालत कास्कीबाट शुक्रबार थप समय अनुमति लिने तयारी गरेको हो।
पूर्वडिआइजी जोशीले गोर्खा मिडियाका अध्यक्षसमेत रहेका सहकारी संचालक जिबी राइसँग मिलेर सहकारीको रकम अपचलन गरेको आरोप छ।
यस्तै पछाइले जिबी राइसँग मिलेर ३ करोड रुपैयाँ सहकारीको पैसा आफ्नो खातामा लगेको आरोप छ। उनीहरू दुवैसँग बयान र अनुसन्धान पूरा नभएकाले म्याद थप्ने लागिएको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त शर्माले जानकारी दिए।
सहकारी ठगी आरोपमा पूर्वडिआइजी जोशी असोज ६ गते पक्राउ परेका थिए भने पछाई असोज १५ गते पक्राउ परेकी थिइन्।
पूर्वडिआइजी जोशीले प्रहरीसँगको बयानमा सहकारी ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको भन्दै इन्कारी बयान दिएका छन्। उनले सहकारीको रकम गैरकानुनी रुपमा टेलिभिजनमा लगानी गर्न रवि लामिछानेको मुख्य हात रहेको पनि आरोप लगाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको थियो।
संसदीय छानबिन समितिले लामिछानेसँग बयान लिएपछि कास्की प्रहरीले पनि काठमाडौ पुगेर उनीसँग बयान लिएका थियो। सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।
बचत अपचलन गर्दा सहकारीले कानुनविपरीत गैरसदस्यलाई ऋण दिएको, कम्पनीमा लगानी गरेको लगायत निष्कर्ष निकालेको छ।
सहकारीको बचत अपचलन मुद्दामा शिवबहादुर गुरूङ ‘महेन्द्र भोटे’ भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, संचालक समिति सदस्य प्रमोद भट्टराई पूर्पक्षका लागि थुनामा छन्।
सुर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्वअध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उनका दाजु भूपेन्द्र राई, थानबहादुर बुढा, धीरजकुमार दास लगायत अझै फरार छन्।