भारतको कलकत्ता पुर्याएर मिर्गौला बेचेको आरोपमा दुई जना पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका-२ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान पक्राउ परेका हुन्।
उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले मंगलबार पक्राउ गरेको हो।
उनीहरूविरूद्ध प्रलोभनमा पारेर भारत पुर्याएर जबरजस्ती मिर्गौला प्रत्यारोपण गराएको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए।
'१० लाख रूपैयाँ कमाउन सकिने भन्दै काठमाडौंबाट वीरगंज हुँदै भारतको कलकत्ता पुर्याएको खुल्न आएको छ,' एसपी मिश्रले भने।
उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ।