वीरगन्जमा शनिबार भएको दुईपक्षीय झडप र त्यसपछिको विवाद समाधानका लागि सर्वपक्षीय बैठक बसेको छ।
जिल्ला प्रशासन कार्यालयले दुवै पक्षका प्रतिनिधी, राजनीतिक दलका स्थानीय प्रतिनिधि लगायतका सरोकारवालाहरूलाई राखेको बोलाएर छलफल गरेको हो।
छलफलमा प्रमुख जिल्ला अधिकारी पनि सहभागी छन्। अहिले शान्तिपूर्ण रूपमै बैठक भइरहेको पर्साका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए।
उनका अनुसार बैठक सुरू हुनुभन्दा अगाडि सामान्य विवाद हुँदा परिस्थिति तनावपूर्ण बनेको थियो।
'अहिले परिस्थिती सामान्य बनेर बैठक चलिरहेको छ,' उनले भने।
शनिबार हनुमान जयन्तीका अवसरमा वीरगन्जमा शोभा यात्रा गरिएको थियो। यात्रामा झन्डै १५ हजार मानिसहरू सहभागी थिए।
शोभा यात्रा वीरगन्ज महानगर-२ स्थित जामा मस्जिदमा पुगेपछि भड्किएको थियो। उनीहरूले आफूहरूमाथि मस्जिदबाट ढुंगा प्रहार भएको बताएका थिए।
त्यसपछि दुवै पक्षबीच ढुंगा हानाहान हुँदा स्थिती तनावपूर्ण बनेको थियो। प्रहरीले झन्डै डेढ सय सेल अश्रुग्यास र दुई राउन्ड हवाइ फायर गरेको थियो।
परिस्थिती असामान्य बनेपछि स्थानीय प्रशासनले शनिबार बेलुकीदेखि आइतबार मध्याह्नसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको थियो।
मध्याह्नपछि पुनः कर्फ्यूको समय बढाएर आइतबार राति १२ बजेसम्म कायम गरिएको छ।