भैरहवा-लुम्बिनी सडक क्षेत्रमा तस्करीको आशंकामा भन्सार कार्यालयले २१० बोरा चिनी नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको भन्सार गस्तीले नियन्त्रणमा लिएको हो।
भन्सार कार्यालय भैरहवाका प्रमुख नारद गौतमका अनुसार, ट्रक नम्बर लु २ ख २८३६ मा अवैध रूपमा भैरहवा तर्फ ल्याइँदै गरेको चिनीलाई चालकसहित नियन्त्रणमा लिइएको हो।
‘विशेष सूचनाको आधारमा गस्ती खटाइएको थियो। सुरूमा चामल भनियो, तर जाँच गर्दा चिनी भेटिएपछि नियन्त्रणमा लिइयो र प्रहरीको जिम्मा लगाइयो। यसले चोरी पैठारी गर्नेहरूलाई निरूत्साहित गर्नेछ,’ भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतमले भने।
प्रारम्भीक अनुसन्धानका क्रममा चालक शिवकुमार यादवले उक्त चिनी मायादेवी गाउँपालिका-२ स्थित भुलतीपुरबाट लोड गरिएको र भैरहवा पुर्याउन लागिएको बयान दिएका छन्। गस्तीले चिनी बरामद गर्दै ट्रकलाई पनि नियन्त्रणमा लिएको छ।
यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो। यसअघि पनि भैरहवा-लुम्बिनी सडक क्षेत्रको विभिन्न स्थानमा तस्करीका गतिविधिहरू भइरहँदा भन्सार गस्तीले नियन्त्रणमा लिँदै आएको बताइएको छ। भन्सार कार्यालयका प्रमुख गौतमले, यस क्षेत्रबाट निरन्तर चोरी पैठारी हुने गरेको बताए।
पक्राउ गरिएको चिनीको मूल्य प्रति किलो ६० रुपैयाँका दरले (भ्याट बाहेक) करिब ६ लाख ३० हजार रूपैयाँ बराबरको रहेको बताइएको छ। साथै, नियन्त्रणमा लिइएको ट्रकको मूल्य १० लाख कायम गरिएको छ। समग्रमा बरामद भएको चिनी र ट्रकको मूल्य १६ लाख ३० हजार रुपैयाँ बराबर रहेको भन्सार कार्यालयले जनाएको छ।
चोरी पैठारी र तस्करीका गतिविधिहरूलाई निरूत्साहित गर्न भन्सार कार्यालयले निगरानी पार्ने प्रतिबद्धता जनाएको छ। यसअघि पनि सोही क्षेत्रबाट अवैध चिनी ल्याउने प्रयास गरिएको भन्सार कार्यालयले जनाएको छ।