भक्तपुर जिल्ला प्रशासन कार्यालयले बिस्का जात्रामा राजनीतिक नाराबाजी नगर्न भन्दै सूचना जारी गरेको छ।
आइतबार ‘बिस्का जात्रा सम्बन्धी सूचना’ जारी गर्दै प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले धार्मिक तथा सांस्कृतिक जात्रामा राजनीतिक नाराबाजी नगर्न आदेश जारी गरेका हुन्।
‘विशुद्ध धार्मिक/सांस्कृतिक प्रकृतिको जात्रामा कुनै पनि राजनैतिक उद्देश्यले अभिप्रेरित भई नाराबाजी गर्नु, कसैप्रति लक्षित गरी राजनैतिक प्रकृतिका गाली गलौज गर्नु बिस्का जात्राको वैभवपूर्ण परम्परा र मर्यादाको प्रतिकूल विषय भएकोतर्फ सजग रहदै कुनै व्यक्तिले कानून विपरीत र सम्पदाको मर्यादा विपरीतका त्यस्ता कार्य गरेको पाइएमा सम्बन्धित निकायबाट कानून बमोजिमको प्रक्रिया अगाडि बढाउने जानकारी सहित जात्रामा सहभागी भई सभ्य र भव्य रुपमा जात्रा सफल पार्न जिल्ला प्रशासन कार्यालय सबैमा हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ।
भक्तपुरमा चैत २८ गतेदेखि वैशाख ५ गतेसम्म बिस्का जात्रा चलिरहेको छ।
