बझाङमा पहिराले घरसहित सेती नदीमा बगेका एक जनाको सकुशल उद्धार भएको छ।
छबिसपाथिभेरा गाउँपालिका -१ परिंगाल ३६ वर्षीय करण गिरी बुधबार राति १२ बजे पहिरो खस्दा घरसहित सेती नदीमा बगेका थिए।
रातिको समयमा ठूलो आवाजसहित खसेको पहिरोले निदाइरहेका गिरी र घर एक्कासी सेती नदीमा पुर्याएको थियो।
सेती नदीमा खसेपछि गुहार मागेका गिरीलाई स्थानीय र सुरक्षा कर्मीले उद्दार गरेका थिए।
पहिरोले नदीमा बगेका उनी घाइते भएका छन्।
करणको शरीरभरि चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।