दाङको तुलसीपुरमा टिपरका सहचालकको करेन्ट लागेर मृत्यु भएको छ।
सल्यानको कपुरकोट गाउँपालिका–१ का २१ वर्षीय सबिन घर्तीको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरले सेतोपाटीलाई बताए।
रा १ ख १५६६ नम्बरका टिपरका सहचालक घर्तीलाई बिहीबार दिउँसो ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका–१२ ग्वारखोलाको पुल नजिकैको क्रसर उद्योगमा बालुवा लिन गएको समयमा टिपरकोमाथि त्रिपाल हेर्न भनेर उनी टिपरको माथि चढेको समयमा करेन्ट लाग्न पुगेको थियो।
सहचालक घर्ती टिपरको अगाडिको भागमा चढेर त्रिपाल छ कि छैन भनेर हेर्ने क्रममा चालकले गाडी चलाइरहेका थिए। त्यही क्रममा आवश्यक सावधानी अपनाउन नसक्दा क्रसर उद्योगमा लागेको विद्युत तारलाई छुन पुग्दा उनी करेन्ट लागेर जमिनमा लडेका थिए।
टिपर चालकले सहचालक घर्ती भुइँमा लडेपछि मात्रै घटनाबारे थाहा पाएका बताएका छन्।
करेन्टको झड्काले लडेर भुइँमै लडेका सहचालक घर्तीलाई गम्भीर अवस्थामा उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
चेकजाचको क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
शव पोष्टमर्टनका लागि अस्पतालको शव गृहमा राखिएको छ।
चालकलाई प्रहरीले नियन्त्रण्मा लिएको छ।