धनगढी नगर क्षेत्रमा सयौंको संख्यामा यात्रुवाहक विद्युतीय अटो गुड्छन्। एउटा अटो भने अलग छ।
जसको पछाडिपट्टि लेखिएको छ– सेवा नै धर्म हो, ज्येष्ठ नागरिक र विद्यार्थी भाइबहिनीलाई छुट। यससँगै ‘सम्पर्क नम्बर’ भनेर एउटा फोन नम्बर पनि लेखिएको छ।
नगरका अरू अटोमा चालक र यात्रुबीच धेरैजसो भाडामा कचमच हुने गर्छ। यात्रुहरू चालकले मनपरी भाडा लिएको आरोप लगाउँछन्। चालकहरू नियमअनुसार भाडा लिएको जिकिर गर्छन्।
धनगढीका ५३ वर्षीय जनकबहादुर बमको अटोमा भने त्यस्तो कचमच हुँदैन। उनी विद्यार्थी, वृद्ध र अशक्तलाई भाडामा केही छुट दिन्छन्। उनले यसरी छुट दिन थालेको साढे एक वर्ष भयो। उनले यात्रुको अवस्था हेरेर कसैलाई निःशुल्क सेवा पनि दिने दाबी गरे।
‘हामी चालकको काम सेवा हो। पैसासँगै सेवाको काम पनि गर्नुपर्छ। भनेर सेवा नै धर्म हो भन्ने लागेर यात्रुलाई सहयोग गर्ने गरेको छु,’ उनले भने।
विद्यार्थी, ज्येष्ठ नागरिक र गर्भवतीलाई आफ्नो विवेकले छुट दिन्छन्।
‘बुढाबुढी मान्छेसँग कहिलेकाहीँ पैसा नहुन सक्छ। विद्यार्थीसँग पनि पैसा नहुन सक्छ। यस्तो अवस्थामा छुट दिनुपर्छ भन्ने मेरो भावना हो,’ जनक भन्छन्, ‘अवस्था हेरेर १० रूपैयाँ, २० रूपैयाँ छुट दिने गरेको छु। पैसा नभएर आपतमा परेका जुनसुकै भए पनि भाडा नलिई गन्तव्यमा पुर्याइदिन्छु।’
जनकले अटो चलाउने क्रममा एक दिन एक जना विद्यार्थी बाटोमा बेहोस भएर लडेको देखे। ती विद्यार्थीलाई आफ्नो अटोमा राखेर अस्पताल पुर्याए। त्यो घटनापछि भाडामा केही छुट दिन र जरूरी पर्दा भाडा नलिई पनि सेवा गर्न उनी प्रेरित भए।
समस्यामा परेका व्यक्ति, विद्यार्थी र अशक्तलाई भाडामा केही रकम छुट दिँदैमा घाटा हुन्छ भन्ने उनलाई लाग्दैन। पैसा नभएको अवस्थामा १०–२० रूपैयाँ छुट पाउँदा पनि राहत हुन्छ भन्ने उनलाई लाग्छ।
भन्छन्, ‘विद्यार्थीका लागि १० रूपैयाँ बच्नु पनि ठूलो कुरा हो। यस्तो सहयोग गर्न पाउँदा मेरो मनमा शान्ति हुन्छ।’
यात्रुहरूले उनको कामको सराहना गर्ने गरेका छन्।
अटोचालक सहकर्मीहरू भने जनकसँग असन्तुष्ट छन्। उनका अनुसार साथीहरू भाडाको चलन बिगारेको र छुटको कुरा गरेर आफ्नो व्यापार बढाउने चतुर्याइँ गरेको आरोप लगाउँछन्।
उनले यस्तो आरोपको बेवास्ता गर्ने गरेका छन्।
‘आफ्नो सत्य कर्ममा लाग्ने हो। भोलि (मृत्युपछि) केही लैजाने होइन,’ उनी भन्छन्, ‘आपतमा परेकालाई थोरै छुट दिएको र कहिलेकाहीँ निःशुल्क सेवा गरेको हो। चतुर्याइँ गरेको होइन, सेवा गरेको हो।’
जनक बैतडीको पुर्चौडी नगरपालिका–८, पुर्चौडीहाटमा जन्मेहुर्केका हुन्। उनी आमाबाबुका कान्छा छोरा थिए। आमाले पाँच जना छोराछोरी खेतीपातीको काम गरेर हुर्काइन्, बढाइन्।
जनक ७ वर्षका हुँदा बुबा बिते। उनले कक्षा चारसम्म मात्रै पढे। पाँच छोराछोरीमध्ये अर्का एकजनाले ८ कक्षासम्म पढे। अरूले पढ्न पाएनन्।
जनक २१ वर्षका हुँदा आमा पनि बितिन्।
पढ्न नपाएकोमा जनक दुःखी देखिए। उनले भने, ‘सपना त मेरो पनि पाइलट नै बन्ने थियो नि तर कहाँ पूरा हुँदो रहेछ। पढ्न नै पाइनँ।’
उनले खेतीपातीको काम गरे। गाईभैंसी पाले। मजदुरी गरे, भारी बोके। गाउँको फलफूल डोकोमा बोकेर बजार डुलाउँदै बेच्ने काम पनि गरे।
दाजुसँग पैसा सापटी लिएर चार वर्ष गाउँमा एउटा पसल पनि चलाए। पसलबाट खासै लाभ भएन। खेतीपाती र मजदुरीले घर चल्ने अवस्था पनि भएन।
बिहे भएपछि जनक काम खोज्दै भारतको दिल्ली पुगे। त्यहाँ एक डाक्टरका घरमा सुरक्षा गार्ड भएर काम गरे। बस्दाबस्दै दिल्लीमा १४ वर्ष बित्यो। त्यहाँ जम्मा गरेको पैसाले धनगढीको जाईमा १० धुर जमिन किने।
दिल्लीबाट फर्केपछि छोराछोरी पढाउन १२ वर्ष धनगढीमा भाडामा बसे। उनले २०७५ सालमा आफ्नो जमिनमा एक तले घर बनाए। अहिले आफ्नै घरमा बस्छन्।
कोरोना भाइरस संक्रमण फैलिएको समयमा बेला दिल्लीमै थिए। कोरोनाकालले उनलाई आफ्नै घरमा परिवारका साथ बस्ने अवसर जुराइदियो।
दिल्ली नफर्किने निष्कर्षका साथ उनले एक सहकारी संस्थाबाट दुई लाख रूपैयाँ कर्जा लिए। त्यही कर्जामा आफ्नो बचत समेत थपेर एउटा अटो किने। उनले अटो चलाएको दुई वर्ष हुन लाग्यो।
उनकी छोरीले स्नातक तहसम्मको र छोराले १२ कक्षासम्मको पढाइ पूरा गरेका छन्। छोरी श्रीमानका साथ कञ्चनपुरको महेन्द्रनगरमा बस्छिन्। उनीहरूले पसल चलाएका छन्।
छोरा हाल रोजगारीका लागि खाडीको सहर दुबईमा छन्।
छोरालाई दुबई पठाउन जनकले सहकारी संस्थाबाट तीन लाख रूपैयाँ कर्जा लिएका छन्। अटो किन्दा लिएको कर्जा चुक्ता गरिसके। छोरो पठाउन लिएको कर्जामा मासिक १५ हजार रूपैयाँका दरले किस्ता तिर्दै छन्।
कर्जा चुक्ता गर्ने र घर चलाउने रकम कमाउने स्रोत अटो नै हो। अटोको कमाइ सामान्य रहेको उनको भनाइ छ।
‘धनगढीमा अटो धेरै छन्। यात्रु थोरै पाइन्छन्। धेरै कमाइ हुँदा दिनमा हजार रूपैयाँसम्म हुन्छ,’ उनी भन्छन्, ‘धेरैजसो त दिनको पाँच–सात सय जति हुन्छ।’
उनी बिहान ६ बजे अटो लिएर धनगढी सहर पुग्छन्। खाना खान दिउँसो १२ बजेतिर घर फर्किंन्छन्। फेरि अपराह्न दुई बजेतिर अटो लिएर सहर पुग्छन्। सामान्यतया राति आठ बजे घर फर्किंन्छन्।
विद्युतीय अटो भएकाले राति १० घण्टा घरमै चार्ज गर्छन्। कहिलेकाहीँ मर्मत पनि गराउनुपर्छ। उनकी श्रीमती गृहिणी हुन्। उनले केही बाख्रा पनि पालेकी छन्। घरको काम र बाख्राको हेरचाहमा उनको दिन बित्छ।
उनले भने, ‘छोराछोरीको पढाइका लागि तराई (धनगढी) बस्ने सोच बनायौं, अहिले त यतिकै बसिन्दा भयौं।’