नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभापतिमा उर्मिला खड्का भण्डारी निर्वाचित भएकी छिन्।
उनका निकटमत प्रतिद्वन्द्वी कृष्ण तिमिल्सिनाले १२६ मत पाउँदा उर्मिलाले १२७ मत पाएर निर्वाचित भएकी हुन्।
शुक्रबार सुरू भएको जिल्ला शाखाको अधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्न सहमति नजुटेपछि शनिबार निर्वाचन भएको थियो।
निर्वाचनको मतपरिणाम आइतबार बिहान घोषणा गरिएको हो।
उर्मिला कास्की रेडक्रसको इतिहासमै पहिलो पटक महिला सभापति निर्वाचित भएकी हुन्।
यसअघि १५ जना रेडक्रस जिल्ला शाखाका सभापति भइसक्दासमेत एक जना पनि सभापतिमा महिला निर्वाचित भएका थिएनन्।
कास्कीमा रेडक्रसको ४८ वटा उपशाखामार्फत २६४ जना सभासद चुनिएका थिए। जसमा २५४ जनाले मतदान गरेका थिए भने २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
२०५४ सालमा रेडक्रसको पोखरा–१७ उपशाखा सदस्य बनेकी उर्मिला सोही शाखाको ५ कार्यकाल कोषाध्यक्ष बनेकी थिइन्। त्यसपछि जिल्ला शाखाको सदस्य, उपमन्त्री हुँदै यसअघि महिला उपसभापति बनेकी थिइन्।
उनका निकटतम प्रतिश्पर्धी तिमिल्सिना पनि यसअघि रेडक्रस कास्कीका उपसभापति थिए। उनी राष्ट्रिय खेलकुद परिषदका अधिकृत तहमा कार्यरत छन्।
अधिवेशनबाट महिला उपसभापतिमा रमा न्यौपाने कोइराला, खुला उपभासपतिमा सुरेन्द्र गुरुङ, मन्त्रीमा सन्तोष अधिकारी, कोषाध्यक्षमा मोहनसिंह खड्का र उपमन्त्रीमा डिल्लीराम बराल र उपकोषाध्यक्षमा कालीदास सापकोटा निर्वाचित भएका छन्।
अधिवेसनले १७ सदस्यीय जिल्ला शाखा समिति चयन गरेको छ।
रेडक्रस कास्कीको अधिवेशनमा बनेका दुइटा प्यानलमा सत्तारूढ एमाले र कांग्रेसवीच गठबन्धन बनेको थियो।
सभापति निर्वाचित उर्मिलाको प्यानललाई एमालेका उपमहासचिव एवं हालका संचारमन्त्री पृथ्वीसुब्बा गुरुङ पक्षले समर्थन दिएको थियो। उक्त प्यानलमा कांग्रेसका जिल्ला सचिव भानु ढकाल पक्षले गठबन्धन गरी समर्थन दिएको थियो।
उर्मिलाका निटकतम प्रतिस्पर्धी तिमिल्सिना प्यानललाई एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षले समर्थन दिएको थियो। उक्त प्यानललाई कांग्रेस जिल्ला सभापति किशोरदत्त बरालले पनि समर्थन दिएका थिए।
एमाले नेताद्वय गुरूङ र अधिकारी प्यानलमै मिसिएर गठबन्धन गरे पनि कांग्रेसबाट उम्मेदबार बनेका कोही पनि निर्वाचित भएनन्।
दुवै प्यानलमा कांग्रेसले पदाधिकारीसहित सदस्यमा उम्मेदवारी दिएका थिए।
जिल्ला शाखाको कार्यसमितिमा महिला उपसभापति रमा र मन्त्री सन्तोष अधिकारी भने खगराज प्यानलबाट निर्वाचित भएका छन्।
‘रेडक्रसमा एमाले र कांग्रेसवीच गठबन्धन गरेर दुइटा प्यानल बन्यो, निर्वाचनमा दुबै प्यानलमा भएका कांग्रेस उम्मेदवार कसैले पनि जित्नुभएन,’ एक पदाधिकारीले भने।
खुला उपभासपति निर्वाचित सुरेन्द्र गुरूङले सर्वसहमति साथ जिल्ला शाखा समिति गठन गर्न नेताहरुले आनाकानी गरेको दाबी गरे। पार्टीको कार्यसमिति र बहालवाला सरकारी कर्मचारीलाई समितिमा नल्याउँ भन्दा नमानेकाले निर्वाचनको अवस्थामा पुगेको उनले बताए।
‘हामीले पार्टी नेताहरुसँग छलफल गरौं, पार्टीको कार्यकारी समितिमा भएका व्यक्ति र सरकारी कर्मचारीलाई रेडक्रसमा नल्याउँ भन्दा मान्नु भएन,’ उनले भने, ‘दुइटा प्यानल टसमस नभएपछि निर्वाचनको अवस्था आयो।’
उपसभापति गुरूङ एमाले उपमहासचिव पृथ्वीसुब्बा प्यानलबाट एमालेको कास्की जिल्ला अधिवेसनमा सचिव पदमा पराजित भएका थिए। उर्मिला यसअघि नै उपसभापति भइसकेको, पार्टीको कार्यकारी समितिमा नरहेको र सरकारी कर्मचारी पनि नभएकाले प्रतिनिधीले उनलाई नै सभापतिमा निर्वाचित गरेको उनले बताए।