रूपन्देहीको सियारीमा एक महिलाको हत्या भएको छ।
दाङको लमही नगरपालिका वडा नं. ७ की अन्दाजी ४५ वर्षीया संगिता चौधरी सियारी गाउँपालिका वडा नं. २ भगदरीस्थित बेथरी सडकखण्डको किनारमा हत्या भएको अवस्थामा फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको अवस्थामा संगिताको शव फेला परेको जानकारी दिए।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार बुटवल उपमहानगरपालिका वडा नं. ११ कालिकापथमा साथीहरूसँग बस्दै आएकी चौधरीले ज्याला मजदुरी गर्दै आएकी थिइन्।
बुधबार साँझ पनि काम सकेर मिलनचोक जान्छु भन्दै हिँडेकी संगिता त्यसपछि सम्पर्कविहीन रहेकोमा बिहीबार दिउँसो १२ बजे मृत फेला परेको प्रहरीले जनाएको छ।
टाउको र अनुहारमा ढुंगा प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। अनुहार नचिने गरी मुखमा ढुंगाले प्रहार गरिएको चोट रहेको कार्कीले बताए।
चौधरीको अन्यत्रै हत्या गरी त्यहाँ लगेर शव फालिएको हुन सक्ने आंकलन गरेको छ।
संगिताको शव सडक किनारमा परालले ढाकेको अवस्थामा फेला परेको थियो।
प्रहरीले अहिले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरू गरेको जनाएको छ।