बर्दियाको ठाकुर बाबा नगरपालिकाको अम्रेनी क्षेत्रबाट बिहीबार बिहान एउटा बाघको बच्चालाई उद्धार गरिएको छ।
मानव बस्तीमा पसेर स्थानीयका बाख्रा खोरमा पसेर बाख्रा मारेर खाँदै गरेको देखेपछि स्थानीयले मध्यराति बर्दिया निकुञ्ज प्रशासनलाई खबर गरेका थिए।
निकुञ्जका सूचना अधिकारी शान्त मगरका अनुसार बाख्राको खोरमा पसेर बाघले चार पाँच वटा बाख्रा मारेको भन्दै स्थानीयले राति एक बजेतिर आत्तिँदै खबर गरेका थिए।
बस्तीमा पसेको बाघको उद्धारको लागि निकुञ्जले योजना बनाएर गएको र बिहान नौ बजेपछि डार्ट गरी झन्डै दुई साढे दुई वर्ष जतिको पोथी बाघको बच्चालाई उद्धार गरिएको सूचना अधिकारी मगरले सेतोपाटीलाई बताए।
‘सूचना पाउनसाथ प्राविधिक टोलीसहित हामी फिल्डमा खटिएका थियौं,’ उनले भने, ‘हामीलाई डर थियो कि स्थानीयले त्यो बाघ मारिदिने हुन् कि भनेर, तर त्यस्तो हुन पाएन र हामीले बाघको उद्धार गरी ल्याउन सफल भयौं।’
मगरका अनुसार पाटे बाघको त्यो बच्चा भोको भएपछि पेट भर्नका लागि स्थानीयले पालेका बाख्राको खोरमै पसेर केही बाख्राहरू मारेको देखिएको छ।
डार्ट गरी नियन्त्रणमा लिइएको बाघको बच्चालाई अहिले पशु चिकित्सकले रेखदेख र चेकजाँच गरिरहेको उनले बताए।
नियन्त्रणमा लिइएको त्यो बाघको बच्चाको बारेमा थप केही निर्णय भइनसकेको र त्यसबारे सल्लाह हुने उनले जानकारी दिए।
बच्चा भएको हुँदा ऊ धेरै टाढा नगएको हुँदा समयमै नियन्त्रणमा लिन र उद्धार गर्न सम्भव भएको उनले बताए।
‘समयमै नियन्त्रणमा लिन सकेको हुँदा थप क्षति हुनबाट जोगिएको छ,’ उनले भने ‘ बस्तीमै छँदा एकातर्फ मानवीय क्षति हुन सक्थ्यो भने अर्कोतर्फ बाघ नै मारिने खतरा पनि उत्तिकै थियो।’
नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको हात्तीसहितको संयुक्त टोलीले त्यो पाटे बाघको बच्चा नियन्त्रण लिइएको थियो।