महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले कुटपिट गर्दै एक युवकको मोबाइल खोसेको आरोप लागेको छ।
कृष्ण जन्माष्टमीको अवसरमा भंगहा नगरपालिका-४ स्थित प्रेमनगरमा मेयर साहले सोही वडाका रवीन्द्र महतोमाथि कुटपिट गरेको आरोप लागेको हो।
पीडित रवीन्द्र महतोले कृष्ण जन्माष्टमीको दिन मेलामा आर्केस्ट्रा नचाएको र त्यहाँ मेयर साह नाचिरहेको बेलामा भिडिओ खिच्दा आफूमाथि कुटपिट गरेको आरोप लगाए।
‘अश्लिलता प्रदर्शन गर्ने र कानुनले समेत बर्जित गरेको कुरामा मेयर उपस्थित भएपछि मैले प्रश्न उठाएको हुँ। मेयरले गाउँमा आर्केस्ट्रा नचाएर बियर उडाउँदै स्टेज छेउमै रमाइरहेको भिडिओ मैले खिच्न खोजेकै थिएँ कि उनले मलाई कुटपिट गर्दै मोबाइल खोसे। मेरो भेस्ट पनि च्यातिदिएका छन्,’ महतोले भने।
यसरी भिडिओ खिच्न खोजेपछि कुटपिट गरी मोबाइल नै खोसेर लगेको उनले बताए। उनले फोन पनि फिर्ता नपाएको बताएका छन् र आफूले पनि मोबाइल फिर्ता नमागेको उनले बताए।
यसरी कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग समेत गरेको उनले बताए।
‘धेरै मान्छे भएकाले उहाँले धेरै हिर्काउन पाउनुभएन। दुई-चार पटक टाउकोमा हिर्काउनुभएको थियो,’ उनले भने, ‘त्यसपछि म त्यहाँबाट भागेँ। पछि मेडिकल गएर औषधि उपचार गराएँ।’
पीडित महतोले यसअघि पनि मेयर साहले गरेको क्रियाकलाप र नगरपालिकाको कामकारबाहीको विषयमा समाजिक संजालमा आलोचना गर्दै आएका थिए।
‘सार्वजनिक शौचालय लगायत विभिन्न विषयमा मैले बोल्दै आएको थिएँ। अनियमितता भएको भन्ने विषयमा मैले कुरा राख्दै आएको थिएँ। यसैबीच मलाई धाकधम्की दिनुभएको थियो,’ उनले भने, ‘उहाँले फोनमा भएका तथ्य प्रमाण डिलिट गर्ने भनेर राख्नुभएको होला।’
मेयर साहले भने आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गरे।
उनले युवक साहमाथि कुटपिट पनि नगरेको र उनको फोन पनि नलिएको दाबी गरेका हुन्।
‘गाउँ समाजमा बुझ्दा पनि हुन्छ, उनीसँग कुनै पनि कुटपिटको घटना भएको छैन। ३-४ वर्षदेखि नै मविरूद्ध नानाथरीको प्रपञ्च गरिरहेको छ। मैले उनलाई हिर्काएको कसैले भनिदियो भने सबैको कसुरदार हुन तयार छु,’ उनले भने।
इनार नबनाइदिएको, केही समयअघि रोजगारीको माग गरेको र नदिएपछि आफूविरूद्ध लागेको उनले आरोप लगाए।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जैसवारले भने मेयरले कुटपिट गरेको भन्ने जानकारीमा नआएको बताए। पीडित व्यक्ति प्रहरीको सम्पर्कमा आए यसबारे थप बुझ्ने उनले बताए।